कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने अभियानमा जुटेको नेपाली कांग्रेसको असन्तुष्ट समूह अन्ततः पछि हटेको छ। झण्डै दुई सातादेखि चर्किएको आन्तरिक शक्ति संघर्ष मुख्यमन्त्री परिवर्तनमा नभई मन्त्री र राज्यमन्त्रीको भागबन्डामै सीमित हुने संकेत देखिएको छ।
शनिबार साँझ भएको छलफलपछि कांग्रेसभित्र नयाँ शक्ति समीकरणमा सहमति जुटेको स्रोतले जनाएको छ। सहमतिअनुसार मुख्यमन्त्री कमलबहादुर शाह पदमै कायम रहनेछन् भने सरकारमा कांग्रेसको प्रतिनिधित्व गर्ने मन्त्री र राज्यमन्त्रीहरू परिवर्तन गरिनेछ।
स्रोतका अनुसार असन्तुष्ट पक्षलाई दुई मन्त्री र एक राज्यमन्त्री तथा मुख्यमन्त्री शाह पक्षलाई एक मन्त्री र एक राज्यमन्त्री दिने गरी भागबन्डा मिलाइएको छ। यसले सरकारभित्र कांग्रेसको शक्ति सन्तुलन पुनःनिर्धारण गर्नेछ।
यद्यपि मन्त्री हेरफेरको अन्तिम सूचीमा अझै सहमति जुटिसकेको छैन। मुख्यमन्त्री निकट पक्ष आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई निरन्तरता दिने पक्षमा देखिएको छ भने असन्तुष्ट समूहका नेता दिवानसिंह बिष्ट पक्षले अर्थ मन्त्रालयमै दाबी गरिरहेको छ।
हाल कांग्रेसबाट सरकारमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम रहेका छन्। नयाँ समीकरण बनेसँगै यीमध्ये अधिकांश अनुहार बाहिरिने सम्भावना बलियो भएको छ।
मुख्यमन्त्री शाहविरुद्धको अभियानले गत साता नाटकीय मोड लिएको थियो। विदेशमा रहेका एक सांसदबाहेक १७ सदस्यीय कांग्रेस संसदीय दलमध्ये नौ जना प्रदेशसभा सदस्यले शाहलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गरेका थिए। तर प्रदेशसभा सदस्य डम्मरी महरा रक्षाले अन्तिम समयमा हस्ताक्षर फिर्ता लिएपछि असन्तुष्ट पक्षको गणित कमजोर बनेको थियो।
विवादले पार्टीभित्र गम्भीर असर पार्न सक्ने देखिएपछि कांग्रेस केन्द्रीय नेतृत्वले प्रत्यक्ष हस्तक्षेप गरेको छ। सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य राजन केसी धनगढी पुगेर दुवै पक्षसँग लगातार छलफल गरिरहेका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि