भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन आइतबार भक्तपुरको गपलीस्थित भक्तपुर पार्टी भेन्यूमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्दै व्यवसायीहरूको हकहित संरक्षण, संस्थागत सुदृढीकरण र व्यावसायिक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्मा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, संघका संस्थापक अध्यक्ष न्हुछे रत्न मानन्धरलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मल्होत्राले वर्तमान राजनीतिक स्थिरताले देशको विकास निर्माणलाई गति दिन सक्ने वातावरण सिर्जना गरेको बताउनुभयो। उहाँले अहिलेको सरकारले विकासका दीर्घकालीन योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने अवसर प्राप्त गरेको उल्लेख गर्नुभयो।
“अहिले स्थिर सरकार भएकाले देशमा विकास निर्माणका कामहरू अगाडि बढाउन सहज भएको छ। राजनीतिक स्थिरताले सरकारलाई दीर्घकालीन योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पुर्याउँछ। सरकारले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको अपेक्षाअनुसार काम गर्नुपर्छ। साथै, सबै तहका सरकारले समन्वय र सहकार्यका साथ जनहितका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ,” उहाँले भन्नुभयो।
मल्होत्राले निजी क्षेत्र देशको आर्थिक विकासको महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै उद्योग, व्यापार तथा व्यवसायको प्रवर्द्धनबिना समृद्ध अर्थतन्त्र निर्माण सम्भव नहुने बताउनुभयो। उहाँले व्यवसायीहरूलाई उत्पादन, रोजगारी सिर्जना र राजस्व संकलनमार्फत राष्ट्रिय अर्थतन्त्रमा थप योगदान गर्न आग्रह गर्नुभयो।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले व्यवसायीहरूलाई कानुनी प्रक्रिया र मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले व्यवसायिक गतिविधि र सञ्चार क्षेत्रबीचको सहकार्यले उपभोक्ता हित संरक्षण र स्वस्थ बजार प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो। त्यस्तै
संघका संस्थापक अध्यक्ष न्हुछे रत्न मानन्धरले संघको स्थापना कालदेखि हालसम्मको यात्राको चर्चा गर्दै व्यवसायीहरूको साझा हित र अधिकार संरक्षणका लागि संस्थाले निरन्तर काम गर्दै आएको बताउनुभयो।
अधिवेशनले आगामी कार्यकालका लागि चन्द्रभक्त श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। त्यसैगरी अल्बर्ट बज्राचार्य उपाध्यक्ष, बुद्धकुमार मुस्वाख्वा महासचिव, राकेश प्रजापति कोषाध्यक्ष तथा तुल्सीलाल कवे सह–कोषाध्यक्षमा चयन हुनुभएको छ। त्यस्तै कार्यसमिति सदस्यहरूमा सतेन्द्र सुकुभाटु, कुमार सपकोटा, किशोर प्रजापति, दिल रेमोन कोजु तथा उज्ज्वल गाइजु चयन हुनुभएको छ।
साधारण सभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका कार्यक्रममाथि छलफल गरिएको थियो। सहभागी व्यवसायीहरूले विद्युतीय सामग्रीको बजार व्यवस्थापन, व्यवसायिक अनुशासन, उपभोक्ता हित संरक्षण, गुणस्तरीय सामग्रीको प्रवर्द्धन तथा व्यवसायीहरूको साझा समस्याको समाधानका विषयमा धारणा राखेका थिए।
नवनिर्वाचित अध्यक्ष चन्द्रभक्त श्रेष्ठले संघलाई व्यवसायीहरूको बलियो साझा मञ्चका रूपमा विकास गर्दै व्यवसायीहरूको हकहित, क्षमता विकास र संस्थागत सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले व्यवसायीहरूबीचको एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै बदलिँदो बजारको आवश्यकता अनुसार संघलाई अघि बढाइने बताउनुभयो।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक दक्षता अभिवृद्धि, संस्थागत विकास तथा विद्युतीय सामग्री व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित आगामी कार्यदिशा तय गरेको जनाएको छ। भक्तपुरका विद्युतीय सामग्री व्यवसायीहरूको साझा संस्था रहेको संघले आगामी दिनमा व्यवसायीहरूको आवाजलाई अझ सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…