काठमाडौं । सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत विभिन्न १३ मुलुकका लागि नेपाली राजदूत नियुक्ति प्रक्रिया अघि बढाएपछि अपेक्षाभन्दा बढी आकर्षण देखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका १३ देशका राजदूत पदका लागि झण्डै चार हजार आवेदन प्राप्त भएका छन् । मन्त्रालयले जनाएअनुसार करिब तीन हजार व्यक्तिबाट प्राप्त आवेदनको संख्या चार हजारको हाराहारीमा पुगेको हो ।
धेरै आवेदकहरूले एकभन्दा बढी देशका लागि आवेदन दिएका छन् भने केहीले आफूलाई १० वटासम्म मुलुकका लागि उपयुक्त उम्मेदवार रहेको दाबी गर्दै आवेदन दर्ता गराएका छन् । परराष्ट्र मन्त्रालयले गत जेठ १४ गते सूचना जारी गर्दै अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन तथा अस्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन आह्वान गरेको थियो । आवेदन दर्ता गर्ने अन्तिम मिति २०८३ जेठ २२ गते बेलुकी ५ बजेसम्म तोकिएको थियो ।
सरकारले लागू गरेको नयाँ व्यवस्थाअनुसार इच्छुक व्यक्तिले स्वयं आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । साथै कुनै व्यक्ति, संस्था वा निकायले समेत योग्य उम्मेदवारको नाम सिफारिस गर्नसक्ने प्रावधान राखिएको थियो । यसअघि राजदूत नियुक्ति मुख्यतः राजनीतिक सिफारिस र सरकारी निर्णयका आधारमा हुँदै आएको थियो ।
मन्त्रालयले तोकिएको योग्यता र मापदण्ड पूरा नगरेका तथा समयसीमा नाघेर प्राप्त भएका आवेदनहरू छनोट प्रक्रियामा समावेश नगरिने स्पष्ट पारेको छ । प्राप्त आवेदन र सिफारिसहरूको अध्ययनपछि मन्त्रालयले प्रारम्भिक सूची तयार गर्नेछ । त्यसपछि योग्यता, अनुभव तथा उपयुक्तताका आधारमा उम्मेदवारहरूको ‘सर्टलिस्ट’ तयार गरिने जनाइएको छ ।
‘सर्टलिस्ट’मा परेका उम्मेदवारहरूलाई मात्र थप मूल्यांकन तथा छनोट प्रक्रियाका लागि सम्पर्क गरिने मन्त्रालयले जनाएको छ । अन्तिम रूपमा छनोट भएका उम्मेदवारहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने र संवैधानिक तथा कानुनी प्रक्रिया पूरा भएपछि नियुक्ति गरिने अपेक्षा गरिएको छ ।
नेपाली कूटनीतिक इतिहासमै पहिलो अभ्यास
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार खुला आवेदन प्रणाली नेपाली कूटनीतिक इतिहासमै पहिलो अभ्यास हो । यसलाई पारदर्शी, प्रतिस्पर्धात्मक तथा योग्यता–आधारित नियुक्ति प्रक्रियाको सुरुवातका रूपमा हेरिएको छ । मन्त्रालयले राजदूत नियुक्तिसम्बन्धी तयार पारेको ‘टर्म्स अफ रिफरेन्स’ (टिओआर) मा राजदूत पदका लागि न्यूनतम् १५ वटा योग्यता र मापदण्ड निर्धारण गरेको छ ।
खुला प्रतिस्पर्धामार्फत योग्य तथा दक्ष जनशक्ति छनोट गरी नेपालको कूटनीतिक प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने सरकारको उद्देश्य रहेको बताइएको छ । यद्यपि, अन्तिम छनोट प्रक्रिया कति निष्पक्ष र योग्यता–आधारित हुन्छ भन्ने विषयलाई कूटनीतिक क्षेत्रका जानकारहरूले चासोका साथ हेरिरहेका छन् ।
राजदूत नियुक्तिको खुला प्रतिस्पर्धात्मक प्रणालीप्रति देखिएको उत्साहले विदेश नीति, कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा योगदान गर्न इच्छुक नेपालीहरूको संख्या उल्लेखनीय रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि