काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनुभएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको वक्तव्यको बचाउ वा व्याख्या परराष्ट्रमन्त्रीले गर्न नहुने भन्दै प्रधानमन्त्री स्वयं नै रोष्टममा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो।
उहाँले प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र अवहेलना गरेको आरोप लगाउँदै यसले स्वेच्छाचारिता वा अधिनायकवादी प्रवृत्तिको संकेत गरेको टिप्पणी गर्नुभयो। साथै प्रधानमन्त्रीले मुलुकलाई कुन दिशातर्फ लैजान खोजिएको हो भन्ने गम्भीर प्रश्न उठेको उहाँको भनाइ थियो।
नेता ‘बादल’ले एक सांसदको भनाइ उद्धृत गर्दै नेपाल कतै “पाकिस्तानी मोडेल” तर्फ उन्मुख भइरहेको हो कि भन्ने आशंका पनि सार्वजनिक बहसमा आएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “परराष्ट्रमन्त्रीज्युले प्रधानमन्त्रीको वक्तव्यको बचाउ गर्दै स्पष्टीकरण दिनुभयो, तर त्यो स्वीकार्य छैन। त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ किन निरन्तर रूपमा रोष्टम र संसदको उपेक्षा गरिरहनुभएको छ भन्ने प्रश्न उठेको छ।”
उहाँले संसदको गतिरोध समाधानका लागि तीन सर्त अघि सार्नुभएको छ— प्रधानमन्त्री स्वयं रोष्टममा आएर आफ्नो अभिव्यक्ति सच्याउने, सभामुखले विवादित अभिव्यक्ति अभिलेखबाट हटाउने रुलिङ गर्ने, र रास्वपा सभापतिले आफ्ना सदस्यलाई आवश्यक निर्देशन दिने।
उहाँका अनुसार यी तीनमध्ये कुनै एक वा सबै प्रक्रिया पूरा नभएसम्म संसदको गतिरोध अन्त्य हुन नसक्ने स्थिति रहेको छ।
नेता ‘बादल’ले यी मागहरू पूरा नभएसम्म राष्ट्रिय स्वाभिमान र देशको गरिमाका लागि आफ्नो दलको संघर्ष जारी रहने पनि स्पष्ट पार्नुभएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी