पाँचको सङ्ख्यासँग सम्बद्ध भन्ने अर्थमा पञ्चक शब्दको प्रयोग भएको पाइन्छ । ज्योतिषशास्त्र अनुसार धनिष्ठादि पाँच नक्षत्रलाई पञ्चक भनिन्छ । विशेषतः पञ्चकलाई शरुन, भद्वा पनि भन्ने गरिन्छ । घर छाउने, यात्रा, काष्ठ सङ्ग्रहका साथै मृत्युको समयमा पञ्चकको विशेष ख्याल गरिन्छ । यमराजसँग सम्बद्ध समयलाई यमपञ्चक भनिन्छ भने नक्षत्रसँग सम्बद्ध समयलाई धनिष्ठादि पञ्चक भनिन्छ । जो विशेष कर्ममा निषिद्ध वा अशुभ मानिन्छ । यसमा पनि धनिष्ठाको उत्तरार्द्धबाट रेवती नक्षत्रसम्म चन्द्रमा रहेका दिन पञ्चक हुन्छ र प्रेतादि दाहकर्म, दक्षिण दिशाको यात्रा, घर छाउने, काष्ठ सञ्चयन गर्न हुँदैन भनी बताइएको छ :
‘क्षिप्राहिमूलेन्दुहरीशवायुभे प्रेतक्रिया स्याज्झषकुम्भगे विधौ ।
प्रेतस्य दाहं यमदिग्गमं त्यजेच्छैय्यावितानं गृहगोपनादिकम् ।।’ (मुहूर्तचिन्तामणि, २।४८)
क्षिप्रसंज्ञक (हस्त, अश्विनी, पुष्य), अश्लेषा, मूल, मृगशिरा, श्रवण, आर्द्रा, स्वाती यी नौ नक्षत्रमा प्रेतकार्य गर्नु उचित हुन्छ । कुम्भ र मीनमा चन्द्रमा (धनिष्ठाको उत्तरार्द्धबाट रेवतीसम्म चन्द्रमा रहँदा) प्रेतको दाहकर्म, दक्षिण दिशाको यात्रा, पलङ बनाउन, घर छाउँन, काठ सञ्चय गर्न (खलियो लगाउन) निषेध छ । यसैगरी मुहूर्तमार्तण्डमा पनि यही कुरा बताइएको छ :
‘प्रेतज्वालनशय्यकावितनने स्तम्भोच्छ्रयं याम्यदि-
ग्यानं काष्ठतृणोच्चयं परिहरेत्कुम्भद्वयस्थे विधौ ।
सेवेष्टा ध्रुववारुणोन्त्यवसुभैः खाये रवौ वा कुजे
सन्न्यासः स्थिरभे खलेर्गतबलैः षष्ठान्त्यगे भार्गवे ।।’ (मुहूर्तमार्तण्ड, ८।४)
अर्थात् कुम्भ र मीनमा चन्द्रमा भएको समयमा (धनिष्ठाको उत्तरार्द्धदेखि रेवतीनक्षत्रसम्म)मा प्रेत दाहादि कर्म, खाट पलङ बनाउने काम, घरका खाँबा वा थाम गाड्ने कार्य, दक्षिण दिशाको यात्रा, घाँस काठको सङ्ग्रह गर्ने कार्य त्याज्य छन् ।
पञ्चक नपर्दै मृत्यु भएर पञ्चकमा जलाउनुपर्यो भने पुत्तला दाहमात्र गर्दा हुन्छ । पञ्चकमा मृत्यु भएर पञ्चक समाप्त भइसकेपछि दाह गर्दा शान्तिमात्र गर्दा हुन्छ, पुत्तलादाह गर्नुपर्देैन । पञ्चकमा मृत्यु भएर पञ्चकमा नै दाह गर्दा भने पुत्तला दाह र शान्ति दुवै गर्नुपर्दछ ।
यात्रामा पञ्चक वर्जित छ । ‘अपि वामपृष्ठगविधुस्तथाडलो वसुपञ्चकाभिजिदथापि दक्षिणे ।।।’ (मुहूर्तचिन्तामणि, यात्राप्रकरण,१११) बायाँ पछाडिको चन्द्रमा, महाडल (११।२५), दक्षिण दिशाको यात्राका लागि धनिष्ठादि ५ नक्षत्र, अभिजित् मुहूर्त्त (११।५४) यी सबै यात्रामा वर्जित छन् ।
गृहारम्भमा पञ्चक निषिद्ध मानिएको छ :
‘भौमार्करिक्तामाद्यूने चरोनेऽङ्गे विपञ्चके ।
व्याष्टान्त्यस्थेः शुभैर्गेहारम्भस्त्र्ययारिगैः खलैः ।।’ (मुहूर्तचिन्तामणि, वास्तुप्रकरण, १८)
मङ्गल र आइतबार छोडी, रिक्ता तिथि (४।९।१४ तिथि), औँसी, प्रतिपदा (उपलक्षणले अष्टमी पनि ) छोडी, चरलग्न (१।४।७।१०) छोडी, पञ्चक (धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपदा, उत्तराभाद्रपदा र रेवती नक्षत्रमा तृण काष्ठादिको घरका निम्ति) छोडी अन्य समयमा गृहारम्भ शुभ हुन्छ । यसैगरी गृहारम्भकालिक लग्नकुण्डलीको १२औं र ८ औं स्थानबाहेकका अन्य स्थानमा शुभ ग्रह भएको र ३, ११ र ६ भावमा पापग्रह भएको समयमा गृहारम्भ शुभ हुन्छ । यहाँ काठ, फुसले बनाएको, खरले छाउने घरका सन्दर्भमा पञ्चक त्याग्नु भनेको पाइन्छ । कतिपय विद्वान्ले विपञ्चमे भनेर सिंह लग्न पनि त्याग्नुपर्छ भनी उल्लेख गरेका छन् । पीयूषधारा टीकाकारले पनि तृणकाष्ठको घरका निम्ति मात्र पञ्चक त्याज्य मानेको पाइन्छ । शिलान्यास, सूत्राधारका कार्य पञ्चकमा पनि शुभ रहन्छन् । स्तम्भ, थाम आदि राख्ने कार्य भने पञ्चकमा नगर्नु भनी माण्डव्य ऋषिले पीयूषधारमा बताएका छन् :
‘धनिष्ठापञ्चके नैव कुर्यात् स्तम्भसमुच्छ्रयम् ।
सूत्राधारशिलान्यासप्राकारादि समारभेत् ।।’ (माण्डव्य)
पञ्चकमा देहान्त्य भए विशेष विधिपूर्वक दाहादि कार्य गर्नु पर्दछ र शान्ति पनि गर्नुपर्दछ भनिएको छ । यस विषयमा तीत प्रकारका स्थिति हुन सक्दछन् : १) पञ्चक आरम्भ हुनु पहिले मृत्यु भयो र पञ्चकमा दाहसंस्कार गर्नुपर्दा । २) पञ्चकमै मृत्यु र पञ्चकमै दाह । ३. पञ्चकमा मृत्यु र पञ्चक समाप्तिपश्चात् दाहसंस्कार । पहिलो स्थितिमा केवल पञ्चक शान्ति, दोस्रो स्थितिमा नारायणबलि र पञ्चकशान्ति, तेस्रो परिस्थितिमा अपमरणदोष निवृत्तिका लागि नारायणबलि गर्नुपर्दछ । पञ्चकमा कसैको मृत्यु भयो भने कुलमा अशान्ति, अमङ्गल र विघ्नबाधा भई अनिष्ट हुन्छ । यसका लागि शान्ति गर्नुपर्दछ ।
पञ्चक पाँच नक्षत्रले प्रतिनिधित्व गर्ने समय हो । यो समयमा चन्द्रमा कुम्भ र मीन राशिमा रहने भएकाले मृत्यु भए विशेष दाहविधिका साथै शानितकर्म गनुपर्दछ भनिएको छ । यसैगरी तृण काष्ठादि सङ्ग्रहमा, घर छाउने, काठ काट्ने, शैय्या बनाउने, मौरीको मह काढ्ने कार्य यो समयमा शास्त्रले निषेध गरेको छ । यसैगरी पञ्चकको समयमा मृत्यु भएमा विधिपूर्वक पाँच पुत्तलासहित दाह कार्य गर्नुपर्दछ भने शुद्ध शान्तिका दिन पञ्चक शान्ति पनि गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
पञ्चक दाह विधि
पञ्चक नपर्दै मृत्युभएर पञ्चकमा जलाउनुपर्यो भने पुत्तला दाहमात्र गर्दा हुन्छ । पञ्चकमा मृत्यु भएर पञ्चक समाप्त भइसकेपछि दाह गर्दा शान्तिमात्र गर्दा हुन्छ, पुत्तलादाह गर्नुपर्देैन । पञ्चकमा मृत्यु भएर पञ्चकमा नै दाह गर्दा भने पुत्तला दाह र शान्ति दुवै गर्नुपर्दछ । पुत्तला दाह गर्दा कुशका पाँचवटा पुत्तला बनाएर ऊनको धागाले बेरेर जौको पीठो लेपन गरी चन्दनादिले सिँगारेर शवका विभन्न अङ्गमा राख्नुपर्दछ । पुत्तला राख्नु अघि यस्तो सङ्कल्प गर्नुपर्दछ : ‘अद्येह अमुकगोत्रस्य अमुकनामप्रेतस्य धनिष्ठादिपञ्चकान्तर्गतामुकनक्षत्रमरणसूचितारिष्टविनाशनपूर्वकं श्रीपरमेश्वरप्रीत्यर्थं पञ्चकमरणदोषशान्तये पुत्तलादाहविधिं करिष्ये ।’ यो सङ्कल्प गरेर प्रेतलाई चितामा राखेपछि १-प्रेतका शिरमा प्रेतवाह नामक पुत्तला राख्ने २-आँखामा प्रेतसख ३-बायाँ कोखमा प्रेतप ४-नाभिमा प्रेतभूमिप र ५-पाउमा प्रेतहर्ता नामक पुत्तला राखेर नाममन्त्रले पूजा गर्नुपर्दछ । यसपछि ‘यमाय सोमं मधुमत्तयेषां ते नो गावः स्वदन्तु हव्या । दूतं वो देवः स्वदयं मुमेषा ते नो रासंतमुरुमायमद्य यूयं यात स्वस्तिभिः सदा नः ।। त्र्यम्म्बकं यजामहे सुगन्धिम्पुष्टिवर्द्धनम् । उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीयमामृतात् ।।’ यी दुईटा मन्त्रले प्रत्येक पुत्तलामा मन्त्र उच्चारण गरी घृताहुति (घ्यूको धारा) दिएर प्रत्येकमा जलधारा पनि दिनुपर्दछ । त्यसपछि मात्र शवमा दागबत्ती दिनुपर्दछ ।
शुद्धशान्तिका दिन पञ्चक शान्ति विधि
यसपछि शुद्धशान्तिका दिन पञ्चक शान्तिको विधिपूर्वक शान्तिकर्म गर्नुपर्दछ । ‘अद्येह...गोत्रः..प्रवरः शुक्लयजुर्वेदान्तर्गतमाध्यन्दिनीयवाजसनेयशाखाध्यायी सपत्नीकः सापत्यः सकलबन्धुवर्गादिसहितः...नाम शर्माहं...गोत्रस्य अस्मत्पितुः अमुकनामशर्मणः (अस्मन्मातुः ...नामदेव्याः) धनिष्ठादिपञ्चनक्षत्रान्तर्गत... नक्षत्रमरणजन्य-सकलदोषपरिहापूर्वकम् मृतस्य उत्तमगतिप्राप्त्यर्थं जीवितानां सपरिवाराणां कुलबन्धुवर्गाणाञ्च सकलारिष्टशान्तिपूर्कम् आयुरारोग्यसुखसमृद्ध्यर्थञ्च पञ्चमरण-शान्तिकर्म यथाज्ञानं करिष्ये ।’ भन्ने सङ्कल्पको उच्चारण गरिन्छ ।
शुद्धशान्तिका लागि अग्निस्थापना गरी चतुःस्वस्ति पुर्याएपछि त्यसै यज्ञको दियो कलश र गणेशलाई, ब्रह्मा, विष्णु, प्रजापति र अग्निदेवता आदि यज्ञाङ्ग देवतालाई समेत पूजा गर्नुपर्दछ । यज्ञस्थलको नैर्ऋत्यकलशमा महाविष्णु, ईशानमा अघोररुद्र (महामृत्युञ्जय)को स्थापना गरी त्यसबीचमा माझमा जुन नक्षत्रमा मृत्यु भएको हो त्यसै नक्षत्रका अधिष्ठातृदेवताको स्थापना गर्नुपर्दछ । त्यसका पूर्वमा, दक्षिणमा, पश्चिममा र उत्तरमा अरू नक्षत्रका अधिष्ठातृ देवताहरूको क्रमशः स्थापना गरी पूजा गर्नुपर्दछ । पहिले विष्णुको पुरुषसूक्तले षोडशोपचारले पूजा गरिन्छ । त्यसपछि अघोर रुद्रको ‘ॐअघोरेभ्योऽथ घोरेभ्यो...’ इत्यादि मन्त्रले महामृत्युञ्जयको षोडशोपचारले पूजा गर्नुपर्दछ । यथाशक्ति महामृत्युञ्जय मन्त्र जप गराउनु उपयुक्त हुन्छ । धनिष्ठाका लागि कलश थाप्न माष, शतभिषाका लागि मुगीमाष, पूर्वभाद्रपदाका लागि जौ, उत्तरभाद्रपदाका लागि धान, रेवतीका लागि कागुनु राख्नुपर्दछ ।
यमादि चतुर्दश यमको पनि काला कपडामा अक्षताका चौध पुञ्ज (थुप्रा) मा स्थापना गरेर नाममन्त्रले पूजा गरी हवन गर्नुपर्दछ । चतुर्दश यमको पूजामा ॐ यमाय नमः । ॐ धर्मराजाय नमः । ॐ मृत्यवे नमः । ॐ अन्तकाय नमः । ॐ वैवस्वताय नमः । ॐ कालाय नमः । ॐ सर्वभूतक्षयायनमः । ॐ औदुम्बराय नमः । ॐ दध्नाय नमः । ॐ नीलाय नमः । ॐ परमेष्ठिने नमः । वृकोदराय नमः । ॐ चित्राय नमः । ॐ चित्रगुप्ताय नमः । उच्चारणपूर्वक हुने गर्दछ । यसैगरी हवनको पनि विधान गरिएको छ । त्यसपछि जुन नक्षत्रमा मृत्यु भएको हो त्यस नक्षत्रका अधिष्ठातृ देवतालाई १०८ हवन गर्नुपर्दछ । अरू नक्षत्राधिष्ठातृ देवताहरूलाई २८, २८ आहुति दिनुपर्छ । चतुर्दश यमलाई दश–दशपटक आहुति दिनुपर्छ । यसरी हवन गरिसकेपछि काँसको कचौरामा तेल राखी सुनसमेत राखेर छायाँ हेरेर ब्राह्णलाई दान दिनुपर्दछ भन्ने विधि विधान अन्त्यकर्म पद्धतिमा पाइन्छ ।
पञ्चक पाँच नक्षत्रले प्रतिनिधित्व गर्ने समय हो । यो समयमा चन्द्रमा कुम्भ र मीन राशिमा रहने भएकाले मृत्यु भए विशेष दाहविधिका साथै शानितकर्म गनुपर्दछ भनिएको छ । यसैगरी तृण काष्ठादि सङ्ग्रहमा, घर छाउने, काठ काट्ने, शैय्या बनाउने, मौरीको मह काढ्ने कार्य यो समयमा शास्त्रले निषेध गरेको छ । यसैगरी पञ्चकको समयमा मृत्यु भएमा विधिपूर्वक पाँच पुत्तलासहित दाह कार्य गर्नुपर्दछ भने शुद्ध शान्तिका दिन पञ्चक शान्ति पनि गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि