काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको नेतृत्वमा देशव्यापी ‘एक बालबालिका, एक बिरुवा’ अभियान सम्पन्न भएको छ । आयोजकका अनुसार अभियानअन्तर्गत करिब ८० हजार बालबालिकाले सक्रिय सहभागिता जनाउँदै वृक्षारोपण गरेका छन् । स्थानीय सरकार, विद्यालय तथा सामुदायिक सरोकारवालाको सहकार्यमा सञ्चालित अभियान नेपालका १७ जिल्लाका ४६ स्थानीय तहमा कार्यान्वयन गरिएको थियो । उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौं, ललितपुर, लमजुङ, जुम्ला, कैलाली, कञ्चनपुर, अछाम, डोटी, दैलेख, जाजरकोट, बाँके र बझाङलगायतका क्षेत्रमा विद्यालय, समुदाय तथा घरआँगनमा वृक्षारोपण गरिएको हो ।
अभियानअन्तर्गत आँप, लिची, अम्बा र सुन्तलाजस्ता फलफूलका बिरुवासहित स्थानीय हावापानी अनुकूल हजारौं प्रजातिका बिरुवाहरू रोपिएकाले वातावरण संरक्षणसँगै दिगो जीविकोपार्जनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार अभियानको महत्त्वपूर्ण पक्ष समावेशिता पनि रहेको छ । कुल पाँच सय ७३ जना अपांगता भएका बालबालिकाले सक्रिय सहभागिता जनाउँदै जलवायु कार्यमा समान अवसर सुनिश्चित गरिएको जनाएको छ । कार्यक्रम सफल बनाउन २७ साझेदार संस्थाहरू, स्थानीय तह, सामुदायिक वन समूह तथा परिवारहरूको समन्वय रहेको थियो । साथै, रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न प्रांगारिक मल प्रयोग र नियमित अनुगमनलाई प्राथमिकता दिइएको छ ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्राविधिक कार्यक्रम (उत्थानशीलता तथा जीविकोपार्जन) सह-निर्देशक प्रकाश तिवारीले भन्नुभयो, ‘वातावरणीय ह्रास र जलवायु परिवर्तनका चुनौती समाधान गर्न बालबालिकाको सहभागिता अत्यन्त महत्त्वपूर्ण छ । यस अभियानले उनीहरूमा जिम्मेवारी र नेतृत्व विकास गरेको छ ।’ एकदरा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले उक्त पहलले हरित समुदाय निर्माणसँगै भविष्यमा खाद्य सुरक्षा र पोषणमा टेवा पुर्याउने बताउनुभएको थियो । कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक रोजलिन हन्सन ग्याब्रिएलले भन्नुभयो, ‘यो पहल सामूहिक सहकार्य र एकीकृत योजनाको उत्कृष्ट उदाहरण हो । बालबालिकाले हरित भविष्य निर्माणमा नेतृत्व लिएको देख्नु प्रेरणादायी छ ।’







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :