काठमाडाैं । संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटमा आफ्ना मागहरू सम्बोधन नगरिएको भन्दै विरोध प्रदर्शन गरेको छ । लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा-सुविधासम्बन्धी माग उठाउँदै आएका शिक्षकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदर्शनमा सहभागी शिक्षकहरूले २०७८, २०८० र २०८२ सालमा सरकारसँग भएका विभिन्न सहमति तथा संघीय शिक्षा ऐनको निर्णयार्थ पेश गरिएको मस्यौदामा उल्लेख व्यवस्थापनसम्बन्धी प्रावधानहरू कार्यान्वयन नगरी बेवास्ता गरिएको आरोप लगाए । उनीहरूले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै सरकार अनुदान शिक्षकका मागप्रति उदासीन रहेको बताएका छन् ।
समितिकाअनुसार देशभर करिब ११ हजार संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरूले माध्यमिक तथा आधारभूत तहमा अंग्रेजी, गणित र विज्ञानजस्ता विषय अध्यापन गर्दै आएका छन् । बजेट वक्तव्यमा सम्मानजनक तलबवृद्धि, महँगी भत्ता तथा प्रोत्साहन भत्तालगायतका माग स्पष्ट रूपमा समावेश नगरिएको भन्दै शिक्षकहरूले विरोध जनाएका हुन् ।
माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने तथा सामूहिक राजीनामासमेत दिन बाध्य हुने चेतावनी शिक्षकहरूले दिएका छन् ।
यसअघि उनीहरूले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणमा विद्यालय पोसाक, परिचयपत्र, नियुक्तिपत्र, विशेष नियुक्तिपत्र तथा मार्कर पेनसहित प्रदर्शन गरेका थिए । समितिले सरकारसँग भएका सहमति कार्यान्वयन गर्दै पेशागत सुरक्षा र सेवा-सुविधाको सुनिश्चितता गर्न माग गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि