काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर जारी संसद अवरोध अन्त्य गर्ने संकेत गरेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा लामो समय संसद अल्झिन नहुने धारणा राख्नुभयो।
उहाँले संसदको रोष्ट्रममा उभिएर बोल्दै प्रधानमन्त्रीलाई आवश्यक परे पनि संसदलाई अनावश्यक रूपमा बन्धक बनाउन नहुने बताउनुभयो। उहाँले प्रधानमन्त्री स्वयंलाई खोज्नेभन्दा पनि मुलुकका प्राथमिक मुद्दामा ध्यान दिनुपर्ने उल्लेख गर्दै भने, “प्रधानमन्त्री फेरि कुनै दिन छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर लाग्न थालेको छ। त्यसैले म अब उहाँलाई खोज्न चाहन्न।”
आङ्देम्बेले राष्ट्रियतासम्बन्धी विषयमा कवि गोपाल योञ्जनको गीत उद्धृत गर्दै आफ्नो धारणा व्यक्त गर्नुभयो। उहाँले नेपालले भारतको जमिन नमिचेको दाबी गर्दै उल्टै विभिन्न तथ्यले भारतले नेपालको भूमि मिचेको देखिने टिप्पणी गर्नुभयो।
प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको विषयलाई लिएर विपक्षी दलहरूले प्रश्न उठाएपछि संसद अवरुद्ध भएको थियो। उक्त अभिव्यक्तिपछि सदन लामो समयदेखि बन्धक बनेको भन्दै अब अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कांग्रेस नेताहरूले बताएका छन्।
यसैबीच परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा सदनलाई स्पष्टिकरण दिँदै सीमा विवादलाई “क्रस बोर्डर अकुपेशन” सँग सम्बन्धित रूपमा बुझ्नुपर्ने बताउनुभएको छ। उहाँले लिपुलेक हुँदै भारतले मानसरोवर यात्रा सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारले कूटनीतिक नोट पठाइसकेको र भारतबाट जवाफ पनि प्राप्त भएको जानकारी दिनुभयो।
परराष्ट्रमन्त्री खनालका अनुसार नक्सांकन हुन बाँकी क्षेत्र बाहेक दशगजा क्षेत्रमा अतिक्रमणका समस्या रहेको उल्लेख गर्दै सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सीमा सम्बन्धी विषयमा तेस्रो मुलुकको संलग्नता नखोजिएको स्पष्ट पार्दै प्रमाण संकलनका क्रममा भएका संवादलाई प्रधानमन्त्रीले सदनमा उल्लेख गरेको जानकारी दिनुभयो।
कांग्रेसको पछिल्लो संकेतसँगै लामो समयदेखि अवरुद्ध संसद अब सामान्य अवस्थामा फर्कने सम्भावना बढेको छ।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि