केही व्यक्तिहरू समयको सामान्य प्रवाहमा जन्मिएर पनि समयभन्दा माथि उठ्छन् । उनीहरू युगका चेतना-पुरुष बन्छन् र प्रेरणाका पर्याय हुन्छन् । आकाशमा असंख्य ताराहरू उदाउँछन् र अस्ताउँछन्, तर केहीको प्रकाश भने युगौँसम्म दिशाहीन यात्रुहरूको पथप्रदर्शक बनिरहन्छ । पूज्यपाद श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराज पनि आध्यात्मिक जगत्का एक देदीप्यमान नक्षत्र हुनुहुन्थ्यो जसले सनातन धर्मको पुनरुत्थान, संरक्षण र संवद्र्धनमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभयो ।
ऋषिमुनिहरूको साधनाभूमि बाग्लुङ जिल्लाको तोरीखोलामा वि.सं. २०१२ साल भाद्र १४ गते माता हिरादेवी गैरे र पिता काशिराम गैरेको सुकृतिको फलस्वरूप उहाँको आविर्भाव भएको थियो । आध्यात्मिक संस्कारले विभूषित उहाँले बाल्यकालदेखि नै सांसारिक आकर्षणभन्दा ईश्वरभक्ति, अध्ययन, चिन्तन र साधनामा विशेष रुचि देखाउनुहुन्थ्यो । उहाँको व्यक्तित्वमा भक्ति, ज्ञान र वैराग्यको अनौठो प्रभाव झल्किन्थ्यो । उहाँले धार्मिक क्षेत्रमा मात्र नभई नेपालको शैक्षिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा समेत अविस्मरणीय योगदान पुर्याउनुभयो ।
राष्ट्रसन्त अनन्तश्री विभूषित स्वामी परमानन्द सरस्वती महाराजका प्रथम तथा सर्वाधिक योग्य शिष्यका रूपमा परिचित उहाँ महान् तपस्वी, सिद्ध साधक र दुर्लभ आध्यात्मिक विभूति हुनुहुन्थ्यो । पूज्य स्वामीज्यूकै सान्निध्यमा रहेर संस्कृत शिक्षा र पौरस्त्य दर्शनको अमृतरस पान गर्ने सौभाग्य प्राप्त गरेको मैले उहाँको जीवनका केही प्रेरणादायी पक्षहरू प्रस्तुत गर्ने प्रयास गरेको छु ।
बाल्यावस्था तथा शिक्षादीक्षा
‘यन्नवे भाजने लग्नः संस्कारो नान्यथा भवेत्’ भनेझैँ पूज्य स्वामीज्यूको व्यक्तित्व निर्माणमा उहाँकी माताजीबाट प्राप्त उच्च धार्मिक संस्कारको गहिरो प्रभाव रहेको थियो । बाल्यकालदेखि नै उहाँमा भक्ति, ज्ञान र वैराग्यका असाधारण लक्षणहरू प्रकट भएका थिए । सांसारिक आकर्षणभन्दा आध्यात्मिक चिन्तनतर्फ बढी उन्मुख उहाँ आफ्नो उमेरका अन्य बालकहरूभन्दा भिन्न र विलक्षण देखिनुहुन्थ्यो । यही कारणले उहाँ बाल्यावस्थामै एक बालसन्तका रूपमा परिचित हुन थाल्नुभएको थियो ।
जब उहाँ प्रवचनका लागि आसनमा विराजमान हुनुहुन्थ्यो, तब उहाँको व्यक्तित्वको बेग्लै स्वरूप प्रकट भएको भान हुन्थ्यो । उहाँको प्रखर र मधुर वाणीले बालकदेखि वृद्धसम्म, गाउँलेदेखि शहरीयासम्म, सामान्य शिक्षितदेखि प्रकाण्ड विद्वान्सम्म सबैको हृदयलाई सहजै स्पर्श गर्थ्याे ।
आध्यात्मिक जिज्ञासा र साधनाप्रतिको गहिरो अनुरागले उहाँलाई सानै उमेरदेखि सन्तमहात्माहरूको सान्निध्यमा पु¥यायो । जन्मभूमिनजिकै रहेको गुफामा स्वर्गद्वारी परम्पराका योगनिष्ठ महापुरुष झ्याम्पाली महाराजबाट उहाँले शास्त्राध्ययनको प्रारम्भ गर्नुभयो । साथै वैराग्यका प्रतिमूर्ति सिद्धसन्त छविप्रकाशानन्द गुरुको मार्गदर्शनमा कठोर तपस्या र आत्मसाधनामा संलग्न हुनुभयो । गुरुहरूको कृपा, मार्गदर्शन र आध्यात्मिक प्रभावले उहाँको साधनायात्रालाई प्रारम्भिक अवस्थामै सुदृढ बनायो ।
गुल्मीको दिब्रुङमा प्रभु जन्मेका छन् भन्ने सुनेर उहाँ दर्शनका लागि त्यहाँ पुग्नुभयो ।
पहिलो भेटमै स्वामी परमानन्द सरस्वती महाराजको अलौकिक आध्यात्मिक व्यक्तित्वबाट प्रभावित हुनुभयो । त्यसपछि उहाँको सान्निध्य कहिल्यै छाड्नुभएन । उहाँको निष्ठा, साधना र संस्कारबाट प्रभावित भई मानिसहरूले उहाँलाई ‘ब्रह्मचारी’ भनेर सम्बोधन गर्दथे । यही क्रममा राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजबाट विधिवत् ब्रह्मचर्य दीक्षा ग्रहण गरी ‘खिमानन्द ब्रह्मचारी’ नाम प्राप्त गर्नुभयो । गुरुमहाराजद्वारा स्थापित दिब्रुङ आश्रमअन्तर्गतको श्री परमानन्द वेद–वेदाङ्ग संस्कृत गुरुकुलका प्रथम छात्र बन्ने सौभाग्य पनि उहाँलाई प्राप्त भयो । यही गुरुकुलबाट उहाँको व्यवस्थित शास्त्राध्ययनको प्रारम्भ भयो र शास्त्रीय ज्ञानको गहन अध्ययनतर्फ उहाँको यात्रा अघि बढ्यो ।
प्रारम्भिक अध्ययनपश्चात् उहाँ थप अध्ययनका लागि वनासर पुग्नुभयो । त्यहाँ तपोनिष्ठ स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजबाट सन्न्यास दीक्षा ग्रहण गरी ‘स्वामी विवेकानन्द सरस्वती’ नाम प्राप्त गर्नुभयो । उहाँले वृन्दावन, अयोध्या, हरिद्वार र हृषीकेशजस्ता प्राचीन आध्यात्मिक केन्द्रहरूमा लामो समयसम्म विभिन्न सिद्धमहापुरुषहरूको सान्निध्यमा रहेर अध्ययन, साधना र आत्मचिन्तन गर्नुभयो । यसै क्रममा महामनीषी स्वामी अखण्डानन्द सरस्वती महाराजको समीपमा रही वेदान्त दर्शन तथा श्रीमद्भागवत महापुराणको गहिरो अध्ययन गरी शास्त्रीय ज्ञानलाई अझ सशक्त बनाउनुभयो । यसरी मातृसंस्कार, गुरु–कृपा, कठोर साधना र निरन्तर शास्त्राध्ययनले उहाँलाई क्रमशः सिद्ध सन्तका रूपमा विकसित गरायो ।
कृतित्व र योगदान
स्वामीज्यू एक आध्यात्मिक साधक मात्र नभई उच्चकोटिका चिन्तक तथा शास्त्रवेत्ता पनि हुनुहुन्थ्यो । उहाँले आफ्ना पूज्य गुरु ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराजका दिव्य प्रवचनहरूलाई आधार बनाई ‘वेदान्तप्रदीप’ जस्तो महत्त्वपूर्ण कृतिको प्रकाशन गर्नुभयो, जसले वेदान्त दर्शनका गहन विषयहरूलाई जनमानससम्म सहज रूपमा पुर्याउने कार्य ग¥यो । वेदान्तप्रतिको उहाँको गहिरो अध्ययन र साधनाको यो एक उत्कृष्ट उदाहरण मानिन्छ ।
उहाँ ज्योतिषशास्त्रका समेत विद्वान् हुनुहुन्थ्यो । वि.सं. २०५० सालभन्दा अगावै गुल्मीको रुपाकोटमा रहँदा उहाँले ‘जीवनचन्द्रिका’ नामक ग्रन्थको प्रकाशन गर्नुभएको थियो । त्यसैगरी स्कन्दपुराण अन्तर्गतको ब्रह्मोत्तर खण्डमा आधारित रही ‘परमानन्दी विवेकभाषाटीका’ नामक महत्त्वपूर्ण ग्रन्थको रचना गरी धार्मिक तथा दार्शनिक साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभयो ।
यति धेरै योगदान हुँदाहुँदै पनि स्वामीज्यूले कहिल्यै आफ्नो व्यक्तित्व वा कार्यको प्रचारप्रसार गर्न रुचाउनुभएन । उहाँ सधैँ परिणाममुखी कर्ममा विश्वास गर्नुहुन्थ्यो र पर्दापछाडिबाट समाज तथा धर्मका लागि दूरगामी योजनाहरू कार्यान्वयन गर्ने वास्तविक योजकका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको जीवनमा कर्म प्रमुख थियो, प्रसिद्धि होइन ।उहाँको गुरुभक्ति समुच्च कोटीको थियो । उहाँले आफ्ना गुरुलाई सन्न्यास गुरु वरण गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वहन गर्नुभएको थियो ।
नेपालकै एक पवित्र धार्मिक तथा आध्यात्मिक तीर्थस्थलका रूपमा स्थापित देवघाटलाई ज्ञान, साधना र सन्तपरम्पराको केन्द्रका रूपमा विकसित गराउन उहाँले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । हरिद्वारका पूजनीय स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराज तथा आफ्ना गुरु ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराजबीच समन्वय र सहकार्यको सेतु निर्माण गर्ने कार्यमा स्वामीज्यूको योगदान विशेष स्मरणीय छ । हरिद्वार महाराजज्यूलाई देवघाटमा हरिहर आश्रम स्थापना गर्न प्रेरित गराउने र त्यसका लागि गुरु परमानन्द सरस्वतीमार्फत अनुरोध गराउने प्रमुख व्यक्तित्व स्वामीज्यू नै हुनुहुन्थ्यो । उहाँको दूरदर्शी पहलले अन्ततः मूर्तरूप ग्रहण ग¥यो र देवघाटमा हरिहर आश्रमको स्थापना सम्भव भयो ।
हाल उक्त आश्रमका पीठाधीश तथा अध्यक्षका रूपमा पूजनीय १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज विराजमान हुनुहुन्छ । सन्त समाज नेपालका अध्यक्षसमेत रहनुभएका उहाँसँग विवेकानन्द स्वामीज्यूको अत्यन्त निकट गुरुभाइ सम्बन्ध रहेको थियो । एक सहयोगी मात्र नभई उहाँका अन्तरङ्ग परामर्शदाता तथा आध्यात्मिक अभियानका विश्वसनीय मार्गनिर्देशकका रूपमा निरन्तर सक्रिय रहनुभयो । परमानन्द स्वामी ब्रह्मलीन भएपछि उहाँहरू दुवैले परमानन्दीय परम्परामा स्थापित आश्रम, गुरुकुल र मठमन्दिरको संरक्षण र संवद्र्धनका लागि संयुक्त रूपमा जिम्मेवारी लिनुभयो ।
दुर्गा वैदिक परमानन्द सन्न्यास आश्रमको प्रमुख आश्रमाधिपति विवेकानन्द सरस्वती महाराज र आश्रमाधिपति ज्ञानानन्द सरस्वती महाराज हुनुहुन्थ्यो भने हरिहर सन्न्यास आश्रमको पीठाधीश एवं अध्यक्ष ज्ञानानन्द सरस्वती र उपाध्यक्ष विवेकानन्द सरस्वती हुनुहुन्थ्यो । विवेकानन्द स्वामीज्यूको सूक्ष्म चिन्तन, दूरदृष्टि र आध्यात्मिक अनुभवले अनेक धार्मिक तथा सामाजिक अभियानहरूलाई दिशा प्रदान गरेको थियो ।
आश्रमको संस्थागत विकास, आध्यात्मिक कार्यक्रमहरूको सञ्चालन तथा सन्तसमाजको अभिवृद्धिमा उहाँले पुर्याएको योगदान सदैव स्मरणीय छ । आफ्नो सम्पूर्ण जीवन धर्म, ज्ञान, साधना र समाजसेवामा समर्पित गर्ने स्वामीज्यू वास्तवमै त्यस्ता विरल व्यक्तित्व हुनुहुन्थ्यो, जसको प्रभाव प्रचारभन्दा धेरै माथि थियो ।
स्वामीज्यू राष्ट्रिय महायज्ञका नेपथ्य नायक समेत हुनुहुन्थ्यो । राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजद्वारा सञ्चालित ऐतिहासिक धान्याचल आदि विशिष्ट सामाजिक महायज्ञहरूको वास्तविक सूत्राधारको रूपमा उहाँले नै काम गर्नुभयो । नेपालमा प्रथमपटक स्वामी पुण्यानन्द महाराजलाई धान्याचल यज्ञ गर्न ल्याउने कार्यमा स्वामी परमानन्द सरस्वती महाराजको तर्फबाट महायज्ञमा कुशल निर्देशकको भूमिका उहाँले निभाउनुभएको थियो ।
दलित, शोषित र आम ग्रामीण जनमानसलाई सुर्ती, चुरोट खैनी र मदिरा जस्ता प्राणघातक व्यसनहरू त्याग्न सहजै मञ्जुर गराउने अद्भुत कला उहाँमा थियो । उहाँले वैदिक नारीजागरण धार्मिक समूहमार्फत मातृशक्ति परिचालन गरी समाजलाई सभ्य र सुसंस्कृत बनाउन निरन्तर प्रेरणा दिनुभयो । स्वामीज्यूले धान्याचल महायज्ञका माध्यमबाट विभिन्न कारणले विखण्डित समाजलाई जोड्ने कामको पहलकदमी समेत लिनुभयो ।
अद्भूत प्रवचन कला
स्वामीज्यू स्वभावतः अत्यन्त मितभाषी हुनुहुन्थ्यो । कम बोले पनि उहाँका कुरा गम्भीर हुन्थे । जब उहाँ प्रवचनका लागि आसनमा विराजमान हुनुहुन्थ्यो, तब उहाँको व्यक्तित्वको बेग्लै स्वरूप प्रकट भएको भान हुन्थ्यो । उहाँको प्रखर र मधुर वाणीले बालकदेखि वृद्धसम्म, गाउँलेदेखि शहरीयासम्म, सामान्य शिक्षितदेखि प्रकाण्ड विद्वान्सम्म सबैका हृदयलाई सहजै स्पर्श गथ्र्यो । श्रोताहरू मन्त्रमुग्ध भई घण्टौँसम्म उहाँका अमृतमय वचन श्रवण गर्न लालायित रहन्थे ।
राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजद्वारा स्थापित विभिन्न आश्रम, मठमन्दिर तथा गुरुकुलहरूको संरक्षणमा समेत उहाँको योगदान अविस्मरणीय छ । रामनदीधाम संस्कृत गुरुकुलको स्थापना उहाँकै तत्परता र मार्गनिर्देशनमा भएको हो । उहाँ वैदिक धर्मपरिषद् नेपालका संरक्षक, श्री दुर्गा वेदवेदाङ्ग विद्यापीठका प्रमुख संरक्षक तथा भैरहवास्थित संस्कृत विद्या सन्न्यास आश्रमका मुख्य सल्लाहकार एवं मार्गदर्शकका रूपमा समेत क्रियाशील रहनुभयो ।
उहाँका कथामा भक्ति, ज्ञान र वैराग्यको त्रिवेणी निरन्तर प्रवाहित हुन्थ्यो । शास्त्रका अत्यन्त गूढ र गम्भीर रहस्यहरूलाई पनि उहाँले सरल, सरस र व्यावहारिक उदाहरणसहित प्रस्तुत गर्नुहुन्थ्यो, जसले जटिल विषय पनि सहजै बोधगम्य हुन्थे । जीवनका सामान्य घटनाहरूलाई टिपेर आध्यात्मिक सत्यको उद्घाटन गर्ने उहाँको अनुपम प्रवचनकला वास्तवमै अद्वितीय थियो ।
प्रवचनका क्रममा उहाँले श्रोताहरूलाई भावनाको गहिराइसम्म पुर्याउँदै शास्त्रीय ज्ञानको आलोकले अभिषिक्त गर्नुहुन्थ्यो । सामान्य अवस्थामा मौन र अन्तर्मुखी देखिने उहाँ प्रवचनकालमा भने अत्यन्त वाक्पटु देखिँदा सबैलार्ई आश्चर्यचकित तुल्याउँथ्यो । उहाँको वाणीमा अनुभूति, साधना र आत्मसाक्षात्कारको तेज झल्किन्थ्यो । उहाँको वाणीले असंख्य भक्तहरूको जीवनमा आध्यात्मिक जागरण र नैतिक चेतनाको दीप प्रज्वलित गरेको थियो । उहाँ भारतको वृन्दावनमा समेत सम्मानित कथावक्ताको रुपमा प्रसिद्ध हुनुहुन्थ्यो ।
नयाँमिल आगमन
वि.सं. २०५९ सालमा चक्रपाणि पाठक, नरहरि खरेललगायतका धेरै निष्ठावान् भक्तजनहरूको अनुरोध स्वीकार गर्दै गुल्मीको रुपाकोटबाट तिलोत्तमा–१, नयाँमिलस्थित दुर्गा पञ्चाङ्ग मन्दिर (देवीस्थान) मा पूज्य स्वामी विवेकानन्द सरस्वती महाराजज्यूको पहिलोपटक आगमन भएको थियो । उहाँले त्यहाँ चतुर्मास तथा विविध वैदिक यज्ञानुष्ठानहरू सम्पन्न गर्दै दुर्गा वैदिक परमानन्द सन्न्यास आश्रमको स्थापना गर्नुभयो । साथै श्री दुर्गा वैदिक संस्कृत विद्यापीठ (गुरुकुल) मा औपचारिक पठनपाठनको शुभारम्भ गरी यसको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउनुभयो । उहाँकै संरक्षण र मार्गदर्शनमा विकसित उक्त गुरुकुलमा आज कक्षा ६ देखि १२ सम्मका सयौँ विद्यार्थीहरू निःशुल्क आवासीय सुविधासहित अध्ययनरत छन् ।
उहाँको आध्यात्मिक साधना, त्याग र सेवाभावको उच्च मूल्याङ्कन गर्दै वि.सं. २०६५ सालमा हरिद्वारका अनन्तश्री विभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजज्यूबाट उहाँको पट्टाभिषेक सम्पन्न गराई ‘श्री १००८ स्वामी’ उपाधिद्वारा विभूषित गरिएको थियो । जीवनका अन्तिम करिब तेइस-चौबीस वर्ष यही आश्रमलाई केन्द्र बनाएर स्वामीज्यूले धर्म, शिक्षा र समाजसेवाका अनेकौं कार्यहरू सम्पन्न गर्नुभयो ।
उहाँको प्रेरणा र सक्रियतामा सयौँ विद्यालय, क्याम्पस, मठमन्दिर तथा धार्मिक संस्थाहरूको निर्माण, संरक्षण र संवद्र्धन भयो । कथा–प्रवचनबाट प्राप्त दक्षिणासमेत व्यक्तिगत हितमा कहिल्यै प्रयोग गनुृभएन । राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती महाराजद्वारा स्थापित विभिन्न आश्रम, मठमन्दिर तथा गुरुकुलहरूको संरक्षणमा समेत उहाँको योगदान अविस्मरणीय छ । रामनदीधाम संस्कृत गुरुकुलको स्थापना उहाँकै तत्परता र मार्गनिर्देशनमा भएको हो । उहाँ वैदिक धर्मपरिषद् नेपालका संरक्षक, श्री दुर्गा वेदवेदाङ्ग विद्यापीठका प्रमुख संरक्षक तथा भैरहवास्थित संस्कृत विद्या सन्न्यास आश्रमका मुख्य सल्लाहकार एवं मार्गदर्शकका रूपमा समेत क्रियाशील रहनुभयो ।
तपस्या, त्याग, ज्ञान र सेवाले अनुप्राणित जीवनयात्रालाई विश्राम दिँदै पूज्य स्वामीज्यू वि.सं. २०८३ साल ज्येष्ठ शुक्ल अष्टमीको साँझ ७ः१५ बजे ब्रह्मलीन हुनुभयो । उहाँको भौतिक देह पञ्चतत्त्वमा विलीन भए पनि उहाँले देखाउनुभएको ज्ञान, वैराग्य, करुणा र कर्मयोगको मार्गले मानव समाजलाई युगौँसम्म आलोकित गरिरहनेछ । शान्त, सौम्य, करुणामय, सिद्ध महायोगी तथा ब्रह्मलीन पूज्यपाद श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजज्यूप्रति आज षोडशी तिथिको अवसरमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
(लेखक उपप्रा. कृष्णप्रसाद भण्डारी स्वामीज्यूको आश्रमका पूर्वविद्यार्थी हुनुहुन्छ)







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि