काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँदिल्लीमा पाएको उच्च सम्मानले नेपालको राजनीति तरंगित भएको छ । सभापति लामिछानेलाई भारत सरकार र त्यहाँको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) दिएको उच्चस्तरीय सम्मानले काठमाडौंको कूटनीतिक र राजनीतिक वृत्त यतिबेला तरंगित बनेको हो । भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा जेठ १८ गते नयाँदिल्ली पुग्नुभएका लामिछानेले नयाँदिल्ली बसाइका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयशंकरलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । भारतीय संस्थापनले लामिछानेलाई दिएको महत्त्वले विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । कतिपयले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु र रास्वपाको भविष्यसँग जोडेर हेरेका छन् । कतिपयले भने नेपालमा उदाएको नयाँ शक्तिसँग भारतीय संस्थापनको सम्बन्ध स्थापित गर्ने रणनीतिको रूपमा लिएका छन् । अर्काथरिले भने नेपाल-भारतबीचको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिनसक्ने ढंगबाट राय प्रकट गरिरहेका छन् ।
हुन त यसअघि पनि काठमाडौंमा नयाँ राजनीतिक नेतृत्व आउनासाथ सम्पर्क र सहकार्यका लागि तत्परता देखाउने नयाँदिल्लीको परम्परा नै रहेको कूटनीतिज्ञहरूको जिकिर छ । २०६४ सालमा भएको संविधानसभा चुनावपछि माओवादीको उदय र त्यसपछि २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन हुँदा सबैभन्दा पहिले प्रतिक्रिया जनाउने र सहकार्यको घोषणा गर्ने मुलुक भारत नै थियो । एमाले र माओवादी केन्द्रको गठबन्धनले झण्डै दुईतिहाइ मत ल्याएपछि भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज नयाँ गठित केपी ओली सरकारसँग संवाद र सहकार्य अघि बढाउन काठमाडौं नै आउनुभएको थियो । करिब दशकपछि काठमाडौंमा एकल पार्टीको शक्तिशाली सरकार गठन भएपछि नयाँदिल्लीले यसपटक रास्वपाका सभापति लामिछानेलाई स्वागत मात्र गरेन प्रधानमन्त्रीसरहको सम्मान र व्यवहार प्रदान गरेको छ ।
लामिछानेलाई दिइएको सम्मान र भव्य स्वागत पछाडिका कारणहरूले रास्वपाको आन्तरिक गतिशीलता, प्रधानमन्त्री शाह र लामिछानेबीचको सम्बन्ध, कूटनीतिक शिष्टाचार कायम राख्ने सवालमा प्रधानमन्त्रीको स्वघोषित बन्देज, सीमा विवादबारे संसद्मा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति र भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण रद्दसँग पनि जोडेर हेरिएको छ ।
पाँचदिने भारत भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किनुभएका रास्वपा सभापति लामिछानेले आफ्नो भ्रमणलाई लिएर नेपालमा उठेका राजनीतिक बहस र अड्कलबाजीबारे बडो सतर्कताका साथ जवाफ दिनुभएको छ । लामिछानेले रास्वपा सरकार परिवर्तन वा अस्थिरताको राजनीतिमा नरहेको स्पष्ट पार्दै आफू चुनावअघिको सहमतिमा अडिग रहेको बताउनुभएको छ । भारत भ्रमणका क्रममा आफूलाई दिइएको विशेष सम्मानपछि राजनीतिक वृत्तमा प्रधानमन्त्री बन्ने तयारी भइरहेको चर्चा चलेको प्रसंगमा सभापति लामिछानेले भन्नुभएको छ, ‘चुनावअघि हामीले गरेको कागज एकपटक पढिदिन अनुरोध गर्छु । हामी अस्थिरताको पक्षमा छैनौँ, स्थिरताको पक्षमा छौँ । नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हुन् ।’
प्रतिपक्षी दलहरूले उठाएका आशंका र प्रश्नलाई भने स्वाभाविक राजनीतिक दृष्टिकोणका रूपमा व्याख्या गर्दै लामिछानेले भन्नुभएको छ, ‘प्रतिपक्षले गरेका प्रश्न र आशंकाहरूको आफ्नो धारणा होला, कारण होला । हामीले प्रतिपक्षले उठाएका कुरा सुनेका छौँ । सधैँभरि किचलोको वातावरण गर्नु हुँदैन । जे सुधार्नुपर्ने छ, सुधार्दै लिएर जानेछौँ ।’ भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसँगको भेटमा नेपाल-भारत सीमा विवादको विषय किन नउठाइएको भन्ने प्रश्नमा लामिछानेले भन्नुभएको छ, ‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट गरिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यो हल्ला गरेर, ढोल बजाएर हुँदैन । गर्नुपर्ने ठाउँमा गर्नुपर्ने जसरी चरणबद्ध रूपमा हुन्छ । पत्रकारका रूपमा उठाउने विषय र जनताको सबैभन्दा धेरै मत पाएको पार्टीले उठाउने कुरा एकै हुँदैन । कुनै पनि कुराको एउटा चरण हुन्छ ।’
भारत भ्रमणका क्रममा भाजपाको पार्टी मुख्यालयमा आफूलाई गरिएको स्वागतलाई व्यक्तिगत सम्मानका रूपमा नलिन आग्रह गर्दै लामिछानेले अगाडि भन्नुभयो, ‘एउटा अतिथिलाई कसरी सत्कार गर्ने, कुन अतिथिलाई कसरी सत्कार गर्ने भन्ने बोलाउने पक्षले निर्णय गर्ने कुरा हो । भारतीय जनता पार्टीको मुख्यालयमा गरिएको स्वागतलाई अत्यन्त प्रेमपूर्वक गरियो भनिएको छ । त्यो मेरो व्यक्तिगत, मेरो पार्टीको अथवा मेरो भ्रमण दलमा भएका साथीहरूको लागि होइन । हामीलाई गरिएको स्वागत मुलुकका लागि हो, नेपाल र नेपालीका लागि हो ।’
नेपाल-भारत सम्बन्धमा नयाँ सुरुवात भएको दाबी
सभापति लामिछानेले नेपाल-भारत सम्बन्धमा नयाँ सुरुवात भएको दाबी गर्नुभएको छ । भारत भ्रमणपछि स्वदेश फर्किने क्रममा आफू कूटनीतिक रूपमा परिपक्व बन्दै गएको सन्देश दिँदै लामिछानेले आफ्नो भारत भ्रमणले दुई मुलुकबीचको सम्बन्धमा नयाँ सुरुवात भएको दाबी गर्नुभएको हो । भ्रमणका क्रममा नेपालले छिमेकी मित्रराष्ट्रबाट गर्नसक्ने अपेक्षा, आर्थिक लगानी, द्विपक्षीय सहकार्य र दीर्घकालीन हितका विषयमा फलदायी संवाद भएको उहाँले जानकारी दिनुभएको छ । एउटा उदीयमान राजनीतिक शक्तिका रूपमा भारतको सत्ताधारी दलसँग भएको संवादले नेपाल-भारत सम्बन्धलाई आगामी दिनमा थप व्यावहारिक र परिपक्व बनाउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री मोदीसँगको कुराकानीको हकमा, हाम्रा सबै छलफलहरू पारदर्शी र समृद्धिको एजेण्डामा केन्द्रित थिए । नेपाल र भारतको सम्बन्ध तब मात्र वास्तविक रूपमा गहिरो हुन्छ, जब हामी आर्थिक समृद्धिको बाटोमा सँगै हिँड्छौँ । हामीले खेलकुददेखि सूचना प्रविधिसम्मका क्षेत्रमा सहकार्य गर्ने ठूलो खाकाबारे कुरा गरेका छौँ ।’
मोदीलाई नेपाल भ्रमणको निम्तो
सभापति लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिनुभएको छ । पाँचदिने भारत भ्रमण सकेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै लामिछानेले भन्नुभयो, ‘भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । दुवैजना नेपाल आउने कुरामा अत्यन्त सकारात्मक हुनुहुन्छ । समय मिलेपछि यो भ्रमण अवश्य हुनेछ ।’
परराष्ट्रमन्त्री खनाल नयाँदिल्लीमा उच्चस्तरीय भेटघाटमा व्यस्त
रास्वपा सभापति रवि लामिछाने पाँचदिने भ्रमण सकेर स्वदेश फर्किएकै दिन नयाँदिल्ली भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री शिशिर खनालले उच्चस्तरीय भेटवार्तालाई तीव्रता दिनुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका खनालले शनिबार भारतको सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गर्नुभएको छ । भेटवार्ताका दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । यसका साथै दुवै नेताहरूबीच राजनीतिक दलहरू तहको सम्बन्ध र अन्तरक्रियालाई अझ गहिरो बनाउने तथा नेपाल र भारतका नागरिकबीच रहेको जनस्तरको सम्बन्धलाई झन् बलियो बनाउने विषयमा कुराकानी भएको दूतावासको भनाइ छ । भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री खनालले शुक्रबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग दुई पक्षीय भेटवार्ता गर्नुभएको थियो । शुक्रबार नै परराष्ट्रमन्त्री खनाल इण्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । खनालको भ्रमणका क्रममा दुवै पक्षबीच केही सम्झौता र समझदारी हुने अपेक्षा गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि