काठमाडौँ । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
उहाँले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल शुल्क संकलन गर्ने कम्पनीसँग सम्झौता भइसकेको र हाल तालिम तथा अन्य प्राविधिक तयारी भइरहेको जानकारी दिनुभयो। सुरुङभित्र उद्धार प्रणाली, आपतकालीन व्यवस्थापन, प्रकाश तथा भेन्टिलेसन प्रणालीको परीक्षण र सञ्चालनसम्बन्धी काम तीव्र रूपमा अघि बढाइएको उहाँको भनाइ छ।
सुरुङमार्ग चौबिसै घण्टा सञ्चालन गर्न करिब १५० जना कर्मचारी नियुक्त गरिएको छ। उनीहरूलाई सिफ्टका आधारमा परिचालन गरिनेछ।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको जानकारी दिनुभयो।
सुरुङमार्गको सञ्चालन तथा मर्मतसम्भारका लागि आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबीच पाँच वर्षका लागि सम्झौता भइसकेको छ। कम्पनीले सुरुङको सिभिल, मेकानिकल, इलेक्ट्रिकल तथा सुरक्षा प्रणालीको नियमित सञ्चालन र मर्मतको जिम्मेवारी सम्हाल्नेछ।
मुख्य सुरुङको लम्बाइ २ हजार ६८८ मिटर र आपतकालीन सुरुङको लम्बाइ २ हजार ५५७ मिटर रहेको छ। आयोजनाका अनुसार दैनिक करिब ८ हजार सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।
दैनिक अनुमानित सवारी चापका आधारमा वार्षिक करिब ३५ करोड रुपैयाँ टोल शुल्क संकलन हुने अपेक्षा गरिएको छ। त्यसमध्ये वार्षिक २२ करोड रुपैयाँ सेवा प्रदायक कम्पनीलाई उपलब्ध गराइनेछ। टोल संकलनका लागि आवश्यक आधुनिक प्राविधिक उपकरण जडान भइसकेका छन् र संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ।
समितिको बैठकमा सांसदहरूले निर्माण सम्पन्न भइसकेको आयोजनालाई थप ढिलाइ नगरी शीघ्र सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन्। साथै, सुरुङमार्ग निर्माणका क्रममा प्राप्त प्राविधिक सीप र अनुभवलाई अन्य पूर्वाधार आयोजनामा पनि उपयोग गर्न तथा दक्ष र अर्धदक्ष श्रमिकको क्षमताको उचित उपयोग गर्न सुझाव दिएका छन्।
कोभिड–१९ महामारी, प्राकृतिक विपद् तथा अन्य कारणले निर्माणमा केही ढिलाइ भए पनि अब आयोजना सञ्चालनमा कुनै विलम्ब नगर्न सांसदहरूले जोड दिएका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी