ताप्लेजुङ । पाथीभरा केबलकार परियोजनाको निर्माण कार्यलाई अबिलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ । कम्पनीका अनुसार ‘विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको र्यालीमा स्थानीयवासी, विभिन्न संघसंस्था तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरूले पाथीभरा केबलकार परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्रको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए । फुङ्लिङ बजार परिक्रमा गरेको र्याली वीरन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्था, सरोकारवाला तथा स्थानीय निकायका प्रमुख एवं प्रतिनिधिहरूले केबलकार यातायातको साधनमात्र नभई विकासको महत्तवपूर्ण पूर्वाधार भएको भन्दै निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरेका थिए ।
उनीहरूले केबलकार, जलविद्युत् र सडकजस्ता पूर्वाधारले ताप्लेजुङमात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउने भएकाले विकास निर्माणका कार्यमा अवरोध सिर्जना गर्न नहुने धारणा राखेका थिए ।
सभामा वक्ताहरूले परियोजनाको करिब ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको अवस्थामा काम रोक्नु उपयुक्त नहुने उल्लेख गर्दै निर्माण कार्य छिटो सम्पन्न हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए । दशकौँदेखि पाथीभरा देवी मन्दिरसम्म पुग्ने केबलकार परियोजनाको चर्चा भए पनि विभिन्न कारणले यसको निर्माणले मूर्त रूप लिन सकेको थिएन । केही वर्षअघि आइएमई समूहले परियोजनाको नेतृत्व लिएसँगै निर्माण कार्य अगाडि बढेको हो ।
निर्माण पक्षका अनुसार पाथीभरा केबलकार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माण कार्य स्थगन हुन सक्ने चर्चा चलिरहेका बेला परियोजनालाई निरन्तरता दिनुपर्ने मागसहित सद्भाव र्याली आयोजना गरिएको बताइएको छ ।







स्कुटर र मिनी ट्रक ठोक्किँदा
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा
आपूर्ति व्यवस्था सहज बनाउन सरकार
भोटेकोशी बाढी : एक हजार
अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको
अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ