काठमाडाैं । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भुमिका खेल्नुपर्ने माग गरेको छ ।
संसद भवन परिसरमा सोमवार एमाले सांसद गुरु बरालले प्रधानमन्त्रीले दिनुभएको विवादास्पद अभिव्यक्तिको सम्बन्धमा संसद्मा उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट पार्नुभएको हो ।
सांसद बरालकाअनुसार प्रतिपक्षले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कि त पुष्टि हुनुपर्ने कि त सच्चाइनुपर्ने मागलाई आफ्नो मुख्य शर्त बनाएको छ । संसदको समय बहुमूल्य रहेको र विनियोजन विधेयकका विभिन्न विषयमा छलफल गर्नुपर्ने जिम्मेवारीप्रति प्रतिपक्ष सचेत रहेको उल्लेख गर्दै उहाँले देशको सीमाना र राष्ट्रियतासँग जोडिएका गम्भीर विषयमा सरकार मौन बस्न नहुने बताउनु भयो । परराष्ट्रमन्त्री र अन्य दलका नेताहरू विदेश भ्रमणबाट फर्किसक्दा समेत प्रधानमन्त्रीले आफ्नो भूल स्वीकार नगरेको वा अभिव्यक्तिको पुष्टि नगरेका कारण संसद् अवरुद्ध हुन पुगेको उहाँको तर्क छ । बिहान बसेको सर्वदलीय बैठक र प्रमुख सचेतकहरूको संयुक्त बैठकमा समेत एमालेले सोही धारणा राखेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी संसदलाई निरन्तर अगाडि बढाउन चाहन्छौँ, विनियोजन विधेयकमाथि छलफल गर्नुपर्ने प्राथमिकता पनि हामीलाई बोध छ । तर देशको भूमि र सार्वभौमसत्तासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो ।’
सत्तापक्षले प्रतिपक्षका कारण जनताका मुद्दा ओझेलमा परेको भनी लगाएको आरोपको खण्डन गर्दै बरालले सरकार आफैँ गैरजिम्मेवार बनेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर निकास दिनुको साटो प्रतिपक्षलाई आरोपित गर्नु सरकारको लाचारी भएको उहाँको भनाइ छ । प्रधानमन्त्रीले संसद्मा आएर जवाफ नदिएसम्म सदनको गतिरोध कायमै रहने संकेत उहाँले गर्नुभएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि