काठमाडौं । झण्डै दुईतिहाइ बहुमतको शक्तिशाली सरकार र सानो संख्यामा रहेका विपक्षी दलहरूबीच अविश्वास झन्/झन् बढ्दै गएको छ । सदनमा सरकार र विपक्षीबीच टकरावको स्थिति छ । संसद्मा उपस्थिति र सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका छन् । विपक्षी दलको अवरोधका कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि छलफल हुन सकेको छैन । विपक्षी दलहरूले सरकारको कार्यशैलीको चर्को आलोचना गरिरहेका छन् ।
स्वयं प्रधानमन्त्री तथा मन्त्रीहरूका विवादित अभिव्यक्ति र कार्यशैली सरकारविरुद्ध विपक्षको लागि मसला बनिरहेको छ । सत्ता र विपक्षीबीच द्वन्द्व बढ्दै जाँदा सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिपक्ष दलहरूलाई विश्वासमा ल्याउने प्रयास सुरु गरेको छ । यहीबीचमा सरकारको नेतृत्व गरिरहेको दल रास्वपाका सभापति रवि लामिछानेले भारतको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । भ्रमणको क्रममा नयाँदिल्लीमा पाएको उच्च सम्मानले उत्साही हुनुभएका सभापति लामिछानेले सत्ता र विपक्षीबीच बढ्दै गएको दूरी कम गर्ने प्रयास गर्नुभएको हो ।
विश्वासको संकट कम गर्ने उद्देश्यले रास्वपा सभापति लामिछानेले सोमबार सर्वदलीय बैठक आयोजना गर्नुभयो । २१ फागुनको निर्वाचनमा झण्डै दुईतिहाइ बहुमतसहित सरकार चलाइरहेको रास्वपाले सर्वदलीय बैठक बोलाएको यो पहिलो पटक हो । बैठकको सुरुमै सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । बैठकमा सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरु गरेकोमा स्वागत गरेका थिए । साथै, उनीहरूले वैदेशिक सम्बन्धका सन्दर्भमा अपरिपक्व व्यवहार नदेखाउन पनि आग्रह गरेका थिए । प्रतिपक्षी दलहरू कमजोर छन् भन्दैमा संविधानको व्यवस्थालाई अनदेखा नगर्न पनि सरकार र सरकारको नेतृत्व गरिरहेको दल रास्वपालाई सुझाव दिएका छन् । बैठकमा संसद्को गतिरोध अन्त्यको विषयले पनि प्राथमिकता पाएको थियो । तर, सत्ता र विपक्षी आ–आफ्नै अडानमा रहेपछि सर्वदलीय बैठक निष्कर्षमा भने पुग्न सकेन ।
रविलाई एमालेको प्रश्न- ‘प्रधानमन्त्रीको अभिव्यक्ति र तपाईंको भारत भ्रमणबीच तादाम्यता थियो ?’
विपक्षी दल नेकपा एमालेले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबीच कुनै तादाम्यता थियो वा थिएन ? भनेर प्रश्न गरेको छ । सोमबार बसेको सर्वदलीय बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको अभिव्यक्ति र लामिछानेको भ्रमणबारे प्रश्न उठाउनुभएको हो । १७ गते प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भनेर अभिव्यक्ति दिने र १८ गते रास्वपा सभापति भारत जानुमा कुनै ट्युनिङ थियो कि थिएन ? भनेर बैठकमा कुरा राखेको जानकारी दिँदै महरले भन्नुभयो, ‘भारतले हालै पनि सीमा मिचिरहेको छ । सुस्तामा एसएसबीले तटबन्ध रोकेको छ । यसबारेमा छलफल भयो कि भएन ? भनेर सभापति लामिछानेलाई सोध्यौँ, तर स्पष्ट जवाफ आएन ।’ सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएकाले त्यसलाई स्पष्ट पार्न प्रधानमन्त्री नै संसद्मा आउनुपर्ने आफूहरूले अडान कायमै रहेको स्पष्ट पार्दै महरले भन्नुभयो, ‘प्रधानमन्त्रीको अभिव्यक्ति देशसँग जोडिएको विषय हो । यो रेकर्ड संसद्बाट मेटाउनुपर्छ भनेपछि सभापति लामिछानेले पहिले दलमा छलफल गर्ने र सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिनेबारे जानकारी गराउनुभयो ।’ सर्वदलीय बैठकमा एमालेले नेपाल भारतबीच सन्धि सम्झौतादेखि सम्बन्धको सबै पक्षमा छलफल गर्न गठित विज्ञहरू सम्मिलित ‘प्रबुद्ध व्यक्ति समूह’ (इपिजी) को प्रतिवेदनको विषय उठाएको छ ।
रास्वपालाई लिङ्देनको सुझाव- ‘वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्’
विपक्षी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारूढ दल रास्वपालाई सुझाव दिनुभएको छ । सर्वदलीय बैठकमा सहभागी अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘यो सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरू गरियोस् । चाहे प्रधानमन्त्रीले सीमा सम्बन्धमा अस्ति संसद्मा दिनुभएको मन्तव्य होस् । अथवा रास्वपाका सभापतिले भारतमा गएर हामीले विगतको भारी बोक्दैनौँ भन्नुभएको कुरा होस् । विगतको भारी बोक्दैनौँ भन्नुको अर्थ त विगतमा सबै नराम्रा भएका थिए ?’ विगतको भारी बोक्दैनौँ भन्नुको अर्थ विगतमा लिपुलेक लगायतका भूभाग नक्सामा समावेश गर्नु पनि गलत थियो भन्ने अर्थ लाग्ने उहाँको भनाइ छ । अध्यक्ष लिङ्देनले रास्वपा सरकारका प्रारम्भिक संकेत राम्रो नभएको पनि टिप्पणी गर्नुभएको छ ।
अहिले प्रधानमन्त्री सदनमा आउन सक्नुहुन्न : सभापति लामिछाने
सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछानेले नेपाल-भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाफ दिन संसद्मा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनुभएको छ । सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसद्मा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने बताउनुभएको हो । बैठकमा सभापति लामिछानेले भन्नुभयो, ‘सदनमा परराष्ट्रमन्त्रीजीले जवाफ दिनुहुन्छ । परराष्ट्रमन्त्रीले जवाफ दिएपछि आवश्यकता पर्यो भने मैले पनि जवाफ दिन्छु । तर, अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न ।’ तर, विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका थिए ।
भारत भ्रमणबारे जानकारी
सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराउनुभएको छ । सोमबार सिंहदरबारमा सर्वदलीय बैठक राखेर लामिछानेले भ्रमणबारे जानकारी गराउनुभएको हो । बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सभापति राजेन्द्र लिङ्देनले भन्नुभयो, ‘उहाँ (रवि लामिछाने)ले आफ्नो भारत भ्रमणको बारेमा दलहरूलाई जानकारी गराउनुभयो ।’ अध्यक्ष लिङ्देनका अनुसार रास्वपालाई परिपक्व व्यवहार देखाउन पनि सुझाव दिएको जानकारी दिँदै भन्नुभयो, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरू देखाउनुभएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ ।’ लामिछानेले यही जेठ १८ गतेदेखि पाँचदिने भारत भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
चार दलका शीर्ष नेता अनुपस्थित
संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा चार दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । सोमबारको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलमध्ये चार दलका नेतृत्वकर्ता बैठकमा अनुपस्थित भएका हुन् । बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी नभएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी हुनुभएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनसहित सहभागी थिए ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी