काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ। सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले जनअपेक्षाअनुसार काम हुन नसके पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो।
पार्टीको भावी कार्यदिशाबारे प्रष्ट पार्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको बीचमा रहेर उनीहरूको समस्या, आवश्यकता र सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभयो। उहाँले नयाँ राजनीतिक विकल्पको खोजीमा रहेका नागरिकका लागि उज्यालो नेपाल पार्टी नै भरोसायोग्य विकल्प बन्ने दाबी गर्नुभयो।
आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी संगठन विस्तार अभियान सञ्चालन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो। प्रत्येक वडा, गाउँपालिका र प्रदेश तहसम्म संगठन विस्तार गर्दै पार्टीको आधार मजबुत बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ।
अध्यक्ष घिसिङका अनुसार ‘उज्यालो अभियान’ नामक विशेष कार्यक्रममार्फत देशभर पार्टीका गतिविधि विस्तार गरिनेछ। संगठनलाई तल्लो तहदेखि सुदृढ बनाउँदै आगामी निर्वाचनमार्फत जनमत हासिल गर्ने र सरकार निर्माणसम्म पुग्ने रणनीति पार्टीले लिएको उहाँले उल्लेख गर्नुभयो।
युवा वर्गलाई केन्द्रमा राखेर रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा लगानी विस्तारका कार्यक्रम ल्याउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो। युवालाई अर्थतन्त्र र उत्पादनशील क्षेत्रमा सक्रिय रूपमा सहभागी गराउन ठोस कार्ययोजना निर्माण भइरहेको उहाँको भनाइ थियो।
घिसिङले मुलुकको आर्थिक विकास, सामाजिक रूपान्तरण र जनहितका कार्यका लागि सत्तामा पुग्नु मात्रै एकमात्र विकल्प नभएको धारणा व्यक्त गर्नुभयो। सरकार बाहिर रहेर पनि रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्र सुधार, सामाजिक परिवर्तन र विकासका विभिन्न क्षेत्रमा योगदान दिन सकिने उहाँले बताउनुभयो।
जनतामा बढ्दो निराशा अन्त्य गर्दै आशा र विश्वासको वातावरण निर्माण गर्न उज्यालो नेपाल पार्टी सक्रिय रूपमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले पार्टीका नीति, कार्यक्रम र योजनामार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम