काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मनसुन सुरु भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेकाले सबैले समयमै पूर्वतयारी गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार विशेषगरी तराईका जिल्लाहरूमा लूको जोखिम न्यूनीकरणका लागि सरकारले सम्बन्धित निकायहरूसँग समन्वयात्मक रूपमा काम गरिरहेको छ ।
उहाँले अत्यधिक गर्मी हुने दिउँसोको समयमा सकेसम्म बाहिरी काम नगरी बिहान वा साँझको समयमा गर्न, प्रशस्त पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र पर्याप्त आराम गर्न सुझाव दिनुभयो। उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
तापलहर (लू) भनेको के हो ?
तापलहर वा लू लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आर्द्रतासँगै देखिने गर्छ। कुनै क्षेत्रको औसत तापक्रमभन्दा उल्लेख्य रूपमा तापक्रम बढेमा त्यसलाई तापलहरको अवस्था मानिन्छ। जलवायु परिवर्तनका कारण विश्वभर यसको जोखिम बढ्दै गएको विज्ञहरूले बताउँदै आएका छन्।
लू लाग्नुका प्रमुख कारण
- जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम
- अव्यवस्थित सहरीकरण
- कंक्रिटका भवन तथा सडकबाट ताप सञ्चय हुनु
- वन फँडानीका कारण प्राकृतिक चिसोपनमा कमी आउनु
तापलहरका प्रमुख लक्षण
- अत्यधिक तिर्खा लाग्नु र शरीरमा पानीको कमी हुनु
- मुख सुक्नु, थकान र कमजोरी महसुस हुनु
- रिङ्गटा लाग्नु तथा अत्यधिक पसिना आउनु
- शरीरको तापक्रम अस्वाभाविक रूपमा बढ्नु
- अन्योल हुनु वा बेहोस हुन सक्नु
- मुटुको धड्कन बढ्नु तथा छातीमा असहजता महसुस हुनु
जोगिन अपनाउनुपर्ने सावधानी
- अत्यधिक गर्मी हुने समयमा घरबाहिर ननिस्कने
- हल्का तथा खुकुलो कपडा लगाउने
- चिसो वा छायाँ भएको स्थानमा बस्ने
- सम्भव भए पङ्खा वा एयर कन्डिसनरको प्रयोग गर्ने
- पर्याप्त मात्रामा पानी र झोलिलो खानेकुरा सेवन गर्ने
- हल्का तथा पौष्टिक भोजन गर्ने
- चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने
- रक्तचाप तथा मधुमेहजस्ता दीर्घरोगको नियमित निगरानी गर्ने
- अत्यधिक शारीरिक श्रमबाट बच्ने
मन्त्रालयले बढ्दो तापक्रमलाई मध्यनजर गर्दै नागरिकलाई आफ्नो दैनिकी मौसमअनुकूल बनाउन र स्वास्थ्यमा कुनै समस्या देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थाको सम्पर्कमा जान आग्रह गरेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी