काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सत्तापक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको भन्ने विषयलाई पुष्टि गर्न “न्वारनदेखिको बल लगाएर” प्रयास गरिरहेको भन्दै आपत्ति जनाउनुभयो।
उहाँले नेपालले कुनै पनि देशको सीमा मिचेको छैन भन्ने विषयमा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै यस्तो व्यवहार जनताले रुचाउने खालको नभएको बताउनुभयो। यस्ता गतिविधिले वीर भक्ति थापाको आत्माले पनि धिक्कार्ने उहाँको टिप्पणी थियो।
नेता आङदेम्बेले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको विषयमा कुनै विवाद नरहेको भन्दै यसको समाधान आवेश र उत्तेजनाबाट नभई कूटनीतिक संवादमार्फत गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “दुनियाँलाई थाहा छ, लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो। यो विषयको समाधान गहन कूटनीतिक संवादबाट हुनुपर्छ। हामी पक्ष–प्रतिपक्ष सबै सरकारसँगै छौँ।”
उहाँले सरकार र सत्तारुढ दलको व्यवहार यो गम्भीर विषयमा जिम्मेवार नदेखिएको टिप्पणी गर्दै संसदको भूमिका कमजोर हुँदै गएको बताउनुभयो। अघिल्लो संसदको अभ्यास स्मरण गर्दै उहाँले दलहरूभित्र पनि आफ्ना सरकारविरुद्ध प्रश्न उठाउने परम्परा रहेको उल्लेख गर्नुभयो।
आङदेम्बेले नेपाली कांग्रेस “लास र दासको पार्टी होइन” भन्दै आफ्नै नेतृत्वको सरकार भए पनि आवश्यक विषयमा प्रश्न उठाउने परम्परा रहेको दाबी गर्नुभयो।
उहाँले अहिले संसदमा प्रश्न गर्ने संस्कृतिमै संकट देखिएको टिप्पणी गर्दै “प्रश्न गर्ने क्षमताको आत्महत्या भइरहेको” जस्तो अवस्था देखिएको बताउनुभयो। साथै, सत्ता पक्षका केही सांसदहरू नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्नतर्फ केन्द्रित भएको भन्दै त्यसप्रति पनि आपत्ति जनाउनुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि