तेह्रथुम । तेह्रथुम छथर गाउँपालिका–६ का किसान टंकबहादुर लिम्बु बिहानै खेततिर निस्कँदा अहिले उहाँको मनमा पहिले जस्तो चिन्ता हुँदैन । केही वर्षअघिसम्म भने अवस्था फरक थियो। खेतमा पानी पुर्याउने चिन्ता, कुलो भत्किने डर र पानीको पालो कुर्दाकुर्दै बित्ने रातहरू उहाँको दैनिकी बनेका थिए ।
“खेती गर्नभन्दा पानीको व्यवस्थापन गर्न बढी समय खर्च हुन्थ्यो,” उहाँ विगत सम्झिँदै भन्नुहुन्छ, “कहिले रातभरि पानी थुन्नुपर्थ्यो, कहिले पालो कुर्नुपर्थ्यो । खेतमा पानी पुग्छ कि पुग्दैन भन्ने चिन्ता हुन्थ्यो ।”
टंकबहादुर मात्र होइन, छथर–६ का अधिकांश किसानको कथा उस्तै थियो । अन्नबाली, तरकारी तथा फलफूल खेती नै मुख्य आयस्रोत भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा उत्पादन अपेक्षाअनुसार हुन सकेको थिएन । वर्षा कम हुँदा बाली सुक्ने, तरकारी खेती विस्तार गर्न नसकिने र फलफूलका बिरुवाले समयमै पानी नपाउने समस्या वर्षौंदेखि किसानले भोग्दै आएका थिए ।
किसान अन्जान आँखेवा पनि सिँचाइका लागि प्रयोग हुने माटोका कुलोहरू किसानको बाध्यता थिए । “माटोको कुलोबाट पानी ल्याउँदा धेरै ठाउँमा चुहिन्थ्यो,” उहाँ भन्छन, “कतै कुलो भत्किन्थ्यो, कतै पानी हराउँथ्यो । खेतसम्म पर्याप्त पानी पुग्दैनथ्यो । खेती गर्न निकै कठिन थियो ।”
यही समस्यालाई समाधान गर्ने उद्देश्यले निर्माण गरिएको कमान सिंह सिँचाइ आयोजना अहिले गाउँमा परिवर्तनको आधार बनेको छ । छरछरे खोलालाई मुहान बनाएर निर्माण गरिएको करिब २ हजार १ सय ५३ दशमलव ९७ मिटर लामो सिँचाइ कुलोले किसानको वर्षौं पुरानो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।
आयोजना सञ्चालनमा आएपछि करिब ६० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने १९ हेक्टर खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा पुग्ने भएको छ । “अब खेती गर्ने उत्साह बढेको छ,” अन्जान आँखेवा भन्नुहुन्छ, “पानीको भरपर्दो व्यवस्था भएपछि तरकारी र फलफूल खेती विस्तार गर्ने सोच बनाएका छौँ ।”
यो आयोजना केवल कुलो निर्माणको काम मात्र होइन, समुदायको साझा प्रयासको परिणाम पनि हो । कमान सिंह सिँचाइ जल उपभोक्ता संस्था मार्फत निर्माण भइरहेको आयोजनाको व्यवस्थापन र कार्यान्वयनमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको छ ।
संस्थाका सचिव शान्ताकुविर आँखेवाका अनुसार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । “कुल ६६ लाख ५० हजार रुपैयाँ लागतमा आयोजना निर्माण भइरहेको छ,” उनी भन्छन, “निर्माण खर्च ६२ लाख ७२ हजार ६२२ रुपैयाँ ८० पैसा रहेको छ भने अन्य व्यवस्थापकीय खर्चसमेत समावेश गरिएको छ । अब छिट्टै आयोजना पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।”
उहाँका अनुसार स्थानीय जनसहभागिता, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र स्वीस सरकारको विकास सहयोगको संयुक्त लगानीमा आयोजना निर्माण गरिएको छ । यसले विकास निर्माणमा समुदाय र विभिन्न निकायबीचको सहकार्य कति प्रभावकारी हुन सक्छ भन्ने देखाएको छ ।
गाउँमा अहिले किसानहरूको सोच बदलिन थालेको छ । पहिले वर्षाको भरमा खेती गर्ने किसानहरू अब व्यावसायिक कृषि विस्तारको योजना बनाउन थालेका छन्। । पर्याप्त पानी उपलब्ध भएपछि उत्पादन बढ्ने, आम्दानीमा सुधार आउने र कृषि पेशाप्रति युवाको आकर्षणसमेत बढ्ने विश्वास स्थानीयवासीको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि