ओहायो । अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द डेली वायर’ले प्रकाशित गरेको ‘मेडिकेड ठगी’सम्बन्धी खोज समाचारपछि नेपाली-भुटानी समुदायभित्र व्यापक बहस सुरु भएको छ । समाचारमा ओहायोसहित केही राज्यमा सञ्चालित होम केयर व्यवसायमार्फत मेडिकेड प्रणालीको दुरुपयोग भएको आरोप लगाइएको छ । तर, समाचारमा जोडिएको भनिएका व्यक्ति तथा संस्थाहरूले आरोपहरू अस्वीकार गर्दै त्यसलाई तथ्यहीन, भ्रामक तथा समुदायलाई लक्षित गर्ने प्रयासको संज्ञा दिएका छन् ।
यसैबीच, सेन्टरलाइट होम केयरका प्रमुख रोशन अधिकारीले सार्वजनिक विज्ञप्ति जारी गर्दै आफू, आफ्नो परिवार र संस्थामाथि लगाइएका सम्पूर्ण आरोपको खण्डन गर्नुभएको छ । उहाँले समाचारले तथ्यभन्दा अनुमान, पूर्वाग्रह र सनसनीलाई प्राथमिकता दिएको आरोप लगाउनुभएको छ ।
अधिकारीका अनुसार सेन्टरलाइट होम केयरले विगत करिब एक दशकदेखि वृद्ध, असहाय तथा विशेष आवश्यकता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आएको छ । ‘हाम्रो उद्देश्य सधैँ सेवा आवश्यक भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्नु रहेको छ । हामीले सम्बन्धित कानुनी मापदण्ड, नियम तथा आवश्यकताहरूको पूर्ण पालना गर्दै सेवा सञ्चालन गरेका छौँ’, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
समाचारमा आफूलाई कथित घटनाको मुख्य पात्रका रूपमा चित्रण गरिएको उल्लेख गर्दै उहाँले यस्तो प्रस्तुतिकरणले संस्थाको वास्तविक कार्यक्षेत्र र सेवाको प्रकृतिलाई प्रतिबिम्बित नगर्ने दाबी गर्नुभयो । अधिकारीले आफ्नो व्यक्तिगत तस्वीर, सामाजिक सञ्जालका पोष्ट, निजी जेट विमानसँग खिचिएका फोटो तथा सम्पत्तिसम्बन्धी विवरणलाई समाचारमा विशेष रूपमा प्रस्तुत गरिएको प्रति पनि आपत्ति जनाउनुभएको छ ।
उहाँले यस्ता सामग्रीले कुनै गैरकानुनी गतिविधि पुष्टि नगर्ने भन्दै समाचारले पाठकको ध्यान आकर्षित गर्न संवेदनशील कथानक निर्माण गरेको आरोप लगाउनुभयो । ‘सामाजिक सञ्जालका तस्वीर र व्यक्तिगत जीवनशैलीलाई वस्तुगत प्रमाणको रूपमा होइन, सनसनीपूर्ण कथा निर्माणका लागि प्रयोग गरिएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
मेडिकेड प्रणालीको दुरुपयोगसम्बन्धी आरोप अस्वीकार गर्दै अधिकारीले आफ्ना कर्मचारी, नर्स, चालक तथा प्रत्यक्ष सहयोगीहरूले दैनिक रूपमा वास्तविक सेवा प्रदान गरिरहेको बताउनुभएको छ । ‘हामीले असली व्यक्तिहरूलाई असली सेवा दिँदै आएका छौँ । हाम्रो कामलाई नजिकबाट हेर्ने जो कोहीले पनि यो तथ्य पुष्टि गर्नसक्छ’, उहाँले भन्नुभयो । उहाँले संस्थाले विगत १० वर्षमा गरेको कार्यसम्पादनप्रति गर्व व्यक्त गर्दै आवश्यक परे नियामक निकाय वा कानुनी अनुसन्धानका लागि सम्पूर्ण अभिलेख उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।
समुदायलाई नकारात्मक रूपमा चित्रण गरिएको गुनासो
डेली वायरको रिपोर्टमा केही होम केयर व्यवसायहरूले भुटानी-अमेरिकी समुदायलाई केन्द्रमा राखेर मेडिकेड प्रणालीको दुरुपयोग गरेको संकेत गरिएको थियो । तर, अधिकारीले आफ्नो संस्थाका अधिकांश सेवाग्राही विभिन्न जातीय, भाषिक र सांस्कृतिक पृष्ठभूमिका रहेको बताउनुभएको छ । ‘हामी कसैको जातीयता वा राष्ट्रियताको आधारमा होइन, आवश्यकताको आधारमा सेवा प्रदान गर्छौं’, उहाँले भन्नुभयो । उहाँका अनुसार संस्थाले कुनै पनि समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छैन ।
भुटानी-अमेरिकी समुदायको संयुक्त प्रतिवाद
समाचार सार्वजनिक भएपछि भुटानी-अमेरिकी समुदायका विभिन्न अगुवाहरूले पनि आरोपको विरोध गरेका छन् । रेनल्ड्सबर्ग सिटी काउन्सिलका अध्यक्ष भुवन प्याकुरेलले आरोपहरूलाई तथ्यहीन र समुदायविरुद्ध नकारात्मक धारणा निर्माण गर्ने प्रयासको रूपमा व्याख्या गर्नुभयो । ‘यी आरोपहरू केवल झुटा मात्र होइनन्, हाम्रा मानिसहरूविरुद्ध हानिकारक कथा निर्माण गर्न जानीजानी तयार पारिएका देखिन्छन्’, उहाँले भन्नुभयो । त्यस्तै, भुटानी-अमेरिकी नेतृत्व समन्वयक झुमा आचार्यले समुदायको आर्थिक तथा सामाजिक योगदानलाई बेवास्ता गरेर नकारात्मक आरोपलाई मात्र प्राथमिकता दिइएको टिप्पणी गर्नुभयो । ‘हाम्रो समुदाय कर्मठ, संघर्षशील र आत्मनिर्भर छ । हाम्रा सदस्यहरू कामदार, करदाता, उद्यमी, स्वास्थ्यकर्मी, विद्यार्थी, सैनिक तथा विभिन्न तहका नागरिक नेताहरू हुन्’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार भुटानी-अमेरिकी समुदायले ओहायोको अर्थतन्त्रमा वार्षिक करिब ८०० मिलियन अमेरिकी डलर बराबरको आर्थिक प्रभाव सिर्जना गरिरहेको छ । समुदायका अर्का अगुवा डिल्ली अधिकारीले समाचारमा जातीय पूर्वाग्रह झल्किएको आरोप लगाउनुभयो भने कमल धिमालले समाचारमा उल्लेख गरिएका आर्थिक दाबीहरू अस्वीकार गर्नुभयो ।
अनुसन्धान र आरोपबीचको विवाद
डेली वायरका खोज पत्रकार लुक रोजियाकले अमेरिकी संसद्को हाउस ओभरसाइट कमिटीसमक्ष प्रस्तुत गरेको सुनुवाइमा ओहायोसहित केही राज्यका मेडिकेड वेभर होम केयर कार्यक्रमहरूमा व्यापक वित्तीय अनियमितता भएको दाबी गर्नुभएको थियो । सुनुवाइमा केही नेपाली–भुटानी तथा सोमाली मूलका व्यवसायीहरूले करोडौँ डलर बराबरको बिलिङ गरेको उल्लेख गरिएको थियो । यद्यपि, समाचार सार्वजनिक भएलगत्तै सम्बन्धित समुदायका प्रतिनिधिहरूले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
उता, ओहायो राज्यका अनुसन्धान तथा अभियोगपत्रहरूमा मेडिकेड ठगी, पिपिपी राहत कार्यक्रम दुरुपयोग तथा अन्तर्राष्ट्रिय रोमान्स स्क्यामसम्बन्धी घटनामा १४ जना प्रतिवादीमाथि ५० मिलियन डलरभन्दा बढी रकम लक्षित गरेको आरोप लगाइएको उल्लेख छ । मेडिकेड प्रणालीमा सम्भावित अनियमितताबारे उठेको यो विवादले अमेरिकामा सार्वजनिक कोषको उपयोग, निगरानी र उत्तरदायित्वबारे राष्ट्रिय बहस सिर्जना गरेको छ ।
एकातिर समाचारमा उल्लेखित व्यक्ति तथा संस्थाहरूले सबै आरोपलाई ‘झुटा, मानहानिकारक र तथ्यहीन’ बताउँदै कानुनी विकल्पको समीक्षा गरिरहेको बताएका छन् भने अर्कोतर्फ सार्वजनिक स्रोतको प्रयोगबारे कडा निगरानी आवश्यक रहेको तर्क पनि उठिरहेको छ । यस विवादको वास्तविक निष्कर्ष भने सम्बन्धित नियामक निकाय, अनुसन्धान प्रक्रिया तथा उपलब्ध प्रमाणहरूको निष्पक्ष मूल्यांकनपछि मात्र स्पष्ट हुने देखिन्छ ।
के हो मेडिकेड ?
मेडिकेड अमेरिकामा निम्न आय भएका नागरिकका लागि संघीय तथा राज्य सरकारको संयुक्त लगानीमा सञ्चालन हुने स्वास्थ्य बीमा कार्यक्रम हो । यस कार्यक्रमअन्तर्गत सहभागी नागरिकहरूले निःशुल्क वा अत्यन्त न्यून शुल्कमा स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था छ । मेडिकेडअन्तर्गत सञ्चालन हुने विभिन्न सेवामध्ये ‘होम एण्ड कम्युनिटी-बेस्ड सर्भिसेज (एचसिबीएस) कार्यक्रम पनि एक हो । पछिल्लो समय चर्चामा आएको कथित ठगी प्रकरणको केन्द्रबिन्दु यही कार्यक्रम बनेको छ ।
यस कार्यक्रममार्फत मेडिकेडमा आबद्ध भएका वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा दैनिक जीवन सञ्चालनमा सहयोग आवश्यक पर्ने नागरिकहरूलाई घरमै सेवा उपलब्ध गराइन्छ । सेवा प्रदायकहरूले खाना पकाइदिने, सरसफाइ गरिदिने, दैनिक कामकाजमा सघाउने तथा व्यक्तिगत हेरचाहसम्बन्धी अन्य सहयोग प्रदान गर्छन् । यी सेवाबापतको खर्च मेडिकेड कोषबाट भुक्तानी गरिन्छ ।
कार्यक्रमको मुख्य उद्देश्य ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई नर्सिङ होम वा स्याहार केन्द्रमा पठाउनुको सट्टा आफ्नै घर तथा समुदायमा बसेर आवश्यक सेवा प्राप्त गर्ने अवसर उपलब्ध गराउनु हो । यस योजनाको विशेषता के छ भने परिवारका सदस्यहरू पनि आवश्यक प्रक्रिया पूरा गरी मेडिकेडमा दर्ता भएपछि आफ्नै नातेदारको हेरचाह गर्ने घरेलु स्वास्थ्य प्रदायकका रूपमा काम गर्न सक्छन् र त्यसबापत पारिश्रमिक प्राप्त गर्न सक्छन् ।
यही व्यवस्थाको दुरुपयोग गर्दै केही व्यक्तिहरूले वास्तविक सेवा नदिई वा सेवा विवरण बढाइचढाइ देखाएर मेडिकेड कोषबाट रकम दाबी गरेको हुनसक्ने आशंका अमेरिकी सञ्चारमाध्यम र अनुसन्धान निकायहरूले उठाएका छन् । हाल चर्चामा रहेको विवादको मूल प्रश्न पनि यही कार्यक्रमको कार्यान्वयन र त्यसमा भएको भनिएको सम्भावित दुरुपयोगसँग सम्बन्धित छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि