काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको र ती संरचनाको पुनर्निर्माणका लागि पर्याप्त बजेट उपलब्ध नभएको बताउनुभएको छ।
राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले सीमावर्ती तथा संवेदनशील क्षेत्रका धेरै प्रहरी चौकी भत्किने अवस्थामा पुगेका कारण प्रहरी कर्मचारीहरू जोखिमपूर्ण वातावरणमा सेवा दिन बाध्य रहेको जानकारी दिनुभयो। कतिपय चौकी ढल्ने अवस्थामा पुगेकाले सुरक्षा र सेवा प्रवाह दुवैमा चुनौती देखिएको उहाँको भनाइ थियो।
आईजीपी कार्कीका अनुसार अस्थायी प्रहरी चौकीहरूको यकिन तथ्याङ्कसमेत पूर्ण रूपमा उपलब्ध छैन। यस्ता संरचनाको निर्माण तथा मर्मतका लागि आवश्यक बजेट अभाव रहेको उहाँले स्पष्ट पार्नुभयो। संघीय सरकार र स्थानीय तहको समन्वयमा यस्ता चौकीहरूको पुनर्निर्माण हुन सके प्रहरी कर्मचारीहरूले न्यूनतम मानवीय सुविधा प्राप्त गर्न सक्ने उहाँको अपेक्षा छ।
उहाँले भन्नुभयो, “सीमावर्ती तथा संवेदनशील क्षेत्रका चौकीहरू भत्किने अवस्थामा पुगेका छन्। चौकी नै लड्ने हो कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ। २६३ वटा स्थायी चौकी जीर्ण छन्, अस्थायी चौकीहरूको त यकिन तथ्याङ्क नै छैन। यस्ता संरचनाको सुधारका लागि बजेट आवश्यक छ।”
आईजीपी कार्कीले अस्थायी प्रहरी चौकी माग भएका स्थानमा प्रहरीलाई संवेदनशीलताका साथ परिचालन गरिएको र तत्काल आवश्यक स्थानमा सुरक्षा उपस्थिति सुनिश्चित गरिएको पनि जानकारी दिनुभयो।
यसैबीच, कर्णाली प्रदेशअन्तर्गत बाजुरा र हुम्लाको विवादित सीमा क्षेत्रमा प्रहरी चौकी निर्माणका विषयमा प्रहरी प्रधान कार्यालयबाट औपचारिक स्वीकृति वा पत्राचार नभएको उहाँले स्पष्ट पार्नुभयो। प्रदेश सरकारले बजेट विनियोजन गरे पनि औपचारिक समन्वय बिना निर्माण प्रक्रिया अघि बढाइएको पाइएको उहाँको भनाइ थियो।
उहाँका अनुसार उक्त क्षेत्रमा चौकी निर्माणको क्रममा विवाद उत्पन्न भई झडपसमेत भएको थियो। त्यसअघि पनि चरिचरणको विषयलाई लिएर दुई पक्षबीच झडप भएको र कुटपिटको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दासमेत दर्ता भएको उहाँले जानकारी दिनुभयो।
हाल विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उपस्थिति बढाइएको तथा सुरक्षा अवस्था नियन्त्रणमा राखिएको उहाँले बताउनुभयो। विवादित क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्रहरी चौकी स्थापना आवश्यक रहेको सुझाव प्राप्त भएको पनि उहाँले उल्लेख गर्नुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…