काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति संगठनको दीर्घकालीन हितविपरीत हुने बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत पार्टीका नेता–कार्यकर्ता तथा सदस्यहरूलाई सम्बोधन गर्दै उहाँले पार्टी स्थापनाको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताको विषय भएको उल्लेख गर्नुभएको छ। उहाँले यस्ता सोच र व्यवहारलाई समयमै सच्याउन आवश्यक रहेको बताउनुभयो।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत वडा तथा पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै उहाँले जिल्ला अधिवेशनहरू पनि लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अवसर भएको बताउनुभयो। अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि, पद्धति, अभ्यास तथा स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको उहाँको भनाइ छ।
सभापति लामिछानेले पार्टीको सर्वोपरि हितका लागि प्रत्येक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको बताउनुभयो। संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिमार्फत नेतृत्व चयन गरिनु नै पार्टीको मूल संस्कार भएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले पार्टीलाई उन्नत लोकतान्त्रिक शक्तिका रूपमा विकास गर्ने लक्ष्य लिइएको भन्दै विचारसँगै शैली, व्यवहार र राजनीतिक संस्कारसमेत उन्नत हुनुपर्नेमा जोड दिनुभयो। पुरानै सोच, शैली र प्रवृत्तिलाई निरन्तरता दिएर नयाँ र जनमैत्री राजनीतिक शक्ति बन्न नसकिने उहाँको भनाइ छ।
स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मापदण्ड मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उहाँले बताउनुभयो। चार वर्षको छोटो अवधिमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताजनक रहेको भन्दै उहाँले त्यसलाई समयमै सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने उद्देश्यले नेतृत्वका लागि अनावश्यक प्रतिस्पर्धा गर्ने प्रवृत्ति पनि देखिएको उल्लेख गर्दै उहाँले अधिवेशनको लोकतान्त्रिक प्रक्रियामार्फत यस्ता प्रवृत्तिलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभयो।
सभापति लामिछानेले रास्वपाको वर्तमान अवस्था कुनै एक वा केही व्यक्तिको योगदानबाट नभई मतदाताको विवेक र सम्पूर्ण सदस्यहरूको समर्पणबाट सम्भव भएको बताउनुभयो। पुराना सदस्यहरूले निर्माण गरेको आधारमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीलाई यहाँसम्म ल्याएको उहाँको भनाइ छ।
उहाँले अब पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्ति बन्नु रहेको बताउनुभयो। त्यसका लागि संगठनलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै संगठन विस्तारलाई संकीर्ण दृष्टिकोणले हेर्न नहुने धारणा व्यक्त गर्नुभयो।
युगले दिएको जिम्मेवारी पूरा गर्न, जनमतलाई अझ विस्तार गर्न तथा राजनीतिलाई सुसंस्कृत, पारदर्शी र जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो। ‘म’ केन्द्रित सोचबाट ‘हामी’ केन्द्रित संस्कारतर्फ रूपान्तरण हुनुपर्ने समय आएको उहाँले उल्लेख गर्नुभयो।
सभापति लामिछानेले रास्वपाको पहिलो महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत तथा सन्देशमूलक बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि