ओखलढुंगा । सिद्धिचरण नगरपालिका-७ घुन्साका स्थानीयवासी वर्षौंदेखिको खानेपानी समस्याबाट मुक्त भएपछि हर्षित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सँगको सहकार्यमा सिद्धिचरण नगरपालिकाले सञ्चालन गरेको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत ५५ घरधुरी र एक विद्यालयमा धारा निर्माण सम्पन्न भएपछि स्थानीयको दैनिक जीवन सहज बनेको हो ।
यसअघि बिहान-बेलुका पानीको जोहो गर्न घण्टौँ समय खर्चिन बाध्य स्थानीय अहिले घरमै पानी उपलब्ध भएपछि कृषि तथा अन्य उत्पादनमूलक काममा समय दिन सक्ने भएका छन् । स्थानीय फुर्छोकी शेर्पाले अब पानी ल्याउन खर्चिने समय तरकारी खेतीमा लगाएर आम्दानी बढाउने योजना रहेको बताउनुभयो ।
योजनाअन्तर्गत संयुक्त आधारभूत विद्यालय घुन्सामा शिक्षक तथा विद्यार्थीका लागि बालमैत्री धारा निर्माण गरिएको छ । विद्यालयकी शिक्षिका विद्यादेवी बस्नेतले निजी प्रयासमा बनाइएका अस्थायी धाराको झन्झट हटेर विद्यालयमा व्यवस्थित खानेपानी सुविधा पुगेपछि राहत महसुस भएको बताउनुभयो ।
नगरपालिका, नेवा र स्थानीय जनश्रमदानको साझेदारीमा निर्माण सम्पन्न भएको योजनाबाट ६५ जना विद्यार्थीसहित कुल २ सय २६ जना उपभोक्ता लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर कार्कीका अनुसार योजनाको कुल लागत ३६ लाख ४२ हजार १८६ रुपैयाँ रहेको छ । जसमा सिद्धिचरण नगरपालिकाको आठ लाख ८६ हजार २१७ रुपैयाँ, नेवाको १८ लाख ६० हजार १८६ रुपैयाँ तथा जनश्रमदानबाट आठ लाख ९५ हजार ७८३ रुपैयाँ बराबरको योगदान रहेको छ ।
शनिबार आयोजित कार्यक्रममा नगरप्रमुख तेजेन्द्र खनालले योजनाको उद्घाटन गर्दै घर–घरमा पुगेको पानीको सदुपयोग गरी तरकारी खेती विस्तार गर्न स्थानीयलाई आग्रह गर्नुभयो । विगुटार क्षेत्र तरकारी उत्पादनका लागि उपयुक्त रहेको उल्लेख गर्दै उहाँले किसानको उत्पादन सहुलियत दरमा बजारसम्म पुर्याउन नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
कार्यक्रममा वडाध्यक्ष भलबहादुर कटवालले विगतमा कुवा तथा अस्थायी पाइपमार्फत दुःख गरेर पानी उपभोग गरिरहेका स्थानीयका लागि योजना वरदान साबित भएको बताउँदै नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो । नेवाका कार्यक्रम संयोजक रमेश दाहालले योजनाको संरक्षण र दीगो व्यवस्थापनको जिम्मेवारी अब उपभोक्ताकै रहेको बताउनुभयो ।
प्राविधिक कृष्ण काफ्लेका अनुसार चार हजार २०० मिटर टाढाको स्रोतबाट पानी ल्याई १० हजार ५७५ मिटर पाइपमार्फत घर–घरमा वितरण गरिएको छ । योजनाअन्तर्गत दुई वटा इन्टेक, एक सिसी, एक बीपीटी, एक डीटी, दुई केबल क्रसिङ, दुई डीटीरआरभीटी, तीन आरभीटी निर्माण गरिएका छन् । साथै ५२ वटा भाँडा सुकाउने चाङ, ५२ वटा भाँडा धुने स्ल्याब तथा ५२ वटा फोहोर व्यवस्थापन संरचना निर्माण गरिएको छ। स्थानीयका अनुसार घरमै खानेपानीको धारा पुग्नु घुन्सावासीका लागि सपनाजस्तै उपलब्धि बनेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि