नेपाल चलचित्र कलाकार संघको हालै सम्पन्न निर्वाचनबाट म सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ पवन केसी । संघको हालै सम्पन्न निर्वाचनबाट उहाँ सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको हो । उपत्यकाको लतिपुरको टीकाथलीमा जन्मिनुभएको उहाँ नेपाली कला क्षेत्रमा आफ्न क्रियशनमार्फत दर्शकको माया जित्न सफल हुनुहुन्छ । कला क्षेत्रका अभिनय, निर्देशन र सम्पादन जस्ता तीनै क्षेत्रमा सक्रिय उहाँ बालकलाकारका रूपमा यो क्षेत्रमा प्रवेश गर्नुभएको हो । उहाँले हालै शिव स्तोत्रमा आधारित भजन पनि गाउनुभएको छु । चलचित्र तथा अन्य सिर्जनात्मक काममा सक्रिय रहेको बताउनुहुने पवन केसीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं–
हालसालै नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा सहकोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । अहिलेको जिम्मेवारीलाई कसरी हेर्नुभएको छ ?
नेपाल चलचित्र कलाकार संघको हालै सम्पन्न निर्वाचनबाट म सहकोषाध्यक्षमा निर्वाचित भएको छु । यो मेरो लागि निकै महत्त्वपूर्ण जिम्मेवारी हो । संघको नेतृत्वमा अध्यक्ष उत्तम केसीज्यू हुनुहुन्छ र उहाँको नेतृत्वमा संस्था राम्रो ढंगले अघि बढ्नेछ भन्ने विश्वास लिएको छु । कलाकारहरूको हकहित, सामाजिक सुरक्षा तथा उहाँहरूका समस्या समाधानका लागि संघले निरन्तर काम गर्नेछ भन्ने विश्वास छ । म पनि आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै कलाकारहरूको हितमा योगदान गर्ने योजनामा छु । कलाकार संघ भनेको कलाकारहरूको साझा घर हो । त्यसैले संस्थालाई अझ प्रभावकारी बनाउने प्रयासमा म सक्रिय रहनेछु ।
म चलचित्र तथा अन्य सिर्जनात्मक काममा सक्रिय नै छु । राम्रो भूमिका र अर्थपूर्ण परियोजनाको खोजीमा छु । अभिनय, निर्देशन, सम्पादन र सामाजिक कार्यलाई सँगसँगै अगाडि बढाइरहेको छु । कलाकारिताको यात्राले मलाई धेरै कुरा सिकाएको छ । आफ्नो अनुभवलाई नयाँ पुस्तासँग बाँड्ने र समाजप्रति अझ बढी उत्तरदायी भएर काम गर्ने सोच छ ।
यहाँको कलाकारिता क्षेत्रमा प्रवेश कसरी भयो ?
मेरो कलाकारिता यात्रा निकै सानै उमेरबाट सुरु भएको हो । म रेडियो नाटकबाट कला क्षेत्रमा प्रवेश गरेको हुँ । २०४६ सालमा रेडियो नेपालमा भ्वाइस टेष्ट दिएर यो क्षेत्रमा प्रवेश गरेको थिए । त्यतिबेला मेरो उमेर केवल १४ वर्ष थियो । बालकलाकारका रूपमा मैले आफ्नो कला यात्राको सुरुवात गरेको हुँ । सानैदेखि अभिनयप्रति रुचि थियो र त्यो रुचिलाई व्यवहारमा उतार्ने अवसर रेडियो नेपालले दियो । रेडियो नाटकबाट सिकेको अनुशासन, उच्चारण र अभिनय कलाले पछि टेलिभिजन र चलचित्र क्षेत्रमा काम गर्न ठूलो सहयोग पुर्यायो ।
प्रारम्भिक चरणमा कस्ता-कस्ता काम गर्नुभयो ?
कलाकारिताको क्षेत्रमा सुरुवाती दिन संघर्षपूर्ण थिए । अभिनयसँगै मैले सहायकका रूपमा धेरै काम गरेँ । करिब ३५ वटा जति टेलिसिरियलमा सहायक निर्देशकका रूपमा काम गर्ने अवसर पाएँ । यस क्रममा मैले निर्माण, निर्देशन र व्यवस्थापनका धेरै पक्ष सिक्ने मौका पाए । त्यसैगरी करिब १३ वटा भिडियो फिल्ममा पनि काम गरेँ । यी अनुभवले मलाई निर्देशक र कलाकार दुवै रूपमा परिपक्व बनायो ।
निर्देशन यात्राको सुरुवात कसरी भयो ?
निर्देशन क्षेत्रमा मेरो प्रवेश कोटेश्वरका साथी सुशील पोखरेलज्यूको माध्यमबाट भएको हो । उहाँकै प्रेरणामा मैले ‘माष्टरजीको सपना’ नामक टेलिसिरियल निर्देशन गर्ने अवसर पाए । यो सिरियल नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । मेरो निर्देशन यात्राको यो पहिलो महत्त्वपूर्ण परियोजना थियो । विशेष कुरा के भने यही सिरियलमार्फत अभिनेत्री मुना कार्कीले डेब्यु गर्नुभएको थियो । त्यसपछि उहाँले नेपाली चलचित्र क्षेत्रमा सफल यात्रा तय गर्नुभयो । नयाँ प्रतिभालाई अवसर दिन पाउनु आफैंमा ठूलो उपलब्धि हो भन्ने लाग्छ ।
त्यसपछि निर्देशन क्षेत्रमा कस्ता काम गर्नुभयो ?
‘माष्टरजीको सपना’पछि मैले धेरै टेलिसिरियल तथा विज्ञापन निर्देशन गर्ने अवसर पाए । ‘जीवन चक्र’, ‘शान्ति’लगायतका विभिन्न सिरियलमा काम गरेँ । वातावरण मन्त्रालय, संयुक्त राष्ट्रसंघ (यूएन) तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासँग मिलेर धेरै परियोजनामा काम गरेको छु । सामाजिक सन्देश दिने कार्यक्रम, जनचेतनामूलक सामग्री तथा विकाससम्बन्धी विषयमा आधारित कार्यक्रम निर्माणमा मेरो सक्रिय सहभागिता रह्यो ।
चलचित्र निर्देशनको अनुभव कस्तो रह्यो ?
मैले दुईवटा चलचित्र निर्देशन गरेको छु । पहिलो चलचित्र ‘मुर्ख मान्छे’ हो, जुन बाबु बलामीज्यूको परियोजना थियो । यो चलचित्रले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो । दोस्रो चलचित्र ‘डार्क दिस विकेन’ हो । यो चलचित्र भूकम्पपछिको सन्दर्भमा निर्माण गरिएको थियो । चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाएको थियो । यसलाई चलचित्र विकास बोर्डले विशेष चलचित्रका रूपमा समेत छनोट गरेको थियो । यस्ता उपलब्धिले अझ राम्रो काम गर्ने ऊर्जा प्रदान गर्यो ।
अभिनय, निर्देशन र सम्पादनमध्ये कुन क्षेत्र बढी नजिक लाग्छ ?
मेरो लागि यी तीनै क्षेत्र प्रिय छन् । अभिनयबाट यात्रा सुरु भयो, निर्देशनले पहिचान दियो र सम्पादनले सिर्जनात्मक दृष्टि विस्तार गर्यो । मैले दृश्य सम्पादकका रूपमा धेरै काम गरेको छु । सम्पादन भनेको कथालाई अन्तिम रूप दिने कला हो । दर्शकले पर्दामा जे देख्छन्, त्यसलाई प्रभावकारी बनाउने काम सम्पादनले गर्छ । त्यसैले यो क्षेत्रप्रति मेरो उत्तिकै लगाव छ ।
सार्वजनिक सेवा सन्देश तथा जनचेतनामूलक सामग्रीमा पनि धेरै काम गर्नुभएको छ रे ?
हो, मैले सार्वजनिक सेवा घोषणाहरूमा व्यापक रूपमा काम गरेको छु । अनुमानित १२ हजारदेखि १४ हजारसम्म यस्ता सन्देशमा आवाज तथा अन्य भूमिकामा संलग्न भएको छु । विभिन्न मन्त्रालय, सरकारी निकाय तथा सामाजिक संस्थासँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम निर्माणमा योगदान दिएको छु । यीमध्ये धेरै सामग्री युट्युबमा उपलब्ध छन् भने कतिपय अभिलेखमै सीमित छन् ।
आध्यात्मिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ भन्ने सुनिन्छ ?
पछिल्ला वर्षहरूमा आध्यात्मिक गतिविधिमा पनि सक्रिय छु । आध्यात्मिकता मानिसको आन्तरिक विकाससँग जोडिएको विषय हो । यसले जीवनलाई सकारात्मक दृष्टिकोणबाट हेर्न सिकाउँछ । हालै मैले शिव स्तोत्रमा आधारित भजन गाएको छु । संगीत र आध्यात्मिकताको संयोजनले मनलाई शान्ति दिन्छ । कलाकारका लागि आध्यात्मिक चेतना पनि महत्त्वपूर्ण पक्ष हो भन्ने लाग्छ ।
परिवारबाट कस्तो सहयोग प्राप्त भयो ?
मेरो जन्म ललितपुरको टीकाथलीमा भएको हो । मेरो बुबा शिक्षण पेशामा हुनुहुन्थ्यो । उहाँ प्राध्यापक हुनुहुन्थ्यो । सुरुसुरुमा त कला क्षेत्र उहाँहरूको रुचिको विषय थिएन । तर घरको वातावरण शिक्षित र सकारात्मक थियो । आमा–बुबाले मेरो रुचि र क्षमतालाई बुझ्नुभयो । कलाकारिता क्षेत्रमा लाग्न प्रेरणा दिनुभयो । उहाँहरूको साथ र विश्वासकै कारण यो क्षेत्रमा टिक्न र अघि बढ्न सफल भए । परिवारको सहयोगबिना कुनै क्षेत्रमा सफल हुन गाह्रो हुन्छ ।
अहिलेको नेपाली चलचित्र क्षेत्रलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
नेपाली चलचित्र क्षेत्र विस्तारै व्यावसायिक बन्दै गएको छ । नयाँ पुस्ताका कलाकार, निर्देशक र प्राविधिकहरू आउनुभएको छ । प्रविधिको प्रयोग बढेको छ । तर, अझै कलाकारहरूको सामाजिक सुरक्षा, श्रमको उचित मूल्यांकन र व्यावसायिक वातावरणका केही चुनौती छन् । यी विषयमा सम्बन्धित निकाय र संघ-संस्थाले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता छ ।
नेपाल चलचित्र कलाकार संघमार्फत के-कस्ता योजना छन् ?
म अहिले कलाकार संघमा बसेर कलाकारहरूको हकहितका लागि काम गर्ने सोचमा छु । धेरै कलाकार आर्थिक, सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्यामा हुनुहुन्छ । उनीहरूका लागि राहत, सहयोग तथा सुरक्षाको वातावरण निर्माण गर्न आवश्यक छ । कलाकारहरूको क्षमता अभिवृद्धि, सीप विकास तथा पेशागत सम्मानका लागि संघले काम गर्नुपर्छ । मेरो प्राथमिकता कलाकारहरूको हित र संस्थागत विकासमा रहनेछ ।
अहिले व्यक्तिगत रूपमा के-कस्ता काममा व्यस्त हुनुहुन्छ ?
अहिले म चलचित्र तथा अन्य सिर्जनात्मक काममा सक्रिय छु । राम्रो भूमिका र अर्थपूर्ण परियोजनाको खोजीमा छु । अभिनय, निर्देशन, सम्पादन र सामाजिक कार्यलाई सँगसँगै अगाडि बढाइरहेको छु । कलाकारिताको यात्राले मलाई धेरै कुरा सिकाएको छ । त्यसैले अब प्राप्त अनुभवलाई नयाँ पुस्तासँग बाँड्ने र समाजप्रति अझ बढी उत्तरदायी भएर काम गर्ने सोच छ ।
अन्त्यमा ?
सबै दर्शक, शुभेच्छुक र पाठकप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । उहाँहरूको माया, साथ र विश्वासकै कारण आज म यो स्थानमा पुगेको छु । नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रलाई माया गरिदिनुहोस् । कलाकारहरूलाई प्रोत्साहन गरिदिनुहोस् । आगामी दिनमा अझ राम्रो सिर्जना र सामाजिक कार्यमार्फत दर्शकमाझ उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछु ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि