न्युयोर्क । लियोनेल मेसी र अर्जेन्टिना विश्वकप २०२६ का लागि उत्तर अमेरिका भ्रमणमा रहँदा एउटा सुनौलो लक्ष्यका लागि मैदान उत्रिनेछन् । त्यो हो, विश्वकप इतिहासको पछिल्लो ६ दशकमा पहिलो पटक लगातार च्याम्पियन हुने । फिफा विश्वकपको ९६ वर्ष लामो इतिहासमा अहिलेसम्म लगातार उपाधि जित्ने सफलता दुई पटक दुई टोलीले मात्र हासिल गरेका छन् । चार पटकको च्याम्पियन इटालीले सन् १९३४ र १९३८ को विश्वकपमा लगातार उपाधि जितेको थियो । त्यसपछि ब्राजिलले सन् १९५८ र १९६२ को विश्वकपमा लगातार उपाधि जित्ने सफलता हासिल गरेको थियो । त्यसयता कुनै पनि टिमले यस्तो सफलता पाउन सकेका छैनन् ।
अर्जेन्टिना जसरी लगातार उपाधि जित्ने लक्ष्यमा हुनेछ । उसैगरी समूह ‘जे’ का अरू टिम अल्जेरिया, अस्ट्रिया र जोर्डनका पनि आफ्नै योजनाहरू हुनेछन् । अल्जेरिया र अस्ट्रिया लामो समयको अनुपस्थितिपछि विश्वकपमा फर्किएका हुन् भने विश्वकपको आकार ३२ बाट बढाएर ४८ टिममा पुर्याइएपछि छनोट भएको जोर्डनको यो पहिलो सहभागिता हो ।
दोस्रो पटक विश्वकप जित्न सके मेसीको छवि विश्व फुटबलमा पेले र डिएगो म्याराडोनाजस्तो विश्व फुटबलका सर्वकालीन महान् हस्तीको समकक्षमा उचालिन सक्छ । सन् २०२२ मा अर्जेन्टिनालाई तेस्रो विश्वकपको उपाधि जिताउनुभएका मेसीले गएको अप्रिलको मध्यसम्म पनि आसन्न विश्वकप खेल्ने प्रतिबद्धता जनाइसक्नुभएको थिएन । तर, अब उहाँ टिमका लागि उपलब्ध भइसक्नुभएको छ र सम्भवतः यो उहाँको अन्तिम विश्वकप हुनेछ ।
अर्जेन्टिना
फिफा विश्व वरीयताको तेस्रो स्थानमा रहेको तीन पटकको च्याम्पियन अर्जेन्टिनाले २८औँ वरीयताको अल्जेरियासँग जुन १६ मा खेल्दै उपाधि रक्षाको अभियान थाल्नेछ । त्यसपछि समूहमा टोलीले अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा पाएका प्रतिद्वन्द्वी अर्जेन्टिनाका लागि सहज मानिएको छ । कुनै पनि टिमले अर्जेन्टिनाको गति रोक्न नसक्ने अनुमानका बीच मेसीको टोली सहजै अघिल्लो चरण पुग्ने विश्वास लिइएको छ ।
चोटका कारण मेसी अनुपस्थित रहेको छनोट खेलमा ब्राजिललाई पराजित गरेपछि अर्जेन्टिना १५ महिनाअघि नै विश्वकपका लागि छानिएको थियो । चार वर्षअघि विश्वकप फाइनल खेल्दाको टोलीकै नौ खेलाडी अहिले पनि अर्जेन्टिनाको टिममा छन् । सन् २०२४ मा लगातार दोस्रो पटक कोपा अमेरिका जितेपछि एन्जेल डी मारिया र मेसीले सन्न्यास लिनुभएको थियो । उहाँहरूको ठाउँमा थियागो अल्माडा र लियोनार्दो परेड्सलाई ल्याइएको थियो । तर, मेसीले सन्न्यास फिर्ता लिएर टिममा फेरि फर्किनुभएको छ ।
दोहामा सफलता दिलाएर अहिले पनि टिममा कायम रहनेमध्ये निकोलस ओटामेन्डी अहिले ३८ वर्ष भइसक्नुभएको छ । निकोलस टाग्लियाफिको ३३ तथा रोड्रिगो डी पाउल ३२ वर्षको हुनुहुन्छ । अर्जेन्टिनाको दोस्रो खेलको दुई दिनपछि ३९ वर्ष लाग्ने मेसी यही विश्वकपबाट पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै ६ वटा विश्वकप खेल्ने खेलाडी बन्दै हुनुहुन्छ ।
विश्वकप इतिहासमा मेसीको नाममा अहिल्यै सर्वाधिक २६ खेल खेलेको कीर्तिमान छ । विश्वकपमा सर्वाधिक गोल गर्नेको सूचीमा पनि उहाँ १३ गोलका साथ फ्रान्सका जस्ट फोन्टेनसँग संयुक्त रूपमा चौथो स्थानमा हुनुहुन्छ । जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलका साथ सबभन्दा अगाडि हुनुहुन्छ भने ब्राजिलका रोनाल्डो १५ गोलका साथ दोस्रो तथा जर्मनीका ग्रेड मुलर १४ गोलका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय फुटबलमा पनि मेसी पोर्चुगलका रोनाल्डोपछि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ । रोनाल्डोले सर्वाधिक १४३ गोल गर्नुभएको छ भने मेसीको नाममा ११६ अन्तर्राष्ट्रिय गोल छ । यसपालि विश्वकपको दक्षिण अमेरिकी छनोटमा पनि मेसीले सर्वाधिक आठ गोल गर्नुभएको थियो ।
सन् २०१८ देखि अर्जेन्टिनालाई नेतृत्व प्रदान गरिरहनुभएका लियोनेल स्कोलानी यसपालि आफूसँग भएको परिपक्व टोलीको बलमा लगातार दोस्रो पटक विश्वकप जित्ने दोस्रो प्रशिक्षक बन्ने अपेक्षामा हुनुहुन्छ । उहाँअघि सन् १९३४ र १९३८ मा भिट्टोरियो पोजोले लगातार इटालीलाई दुई पटक विश्वकप जिताउनुभएको थियो ।
अल्जेरिया
सन् १९९० र २०१९ मा गरी दुई पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितिसकेको अल्जेरिया सन् २०१४ पछि पहिलो पटक विश्वकपमा छानिएको हो । २०१४ को ब्राजिल विश्वकपमा समूह चरण पार गरेको टोली अन्तिम १६ को खेलमा अतिरिक्त समयसम्म संघर्ष गर्दै जर्मनीसँग पराजित भएर घर फर्किएको थियो ।
विश्वकपको अफ्रिकी छनोटमा अल्जेरियाले आठ खेलमा जित हासिल गरेको थियो भने एकमा बराबरी र एकमा पराजय भोगेको थियो । म्यानचेस्टर सिटीका पूर्व विंगर रियाद माहरेजले ३५ वर्षको उमेरमा कप्तानका रूपमा टोलीको नेतृत्व गरिरहनुभएको छ । उहाँ अल्जेरियाका लागि इस्लाम स्लिमानी (४५) पछि सबभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्नेको सूचीमा दोस्रो स्थानमा हुनुहुन्छ । माहरेजको नाममा ३८ अन्तर्राष्ट्रिय गोल छ ।
अर्जेन्टिनाजस्तो महारथि रहेको समूहमा अल्जेरियाले माहरेजसँगै रायन एइट नाउरी र रक्षक रामी बेन्सेबाइनीजस्ता खेलाडीको उपस्थितिमा सुखद नतिजा अपेक्षा गरेको छ । सन् २०१४ देखि २०२१ सम्म स्विट्जरल्याण्डको नेतृत्व गर्नुभएका प्रशिक्षक भ्लादिमिर पेट्कोभिचले विश्वकपमा टोलीलाई मुख्य प्रशिक्षकको हैसियतमा नेतृत्व गर्नुहुनेछ ।
अस्ट्रिया
समग्रमा आठौं पटक विश्वकपमा सहभागिता जनाउन लागेको भए पनि अस्ट्रिया सन् १९९८ यता पहिलो पटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताका लागि लायक भएको छ । जहाँ टोलीको उद्देश्य हुनेछ, कम्तीमा सन् १९८२ मा समूह चरण पार गरेर बनाएको इतिहासलाई निरन्तरता दिनु ।
३७ वर्षे मार्को अर्नाउटोभिच अस्ट्रियाको टोलीका सबभन्दा पाका खेलाडी हुनुहुन्छ । राष्ट्रिय टोलीका लागि १३२ खेलमा ४७ गोल गर्नुभएका उहाँ देशका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुनुहुन्छ । रक्षापंक्तिको नेतृत्वमा रहने कप्तान डेविड अलावा प्रतियोगिता दौरान नै ३४ वर्ष लाग्नुहुनेछ । च्याम्पियन्स लिगमा १२० भन्दा बढी खेल खेल्नुका साथै चार पटक युरोपियन क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता जितेको अनुभवले उहाँलाई विश्वकपमा थप आत्मविश्वास प्रदान गर्नेछ ।
अर्नाउटोभिच र अलावासँगै प्रशिक्षक राल्फ राग्निकले उच्च प्रदर्शनको अपेक्षा गर्ने अन्य खेलाडी हुन्, मिडफिल्डर मार्सेल साबिटाइजर र कोनराड लाइमेर । म्यानचेस्टर युनाइटेड, होफेनहेम, साल्के, स्टुटगार्ट र लाइपजिगको टोलीलाई समेत नेतृत्व गरिसक्नुभएका राग्निक सन् २०२२ देखि अस्ट्रियाली टिमसँग जोडिनुभएको थियो ।
जोर्डन
पहिलो पटक विश्वकपका लागि छनोट भएको एसियाली टोली जोर्डनसँग अन्तर्राष्ट्रिय फुटबलमा स्मरण गर्न लायक खासै सफलताका कथा छैनन् । एएफसी एसियन कपमा तीन वर्षअघि उपविजेता हुनु जोर्डनको फुटबल इतिहासकै सबभन्दा ठूलो उपलब्धि हो । यसबाहेक सन् २००४ र २०११ मा एसियन कपको क्वाटरफाइनलसम्म पुग्दाको सहभागितालाई पनि जोर्डनका फुटबल समर्थकले सम्झिइरहन्छन् ।
जोर्डनका लागि २४ अन्तर्राष्ट्रिय गोल गर्नुभएका मुसा अल तामरी फ्रान्सेली टोली रेनेसबाट व्यावसायिक फुटबल खेल्नुहुन्छ । उहाँ वर्तमान जोर्डन टिमका सबभन्दा बढी आशा गरिएका खेलाडी हुनुहुन्छ । युरोपेली क्लबबाट खेल्ने थोरै मात्र जोर्डनका खेलाडीमा अर्का फरवार्ड इब्राहिम साब्रा हुनुहुन्छ । क्रोएसियाको लोकोमोटिभा जागरेबबाट खेल्ने साब्राबाट पनि टिमले विश्वकपमा राम्रो प्रदर्शनको आशा राख्नेछ ।
आसन्न विश्वकपमा जोर्डनको टिम मोरक्कोका पूर्व मिडफिल्डर जमाल सेलामीको नेतृत्वमा रहनेछ । सेलामीले सन् २०२४ मा मुख्य प्रशिक्षकका रूपमा जोर्डन टिमको बागडोर सम्हाल्नुभएको थियो ।
समूह ‘जे’ खेलतालिका (नेपाली समयअनुसार)
- अर्जेन्टिनाविरुद्ध अल्जेरिया, १७ जुन, बिहान ०६ः४५ बजे, केन्सास सिटी रंगशाला (केन्सास)
- अस्ट्रियाविरुद्ध जोर्डन, १७ जुन, बिहान ०९ः४५ बजे, लिभाइज रंगशाला (सान फ्रान्सिस्को)
- अर्जेन्टिनाविरुद्ध अस्ट्रिया, २२ जुन, राती २२ः४५ बजे, डालास रंगशाला (टेक्सास)
- जोर्डनविरुद्ध अल्जेरिया, २३ जुन, बिहान ०८ः४५ बजे, लिभाइज रंगशाला (सान फ्रान्सिस्को)
- अल्जेरियाविरुद्ध अस्ट्रिया, २८ जुन, बिहान ०७ः४५ बजे, केन्सास सिटी रंगशाला (केन्सास)
- जोर्डनविरुद्ध अर्जेन्टिना, २८ जुन, बिहान ०७ः४५ बजे, डालास रंगशाला (टेक्सास)
एजेन्सी







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी