काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको लोकतान्त्रिक इतिहासमा नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सन् २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएका मोदीले बुधबार आफ्नो निर्वाचित प्रधानमन्त्रीका रूपमा चार हजार ३९९ दिनको कार्यकाल पूरा गर्दै पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा रहेको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहको रेकर्ड उछिन्नु भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मोदीले लगातार तेस्रो कार्यकालमा रहँदै यो उपलब्धि हासिल गर्नुभएको हो । यसअघि यो रेकर्ड भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा रहेको थियो । नेहरूले निर्वाचित प्रधानमन्त्रीका रूपमा लगातार चार हजार ३९८ दिन पद सम्हाल्नुभएको थियो ।
भारत स्वतन्त्र भएपछि १५ अगष्ट १९४७ मा नेहरू प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । स्वतन्त्रतापछिको अन्तरिम व्यवस्थाअन्तर्गत उहाँले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि सन् १९५२ मा भारतमा पहिलो आमनिर्वाचन सम्पन्न भयो । निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेस विजयी भएपछि संसदीय दलले नेहरूलाई आफ्नो नेता चयन गरेको थियो । त्यसपछिको १३ मे १९५२ देखि २७ मे १९६४ सम्मको अवधिमा नेहरूले निर्वाचित प्रधानमन्त्रीका रूपमा लगातार चार हजार ३९८ दिन सेवा गर्नुभएको थियो ।
मोदीले भने सन् २०१४ को आमनिर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) लाई स्पष्ट बहुमत दिलाउँदै पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि सन् २०१९ र २०२४ को आम निर्वाचनपछि पनि उहाँ पुनः प्रधानमन्त्री बन्नुभयो । यससँगै उहाँ लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने भारतका थोरै नेतामध्ये एक बन्नुभएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार मोदीको यो उपलब्धिले भारतीय राजनीतिमा उहाँको प्रभाव, लोकप्रियता र नेतृत्व क्षमताको संकेत गर्छ । पछिल्लो एक दशकमा भारतको आर्थिक विकास, पूर्वाधार विस्तार, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय कूटनीतिक सक्रियता तथा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रमहरूलाई केन्द्रमा राखेर मोदी सरकारले आफ्नो राजनीतिक आधार मजबुत बनाएको विश्लेषण गरिन्छ ।
रेकर्ड कायम गरेको अवसरमा प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया जनाउनुभएको छ । उहाँले सार्वजनिक सेवालाई सुशासनको सबैभन्दा ठूलो परीक्षा भएको उल्लेख गर्दै जनताको विश्वास जित्न निरन्तर समर्पण, निष्ठा र मिहिनेत आवश्यक हुने बताउनुभएको छ ।
मोदीले आफ्नो सन्देशमा लेख्नुभएको छ, ‘सार्वजनिक सेवा सुशासनको सबैभन्दा ठूलो परीक्षा हो । नम्रता, समर्पण र भक्तिका साथ निरन्तर काम गर्ने व्यक्तिले मात्र जनताको विश्वास कमाउन सक्छ ।’
यसअघि पनि उहाँले आफ्नो नेतृत्वमा रहेको भाजपा सरकारको १२ वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्नुभएको थियो । उक्त सन्देशमा उहाँले राष्ट्र निर्माणका लागि समर्पण र सेवाभावलाई सरकारको मुख्य शक्ति भएको उल्लेख गर्दै ‘सबका साथ, सबका विकास’ को अवधारणा अनुसार भारतलाई थप बलियो, समृद्ध र आत्मनिर्भर बनाउने दिशामा सरकार अघि बढिरहेको बताउनुभएको थियो ।
मोदीको नेतृत्वमा भारतले पछिल्ला वर्षहरूमा जी-२० शिखर सम्मेलनको सफल आयोजना, डिजिटल भुक्तानी प्रणालीको विस्तार, अन्तरिक्ष अनुसन्धानमा उपलब्धि तथा विश्व कूटनीतिमा बढ्दो सक्रियता जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दाबी सरकारको छ । यद्यपि विपक्षी दलहरूले बेरोजगारी, महँगी, सामाजिक ध्रुवीकरण तथा लोकतान्त्रिक संस्थामाथिको दबाब जस्ता विषयमा सरकारको आलोचना गर्दै आएका छन् ।
मोदीले नेहरूको रेकर्ड तोडेसँगै भारतीय राजनीतिक इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीका रूपमा आफ्नो नाम दर्ज गराउनुभएको छ । आगामी दिनमा उहाँको कार्यकाल अझै लम्बिने भएकाले यो रेकर्ड थप विस्तार हुने सम्भावना पनि रहेको राजनीतिक वृत्तमा चर्चा गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी