काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई परम्परागत भू–राजनीतिक दृष्टिकोणभन्दा माथि उठाएर विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित साझेदारीका रूपमा अघि बढाउन चाहेको बताउनुभएको छ।
आइतबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार विगतका राजनीतिक बोझबाट मुक्त भई परिणाममुखी कूटनीतिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो।
मन्त्री खनालले नेपालमा नयाँ राजनीतिक शक्तिको उदय भएको उल्लेख गर्दै नागरिकको जनादेश सुशासन, योग्यतामूलक प्रणाली र प्रत्यक्ष जवाफदेहिताका आधारमा प्राप्त भएको बताउनुभयो। उहाँले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावको दृष्टिले नभई विकास कूटनीतिका माध्यमबाट नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको धारणा राख्नुभयो।
“हामी भारतलाई २०औँ शताब्दीको भू–राजनीतिक दृष्टिकोणबाट हेर्न चाहँदैनौँ। नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतितर्फ लैजान चाहन्छौँ। हामी भारतलाई नेपालको आर्थिक रूपान्तरणका साझेदारका रूपमा हेर्छौँ,” उहाँले भन्नुभयो।
भारत भ्रमणका क्रममा व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत तथा जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भारतीय पक्षसँग विस्तृत छलफल भएको उहाँले जानकारी दिनुभयो। भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँगको भेटवार्तामा सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी तथा आर्थिक सहकार्यका विषयमा केन्द्रित छलफल भएको उहाँको भनाइ थियो।
मन्त्री खनालले नेपाल र भारतबीच व्यक्ति–व्यक्ति (पीटुपी) सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको र यसले दुवै देशका नागरिक, पर्यटक तथा साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भारतीय सहयोगमा निर्माण गरिएका ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदासम्बन्धी भूकम्पपछिका पुनर्निर्माण परियोजना औपचारिक रूपमा हस्तान्तरण भएको जानकारी दिनुभयो। साथै, काठमाडौं विश्वविद्यालय र भारतको भाषिणी डिभिजनबीच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको पनि बताउनुभयो।
पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा लागू गरिएको भन्सार व्यवस्थाबारे उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले उक्त व्यवस्था सीमावर्ती नागरिकलाई लक्षित नभई खुला सीमाको दुरुपयोग रोक्नका लागि ल्याइएको स्पष्ट पार्नुभयो।
उहाँले भारतीय नागरिकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्दै पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथजस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यको अनुभव लिन आग्रह गर्नुभयो।
भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जानुभएको हो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर