काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशभर सञ्चालन गरेको जिल्ला अधिवेशनअन्तर्गत हालसम्म ५६ जिल्लाको प्रक्रिया सम्पन्न गरेको जनाएको छ । बाँकी जिल्लामा विभिन्न कारणले रोकिएका अधिवेशन तथा निर्वाचन प्रक्रिया पनि क्रमशः अगाडि बढाइने तयारी भइरहेको पार्टीले जानकारी दिएको छ ।
रास्वपाका केन्द्रीय निर्वाचन विभाग प्रमुख भुवन केसीका अनुसार हाल १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको छ भने केही जिल्लामा प्राविधिक कारणले अधिवेशन सुरु हुन बाँकी रहेको छ। पार्टीले जेठ २३ गतेदेखि केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सुरु गरेको थियो । जिल्ला अधिवेशन सम्पन्न भएसँगै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन पनि प्रारम्भ हुने कार्यक्रम रहेको बताइएको छ ।
पार्टीका प्रवक्ता मनीष झाले हालसम्म सम्पन्न भएका ५६ जिल्ला अधिवेशनमध्ये अधिकांशमा नयाँ नेतृत्व चयन भइसकेको र केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी मधेस प्रदेशका केही जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी रहेको छ ।
रास्वपाका अनुसार कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा अधिवेशन सम्पन्न भइसकेको छ भने उदयपुरमा निर्वाचन प्रक्रिया जारी छ ।
यस्तै, मधेस प्रदेशका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा निर्वाचन सम्पन्न भएको छ। धनुषा, सप्तरी र बारामा मतदानको कार्यतालिका तय गरिएको पार्टीले जनाएको छ ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुली, धादिङ, रामेछाप, चितवन, रसुवा र ललितपुरमा अधिवेशन सम्पन्न भएको छ भने सिन्धुपाल्चोकको अधिवेशन स्थगित गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ, गोरखा र बाग्लुङमा अधिवेशन सम्पन्न भइसकेको छ। नवलपुर र बाग्लुङका केही स्थानमा निर्वाचन प्रक्रिया सुरु हुन बाँकी रहेको जनाइएको छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको रास्वपाले जनाएको छ। गुल्मी, नवलपरासी (पश्चिम), पाल्पा, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देहीसहितका जिल्लामा अधिवेशन सकिएको छ। सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने पहिलो प्रदेशका रूपमा लुम्बिनी रहेको पार्टीले उल्लेख गरेको छ ।
कर्णाली प्रदेशका कालिकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सम्पन्न भएको छ। सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया जारी छ भने डोल्पा, हुम्ला र रुकुम पूर्वमा अधिवेशन हुन बाँकी छ ।
सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरा, अछाम, दार्चुला, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको छ। डोटी र बाजुरामा पुनः निर्वाचन गरिने तयारी गरिएको छ । हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने हालसम्म जिल्ला अधिवेशन हुन सकेको छैन ।
रास्वपाले वडा र पालिका तहको अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशनमार्फत संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई थप तीव्रता दिएको जनाएको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवनमा आयोजना हुने कार्यतालिका तय भइसकेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी