न्युयोर्क । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुन गइरहेको विश्वकपलाई ‘मानव इतिहासकै सबैभन्दा भव्य र महान् उत्सव’को संज्ञा दिँदै खुसीयाली मनाउनुभएको छ । फुटबलको महाकुम्भलाई बढाइचढाइ प्रस्तुत गर्न कहिल्यै पछि नपर्ने फिफा प्रमुखले पहिलो पटक महाद्विपीय रूपमा विस्तारित संस्करणलाई अहिलेसम्मकै सबैभन्दा समावेशी, स्वागतयोग्य र एकताको प्रतीकका रूपमा चित्रण गर्नुभएको हो ।
यद्यपि, विश्वभरका विश्लेषक र प्रशंसकहरू भने प्रतियोगितालाई लिएर फरक खालका कडा शब्दहरू प्रयोग गरिरहेका छन् । धेरैका लागि यो इतिहासकै सबैभन्दा बढी राजनीतीकरण भएको, अत्यधिक महँगो, वातावरणीय रूपमा प्रदूषित र फिफाका लागि अहिलेसम्मकै सबैभन्दा बढी आकर्षक कमाइ गराउने माध्यममात्र बनेको छ । मैदानभित्रको खेलको रोमाञ्चकता जे-जस्तो भए पनि मैदानबाहिरको यो अति-विस्तारित विश्वकप इतिहासकै सबैभन्दा विवादित बन्ने निश्चित देखिएको छ ।
प्रशंसकहरूका लागि टिकट र यात्राको चर्को मूल्य, भू-राजनीतिको प्रत्यक्ष प्रभाव, अमेरिकी अध्यागमन नीति, सुरक्षा चुनौती, चरम मौसमी अवस्था, दिगोपनको प्रश्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष हस्तक्षेपकारी भूमिका जस्ता विषयले यस पटक उत्साहसँगै विश्वभर एक किसिमको त्रास र चिन्ता पनि पैदा गरिदिएको छ । मेक्सिको सिटीमा बिहीबार हुने उद्घाटन खेलअगाडि विश्वको ध्यान केन्द्रित भइरहँदा, सह-आयोजक राष्ट्रहरूले भोगिरहेका चुनौतीले आगामी केही साता कति सकसपूर्ण हुनेछ भन्ने स्पष्ट चित्र देखाउँछन् । ऐतिहासिक एस्टाडियो एज्टेका रंगशाला तीन वटा फरक विश्वकपको उद्घाटन खेल आयोजना गर्ने पहिलो रंगशालाका रूपमा इतिहास रच्न त तयार छ तर करिब ७५ प्रतिशत खेलहरू आयोजना हुने छिमेकी मुलुक अमेरिका र मेक्सिको दुवैतिर टिकटको अत्यधिक मूल्यले आमसमर्थकलाई निराश बनाएको छ । अझ यसै वर्ष मेक्सिकोमा भड्किएको ठूलो कार्टेल हिंसाका कारण सुरक्षा व्यवस्थालाई लिएर सर्वत्र संशय पैदा भएको छ भने राजधानीमा प्रदर्शनकारीहरूले विश्वकप खेलाडीका शालिकहरू ढालेका छन् र तलब वृद्धिको माग राख्दै आन्दोलित शिक्षकहरूले आफ्ना माग पूरा नभए खेलहरू नै बिथोल्ने चेतावनी दिएका छन् ।
यस विश्वकपको इतिहासमै पहिलो पटक खेलहरू तीन वटा देशमा फैलाइएको छ, जसमा ४८ टोली र १०४ खेलहरू समावेश छन् । तर, केवल आकार र खेल संख्याका आधारमा मात्र नभई, यो प्रतियोगिता एउटा अर्को अभूतपूर्व र आशंकास्पद कारणले पनि चर्चामा छ । इतिहासमा पहिलो पटक एउटा आयोजक राष्ट्र (अमेरिका) प्रतियोगितामा सहभागी भइरहेको अर्को राष्ट्र (इरान) सँग युद्धको अवस्थामा रहेको छ । गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वभर प्रतिशोधात्मक हमलाहरू सुरु भएका थिए र अप्रिलको सुरुमा युद्धविराम लागू भए पनि दुई पक्षबीच छिटपुट हमलाहरू अझै जारी छन् । यही तनावका कारण फिफाले इरानको टोलीलाई एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सार्न बाध्य भयो । इरानको सहभागितालाई लिएर राजनीतिक वृत्तमा निकै अन्योल थियो, जहाँ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी खेलाडीको ‘आफ्नै जीवन र सुरक्षा’ का लागि यो प्रतियोगिता उपयुक्त नभएको चेतावनी दिनुभएको थियो भने उहाँका विशेष दूतले त इरानको ठाउँमा छनोट हुन असफल भएको चार पटकको विजेता इटालीलाई राख्नुपर्ने सुझावसमेत दिनुभएको थियो ।
इरान चौथो पटक लगातार विश्वकप खेल्न त तयार भएको छ तर उसले अमेरिकामाथि आफ्ना पदाधिकारी र ब्याकरुम स्टाफलाई भिसा नदिएको आरोप लगाएको छ । इरानी खेलाडीहरूले अमेरिकामा हुने आफ्ना तीनवटा समूह चरणका खेलहरूका लागि खेलकै दिन भित्रिने र खेल सकिएकै दिन बाहिरिनुपर्ने कडा शर्त सामना गरिरहेका छन् । इरानी फुटबल महासंघले समूह चरणका लागि आफ्ना समर्थकका लागि छुट्याइएको टिकटको कोटा रद्द गरिएको भन्दै यसले विश्वकै ठूलो खेल उत्सवमा गैर–खेलकुद र राजनीतिक हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको छ । फिफाले इरानी समर्थकहरूलाई खेल हेर्ने वातावरण मिलाउन काम गरिरहेको दाबी गरे पनि रंगशालाहरूमा इरानको क्रान्ति–पूर्वको पुरानो झण्डा प्रतिबन्ध लगाउने तयारीले खेलहरू अत्यधिक राजनीतिक तनावले भरिने निश्चित छ, विशेष गरी पहिला दुई खेलहरू ठूलो संख्यामा इरानी समुदाय बस्ने लस एन्जलसमा हुँदैछन् ।
यो प्रतियोगिता गम्भीर रूपमा राजनीतीकरण हुनुमा अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको कडा अध्यागमन नीति मुख्य जिम्मेवार मानिएको छ । सन् २०१७ मा आफ्नो पहिलो कार्यकालका बेला मुस्लिम बहुल देशहरूमाथि ट्रम्पले लगाएको यात्रा प्रतिबन्धका कारण फिफा अध्यक्ष इन्फान्टिनोले नै यदि सबै देशका खेलाडी र समर्थकलाई सहज पहुँच नहुने हो भने अमेरिकाले विश्वकप आयोजना गर्न नसक्ने चेतावनी दिनुभएको थियो । तर, अहिले ट्रम्पको दोस्रो कार्यकालमा इरान, हैटी, सेनेगल र आइभोरी कोस्ट जस्ता देशका समर्थकहरूले सुरक्षा थ्रेटका नाममा पूर्ण वा आंशिक यात्रा प्रतिबन्धको सामना गरिरहेका छन् । प्रतियोगितामा सहभागी ४८ देशमध्ये एक चौथाइभन्दा बढी देशका समर्थकहरूले भिसा अस्वीकृति वा कडा यात्रा प्रतिबन्ध झेलिरहेका छन् ।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघले समेत आफ्ना आधिकारिक मान्यता प्राप्त पत्रकारहरूलाई अमेरिकाले भिसा नदिएको भन्दै गम्भीर आक्रोश पोखेको छ भने सोमालियाका ओमार आर्टन, जो विश्वकपमा रेफ्री बन्ने पहिलो सोमाली नागरिक बन्दै हुनुहुन्थ्यो, उहाँलाई अमेरिकी अध्यागमनले प्रवेश अनुमति नदिएपछि फिफाले उहाँको नाम सूचीबाटै हटाउनुपर्यो । मानव अधिकारवादी तथा अस्ट्रेलियाका पूर्वकप्तान क्रेग फोस्टरले फिफाको मानव अधिकार नीतिको खिल्ली उडाउँदै खेलाडी र फ्यानहरू सुरक्षित रूपमा छिर्नसमेत नपाउने यो अवस्थालाई लज्जास्पद र खेलकुदलाई राजनीतिबाट अलग राख्ने भ्रमलाई पूर्ण रूपमा समाप्त पार्ने घटनाका रूपमा व्याख्या गर्नुभएको छ ।
फिफा प्रमुख इन्फान्टिनोले सधैँ आयोजक राष्ट्रका नेताहरूसँग सम्बन्ध सुमधुर बनाउन खोजे पनि गत वर्ष विश्वकपको टाइसिट ड्रका क्रममा राष्ट्रपति ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ दिएपछि उहाँको झुकाव छताछुल्ल भएको थियो । यसैबीच अमेरिकाले भेनेजुएला, नाइजेरिया र इरानमा सैन्य कदम चालेको छ भने अर्का सहभागी देशहरू कोलम्बिया र मेक्सिकोमा समेत सैन्य अपरेसनको संकेत दिएको छ । तीन सह-आयोजक देशहरूबीच व्यापार, अध्यागमन र लागूऔषध ओसारपसारका विषयमा ठूलो मतभेद छ, जसलाई ट्रम्पले क्यानडालाई ‘५१औँ राज्य’ भन्दै गिज्याएपछि थप मलजल मिलेको छ । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा ट्रम्पले यस विश्वकपलाई आफ्नो राजनीतिक प्रचारको केन्द्र बनाउने योजना बनाउनुभएको छ ।
ह्युमन राइट्स वाच र एम्नेस्टी इन्टरनेसनल जस्ता संस्थाहरूले रुस र कतारले जस्तै यस पटक अमेरिकाले पनि ‘स्पोर्ट्सवासिङ’ गरिरहेको र अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनको क्रूर र विभेदकारी नीतिका कारण यो विश्वकप दमनको मञ्च बन्न सक्ने चेतावनी दिएका छन् । मियामी र मिनियापोलिसमा आइस एजेन्टहरूले अध्यागमन क्र्याकडाउनका क्रममा दुई अमेरिकी नागरिकको ज्यान लिएपछि यो डर झन् बढेको छ, यद्यपि ह्वाइट हाउसले यसलाई इतिहासकै सुरक्षित र स्वागतयोग्य खेल बनाउने दाबी गरिरहेको छ ।
सन् २०१० मा रुस र कतारलाई विश्वकप दिँदा लागेको भ्रष्टाचारको कलंकबाट जोगिन र पूर्वाधार तयार भइसकेको सुरक्षित बजार खोज्न फिफाले सन् २०१८ मा यो विश्वकप उत्तर अमेरिकालाई सुम्पेको थियो । यसको अर्को मुख्य पाटो भनेको वित्तीय फाइदा नै हो । अर्बौँ डलरको प्रसारण र प्रायोजन सम्झौताका कारण यो खेल इतिहासकै सबैभन्दा बढी नाफामूलक बन्दै छ, जहाँ फिफाले यसै वर्षमात्र नौ अर्ब डलरको कीर्तिमानी आम्दानी गर्नेछ । यो रकमबाट उसले विभिन्न राष्ट्रिय फुटबल संघहरूलाई २.७ अर्ब डलर बाँड्नेछ, जसले इन्फान्टिनोलाई अर्को वर्ष तेस्रो कार्यकालका लागि पुनः निर्वाचित हुन राजनीतिक रूपमा बलियो बनाउनेछ ।
तर, यो पैसा असुलीका लागि फिफाले अपनाएको रणनीतिले समर्थकहरूमाझ ठूलो धोकाधडीको भावना पैदा गरेको छ । सन् २०१८ मा फाइनल खेलको टिकटको अधिकतम मूल्य १,५५० डलर हुने बताइए पनि डिसेम्बरमा बिक्री खुला हुँदा त्यसको मूल्य ८,६८० डलर पुर्याइयो । फिफाले पहिलो पटक माग र समयका आधारमा मूल्य थपघट हुने डाइनामिक प्राइसिङ लागू गरेपछि वास्तविक र रैथाने समर्थकहरू खेल हेर्नबाट वञ्चित हुने अवस्था आएको छ र न्युयोर्क तथा न्युजर्सीका अधिकारीहरूले फिफामाथि कृत्रिम रूपमा मूल्य बढाएर फ्यानहरूलाई भ्रममा पारेको भन्दै अनुसन्धान सुरु गरिसकेका छन् ।
टिकटमात्र होइन, अन्य खर्चहरू पनि आकाशिएका छन् । न्युयोर्कको केन्द्रबाट फाइनल हुने न्युजर्सीको मेटलाइफ रंगशालासम्म जाने रेलको सामान्य टिकट, जसको मूल्य १२.९० डलर हुन्थ्यो, त्यसलाई बढाएर १५० डलर पुर्याइयो र पछि गभर्नरको दबाबपछि ९८ डलरमा झारियो । समर्थकहरूको आक्रोश तब झन् चुलियो, जब फिफाले व्यावसायिक स्वार्थका कारण सुरक्षाको बहाना बनाउँदै रंगशालाभित्र पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल लैजान प्रतिबन्ध लगायो । वैज्ञानिकहरूले १६ मध्ये १४ वटा रंगशालाको तापक्रम अत्यधिक र खतरनाक स्तरमा पुग्ने चेतावनी दिइरहेका बेला पानीको बोतलमा प्रतिबन्ध लगाउँदा समर्थकको ज्यान नै जोखिममा पर्ने भन्दै चौतर्फी विरोध भएपछि फिफाले अन्ततः शिलबन्दी गरिएका डिस्पोजेबल बोतल लैजान दिनेगरी आफ्नो निर्णय फिर्ता लियो ।
सन् १९९४ मा अमेरिकामा भएको पहिलो विश्वकपले त्यहाँ फुटबल खेललाई स्थापित गर्न मद्दत गरे पनि अहिलेको एक सर्वेक्षणअनुसार बहुसंख्यक अमेरिकीहरूले यो विश्वकप सर्वसाधारणका लागि अत्यधिक महँगो भएको बताएका छन् । होटल बुकिङहरू अपेक्षाभन्दा निकै कम हुनुले चर्को मूल्य र राजनीतिक पृष्ठभूमिले मानिसहरूलाई तर्साएको पुष्टि गर्छ र बेलायतबाट आउने समर्थकहरूको संख्या पनि सोचेभन्दा निकै कम देखिएको छ ।
सुरक्षाको पाटो हेर्दा, अमेरिकी इतिहासकै सबैभन्दा ठूलो चुनौती स्थानीय प्रहरी र होमल्याण्ड सेक्युरिटीसामु छ । वासिंगटनमा राष्ट्रपति ट्रम्पको हत्या प्रयासको घटना र कंग्रेसबीचको बजेट विवादका कारण गृह मन्त्रालयको आंशिक बन्दले योजना बनाउन ढिलाइ भएको थियो । ह्वाइट हाउस टास्क फोर्सका प्रमुख एन्ड्रिउ जिउलियानीले आफूहरूले एक हात बाँधेर सुरक्षा तयारी गर्नुपरेको र अझै केही कमजोरीहरू सुधार्न बाँकी रहेको स्वीकार गरेका छन् । सुरक्षा चुनौतीका साथै प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीले अर्को त्रास थपेको छ, किनभने कंगोको टोलीले एटलान्टा र ह्युस्टनमा खेल्दै छ । अर्कातर्फ, फिफाले सन् २०४० सम्म नेट-जिरो कार्बन उत्सर्जन गर्ने दाबी गरे पनि ४८ टोली र लाखौँ समर्थकका कारण उड्डयन क्षेत्रबाट मात्रै ९० लाख टन कार्बन उत्सर्जन हुने अनुमान गरिएको छ, जुन विगतका विश्वकपको तुलनामा दोब्बर हो ।
वैज्ञानिकहरूले चर्को गर्मी र बिजुली चम्किने जस्ता प्राकृतिक प्रकोपले खेलाडी र खेल दुवैलाई जोखिममा पार्ने चेतावनी दिएका छन् । फिफा अध्यक्ष इन्फान्टिनोले अमेरिकामा फुटबलको आर्थिक सम्भावनालाई खर्बौँ डलरको लगानीका रूपमा हेरे पनि यस पटकको अति–विस्तारित र महँगो विश्वकपले अमेरिकी बजारलाई जित्छ कि आफैं राजनीति र महँगीको चक्रव्यूहमा परेर अत्तालिन्छ, त्यो भने मैदानको नतिजा र समयले नै फैसला गर्नेछ । बिबिसी







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी