प्यूठान । नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय सुरु गर्दै बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले प्यूठानको दरिमचौरस्थित झिमरुक जलविद्युत् आयोजनामा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ । स्वच्छ र नवीकरणीय ऊर्जाको भविष्यका रूपमा हेरिएको हरित हाइड्रोजन उत्पादनतर्फ नेपालले पहिलो व्यावहारिक कदम चालेको हो ।
१२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् आयोजनाको परिसरमा स्थापित यो परियोजनाले जलविद्युत्बाट उत्पादित विद्युत् प्रयोग गरी ‘इलेक्ट्रोलाइसिस’ प्रविधिमार्फत हरित हाइड्रोजन उत्पादन गर्नेछ । परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारअन्तर्गतको एफसीडीओ (FCDO) को आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो ।
परियोजनाको उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विश्व बैंक, एफसीडीओ तथा ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
बीपीसीले जडान गरेको ५० किलोवाट क्षमताको क्षारीय (Alkaline) इलेक्ट्रोलाइजर प्रणालीले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्न सक्नेछ । उत्पादित हाइड्रोजनलाई १५० बार दबाबमा सिलिण्डरमा भण्डारण गरी विभिन्न प्रयोग तथा अध्ययनका लागि उपयोग गरिनेछ ।
बीपीसीकाअनुसार प्लान्ट १३ अप्रिल २०२६ मा सफलतापूर्वक सञ्चालनमा आएको थियो र सोही दिन पहिलो हाइड्रोजन सिलिण्डर भर्ने कार्य सम्पन्न गरिएको थियो । परियोजनाको निर्माण चीनको CPU Hydrogen Power Technology Co. Ltd. ले गरेको हो ।
हरित हाइड्रोजनलाई विश्वभर न्यून-कार्बन अर्थतन्त्रतर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा स्रोतका रूपमा लिइन्छ । यसलाई यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणमा प्रयोग गर्न सकिने भएकाले कार्बन उत्सर्जन घटाउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
बीपीसीले यो परियोजनाबाट हाइड्रोजन उत्पादन, भण्डारण, सुरक्षा, सञ्चालन, आर्थिक व्यवहार्यता तथा नेपालमा यसको सम्भावित प्रयोगका क्षेत्रबारे महत्वपूर्ण अनुभव प्राप्त हुने जनाएको छ ।
प्रचुर जलविद्युत् सम्भावना भएको नेपालले अतिरिक्त विद्युत्लाई हरित हाइड्रोजनमा रूपान्तरण गरी घरेलु प्रयोग, औद्योगिक उत्पादन, यातायात तथा सम्भावित निर्यात बजारमा उपयोग गर्न सक्ने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।
बीपीसीले यो परियोजनालाई नेपालको स्वच्छ ऊर्जा भविष्यतर्फको महत्वपूर्ण सुरुआती कदमका रूपमा व्याख्या गर्दै आगामी दिनमा हरित हाइड्रोजनको व्यावसायिक सम्भाव्यता अध्ययन तथा विस्तारका लागि मार्गनिर्देशक बन्ने विश्वास व्यक्त गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी