हुम्ला । हिमालपारिको क्षेत्रका रूपमा परिचित हुम्लाको उत्तरी भेगस्थित नाम्खा गाउँपालिका–६ को लिमी उपत्यकामा रहेको लिमी रिसोर्ट पुनः सञ्चालनमा आएको छ।
लिमी उपत्यका प्रवेश गर्ने टाक्ची, न्यालु लगायतका सडकमा जमेको हिउँ हटाएर यातायात सञ्चालनमा ल्याइएपछि वर्षायामसँगै रिसोर्ट पुनः सञ्चालनमा आएको हो। हिउँदयाममा बाक्लो हिमपातका कारण बन्द गरिएको रिसोर्ट अब आगामी मङ्सिरसम्म सञ्चालनमा रहने जनाइएको छ।
स्थानीय व्यवसायी तेन्जिन नुर्वु लामाका अनुसार पाँच हजार १३० मिटर उचाइमा रहेको नेपाली भूमि लाप्चाबाट मानसरोवर–कैलाश दर्शन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी तीन वर्षअघि रिसोर्ट स्थापना गरिएको हो।
स्थानीय कुञ्चोक तामाङले लाप्चाबाट सहज रूपमा मानसरोवर–कैलाशको दर्शन गर्न सकिने भएकाले पछिल्ला वर्षहरूमा पर्यटकको आकर्षण बढ्दै गएको बताउनुभयो।
रिसोर्टमा स्थानीय परिकार, याकको सुकुटी तथा आसपासका हिमाली पर्यटकीय क्षेत्रको दृश्यावलोकनको सुविधा उपलब्ध रहेको छ। उच्च हिमाली क्षेत्रमा सञ्चालन हुने भएकाले पर्यटकको सुरक्षाका लागि अक्सिजनको व्यवस्थासमेत गरिएको छ।
रिसोर्टले आन्तरिक पर्यटकका लागि तीन छाक खाना र बाससहित प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तथा विदेशी पर्यटकका लागि तीन हजार पाँच सय रुपैयाँ शुल्क लिने गरेको छ। उक्त शुल्कमा १० प्रतिशत छुटको व्यवस्था पनि रहेको सञ्चालक पक्षले जनाएको छ।
स्थानीय सहकारी संस्थाद्वारा सञ्चालित यस रिसोर्टलाई लिमी क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण मानिएको छ। हरेक वर्ष हिउँदमा भारी हिमपातका कारण सडक अवरुद्ध हुने भएकाले रिसोर्ट केही महिना बन्द रहने गर्दछ।
स्थानीय स्रोतका अनुसार हालसम्म आन्तरिक तथा विदेशी पर्यटकका सात समूहले लाप्चाबाट मानसरोवर–कैलाश दर्शन गरिसकेका छन्। गत वर्ष मात्रै करिब एक हजार आठ सय पर्यटकले उक्त मार्गबाट मानसरोवर–कैलाशको दर्शन गरेका थिए।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि