नयाँदिल्ली । भारतले सात वर्षपछि पुनः साफ महिला च्याम्पियनसिपको उपाधि आफ्नो पोल्टामा पारेको छ । गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न फाइनलमा साबिक विजेता बंगलादेशलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले उपाधि चुमेको हो । भारतले सन् २०१९ मा नेपालको विराटनगरमा सम्पन्न पाँचौँ संस्करणमा नेपाललाई नै ३-१ ले हराएर उपाधि जितेयता पहिलो पटक यो सफलता हात पारेको हो ।
उपाधि भिडन्तको पहिलो हाफ निकै रोमाञ्चक र तनावपूर्ण रह्यो । खेलको ४३औँ मिनेटमा भारतकी प्यारी सासा (जाक्सा)को प्रहार बंगलादेशी डिफेन्डर मोसम्मत अक्तर अफ्रिनसँग ठोक्किँदै गोलमा परिणत भएपछि भारतले सुरुवाती अग्रता लिएको थियो । तर, भारतको यो खुसी धेरै समय टिक्न पाएन । पहिलो हाफकै इन्जुरी समयमा बंगलादेशकी स्ट्राइकर तोहुरा खातुनको पासलाई सदुपयोग गर्दै रितु पोर्ना चक्माले उत्कृष्ट ‘लेफ्ट फुटेड लोअर’ प्रहारमार्फत् गोल फर्काएर खेललाई १-१ को बराबरीमा ल्याउनुभयो ।
दोस्रो हाफ सुरु हुन नपाउँदै खेलले नयाँ मोड लियो । खेलको ४७औँ मिनेटमै भारतकी प्यारी सासाको क्रसलाई सन्फिदा नोङरुमले हेडरमार्फत् सुन्दर गोल गर्दै भारतलाई पुनः २–१ को अग्रता दिलाउनुभयो । खेलको अन्त्यतिर बंगलादेशले बराबरीका लागि प्रयास गरे पनि खेलको ८१औँ मिनेटमा भारतले तेस्रो गोल थप्दै आफ्नो जित सुनिश्चित गरेको हो ।
योसँगै छैटौँ पटकको च्याम्पियन भारतले दक्षिण एसियाली महिला फुटबलमा आफ्नो ऐतिहासिक दबदबा पुनः स्थापित गरेको छ । उता लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश भने यसपटक उपविजेतामै सीमित हुन पुग्यो ।
साफ च्याम्पियनसिपको फाइनल इतिहासमा भारतविरुद्ध बंगलादेशको यो दोस्रो हार हो । यसअघि सन् २०१६ मा सिलिगुढीमा सम्पन्न चौथो संस्करणको फाइनलमा पनि भारतले बंगलादेशलाई ३-१ कै नतिजामा स्तब्ध पारेको थियो । एजेन्सी







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम