काठमाडौं । अभिनेता विपिन कार्की र वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारबीचको नयाँ सहकार्यले नेपाली चलचित्र क्षेत्रमा फरक प्रकारको सिर्जनात्मक प्रयोगको संकेत गरेको छ । निर्माणको तयारीमा रहेको नयाँ कथानक चलचित्रसँगै सोही कथामा आधारित आख्यान पुस्तक प्रकाशन गर्ने योजनाका कारण यो परियोजना चर्चामा आएको हो ।
विपिन कार्कीको लगानीमा लाइट वेन्डर्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा लेखन तथा निर्देशन विजयकुमारले गर्ने हुनुभएको छ । चलचित्रको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।
निर्माण पक्षका अनुसार चलचित्र ड्रामा विधामा आधारित हुनेछ । कथाले एक व्यक्तिको जीवनयात्रा, संघर्ष, अनुभव र जीवनदर्शनलाई केन्द्रमा राख्नेछ । चलचित्रमा विपिन स्वयं मुख्य भूमिकामा देखिनुहुनेछ भने अन्य कलाकारको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ ।
परियोजनाको विशेष पक्ष चलचित्र र साहित्यबीचको सम्बन्धलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास रहेको बताइएको छ । निर्माण पक्षका अनुसार चलचित्र प्रदर्शनपछि फाइनप्रिन्टले सोही कथामा आधारित आख्यान पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ ।
नेपाली चलचित्र उद्योगमा चलचित्र रिलिजपछि त्यसैको कथालाई साहित्यिक रूप दिँदै पुस्तक प्रकाशन गर्ने अभ्यास दुर्लभ मानिन्छ । यस कारण पनि उक्त परियोजनालाई चलचित्र र साहित्यको संगमका रूपमा हेरिएको छ ।
चलचित्रको पटकथा लेखन आगामी सेप्टेम्बर मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पत्रकारिता, साहित्य तथा प्रेरणामूलक संवादका माध्यमबाट परिचित विजयकुमार पहिलोपटक पूर्णरूपमा चलचित्र निर्देशनमा सक्रिय हुन लाग्नुभएको छ ।
यता विपिन कार्की अभिनयसँगै निर्माण क्षेत्रमा पनि सक्रिय बन्दै जानुभएको छ । उहाँले सञ्चालन गरिरहेको लाइट वेन्डर्स प्रालिले चलचित्र निर्माणका अतिरिक्त प्राविधिक उपकरण तथा व्यवस्थापनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।
चलचित्र र पुस्तकलाई एउटै कथात्मक यात्रामा जोड्ने योजनाले यस परियोजनालाई नेपाली मनोरञ्जन क्षेत्रको बहुआयामिक र सिर्जनात्मक प्रयासका रूपमा हेरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि