हेटौंडा । हेटौँडामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि सुरु गरिएको मतदान प्रक्रिया विवादका कारण अवरुद्ध भएको छ। मतदान प्रारम्भ भएको केही समयमै प्रतिनिधिहरूबीच मतदाता नामावली र उम्मेदवार सूचीलाई लिएर असन्तुष्टि चुलिएपछि निर्वाचन प्रक्रिया रोकिएको हो।
मंगलबार राति करिब १:३० बजे हेटौँडा-१ स्थित हिमालयन दरबारमा मतदान सुरु गरिएको थियो । निर्वाचन समितिकाअनुसार पाँच जनाले मात्र मतदान गरेपछि विभिन्न विषयमा उठेका आपत्तिका कारण प्रक्रिया स्थगित गर्नुपरेको अवस्था सिर्जना भयो।
प्रतिनिधिहरूले विशेषगरी भक्तपुर जिल्लासम्बन्धी मतदाता नामावली र उम्मेदवारको विवरणमा स्पष्टता नदेखिएको भन्दै विरोध जनाएका थिए। निर्वाचन क्षेत्र तथा क्लस्टरअनुसार उम्मेदवारको सूचीमा त्रुटि रहेको दाबी गर्दै उनीहरूले निर्वाचन समितिसमक्ष गुनासो गरेका थिए।
विवाद बढ्दै जाँदा अधिवेशनस्थलमा नाराबाजी र होहल्लासमेत भएको थियो। केही प्रतिनिधिले मतपत्रसमेत च्यातिएको आरोप लगाएका छन्। स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि निर्वाचन समितिले मतदान कार्यक्रम बुधबार बिहानसम्मका लागि स्थगित गरेको थियो।
यद्यपि बुधबार बिहानसम्म पनि मतदान प्रक्रिया पुनः सञ्चालन हुन सकेको छैन। अधिवेशनस्थलमा आयोजक तथा निर्वाचन समितिका जिम्मेवार पदाधिकारीहरू अनुपस्थित रहेको भन्दै प्रतिनिधिहरूले व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिहरूकाअनुसार निर्वाचनसम्बन्धी तयारी पर्याप्त नहुँदा रातभर अधिवेशनस्थलमै बस्नुपर्ने अवस्था आएको छ । व्यवस्थापनको कमजोरीले अधिवेशनको निर्धारित कार्यतालिका नै प्रभावित बनेको उनीहरूको आरोप छ ।
यस अधिवेशनबाट ६५ सदस्यीय बागमती प्रदेश कार्यसमिति चयन गरिनेछ। सभापति पदका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर (एचबी) खत्री प्रतिस्पर्धामा छन्। प्रारम्भिक रूपमा पाँच जना उम्मेदवार रहे पनि बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चार जनाबीच प्रतिस्पर्धा हुने भएको हो ।
निर्वाचन अवरुद्ध भएपछि पार्टी नेतृत्व, आयोजक समिति र निर्वाचन समितिबीच समस्या समाधान गरी मतदान पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । रास्वपाले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको हो, जहाँ १३ जिल्लाका प्रतिनिधिहरू नयाँ नेतृत्व चयनका लागि सहभागी भएका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी