अत्यन्त गम्भीर विवाद भएपछि पदीय दायित्वमुक्त हुनुभएका सुदन गुरुङको पुनः सत्तारोहण विवादरहित मानिएको छैन । यो विवादको चुरोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र साह र स्वयं गुरुङ रहनु भएको छ । पदमुक्त भएको केही दिनपछि नै प्रधानमन्त्री साह र सभापति लामिछाने लक्षित गर्दै गुरुङको भनाइ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । जसमा सबैको पोल खोल्ने र केही समयमै सत्ताच्युत गराउने धम्कीको भाव र भाषा प्रयुक्त थियो ।
त्यो भाषा र भाव पढ्ने सबैले के बुझेका छन् भने सभापति लामिछाने र प्रधानमन्त्री साहको पृष्टमा भयानक रहस्य लुकेको छ र त्यसको जानकारी भएको हुनाले गुरुङ सार्वजनिक रूपमा नै अत्यन्त विश्वासकासाथ धम्की दिन अग्रसर भएका हुन् । रहस्य केही थिएन भने गुरुङविरुद्ध सार्वजनिक भएका सम्पत्ति, त्यसका स्रोत र उनको दिनचर्याका सन्दर्भमा भएको विवादको निरूपण गर्न बनेको समिति तँ कुटेझै गर म रोएझै गर्छुको शैलीमा बन्ने र प्रतिवेदन बुझाउने भन्दा सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध हुनेथियो । औपचारिकता पूरा गर्नेतिर लाग्ने थिएन । संभवतः अब छानविन समितिमा बस्ने कर्मचारीहरू पुरस्कृत हुने सम्भावना हुनुपर्छ । केही अपवादलाई छाडेर यहाँको पूर्वप्रचलन पनि करिब-करिब उस्तै छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहमन्त्री हुने र हुन खोज्नेहरूले त्यो पदमा मात्रै आँखा लगाउनु नौलो होइन । विगतमा दुई पटक स्वयं रवि लामिछानेले त्यही पदका लागि अनेक तिकडम गर्नुभएको सबैलाई थाहा छ ।
पुराना खराब भए, पुराना नजान्ने भए त्यसैकारण नयाँलाई र जान्नेलाई छान्ने जनताको मोह र रास्वपाको नेतृत्वको महिमामण्डन भविष्यमा कुन शब्दले गरिने हो थाहा छैन । तर, अहिले भने हुने बिरुवाको चिल्लो पातलाई हटाएर नहुने बिरुवाको फुस्रो पातमा देखिन लागेको छ रास्वपाको काम । लोकतन्त्रमा पारदर्शिता, उत्तरदायित्व, कानुन संमत राज्य र राज्य संयन्त्रको परिकल्पना गरिएको हुन्छ । यसले नेतृत्वमा पुग्नेहरूको वर्तमानको अभिलेखमात्रै राखेको हुँदैन विगतको लेखाजोखा र भविष्यको संभावनालाई समेत अनुमान गरिरहेको हुन्छ । शासनमा पुग्नेहरूले विगतमा के बोलेका थिए, के गरेका थिए त्यसको तुलना वर्तमानमा उनीहरूले गरिरहेको कामसंग हुन्छ । विगतमा बोलेजस्तो वर्तमानका आचरण छन् कि छैनन् ? मिहीन ढंगले यो प्रश्नमाथि विमर्श हुन्छ । त्यो विमर्श हिजोका सत्तासीनहरूमाथि पनि भएको छ, हुनेगरेको थियो । अहिलेका शासकीय नेतृत्वका विषयमा पनि हुनु यसैकारण स्वाभाविक हुन्छ ।
सुदन गुरुङ व्यक्तिगत रूपमा को हुन् ? कसरी र कुन प्रयोजनका लागि राजनीतिमा आउनुभयो ? यी प्रश्न निरर्थक छन् । उहाँको विगत धेरै प्रख्यात छैन र नै चर्चायोग्य छैन । अकस्मात् भदौ २३ गते बबरमहलको बालयुवा प्रदर्शनमा पानी वितरण गर्दै देखिएपछि दृश्यमा प्रकट भएको एक व्यक्तित्वको नाम हो सुदन । पर्दापछि प्रशस्त प्रमाणित चर्चा पाउनु भएका बालेन्द्र साह यतिबेला प्रधानमन्त्री हुनुभएको छ । उहाँको व्यवहार कुनै पनि अर्थमा पारदर्शी छैन । लोकतन्त्रको मूल्य अनुसार त्यसको संस्कृति अनुरूप जनतासँग व्यवहार गर्दा प्रशस्त सान्निध्यता हुनुपर्छ । जनतासँग लुकेर काम गर्छु भन्नुको कुनै अर्थ हुँदैन ।
काम देखिने गरी गर्ने हो बोल्ने होइन, जनसम्पर्क गर्ने होइन, जनप्रतिनिधिसँग भेट गर्ने होइन, संसद् पुग्ने होइन, सांसदका प्रश्नको उत्तर दिनु जरुरी छैन, संसदीय प्रणालीको कुनै मूल्य हुँदैन भन्ने अभिमानको भारी बोक्नु भएको छ प्रधानमन्त्रीले । सन् १९३३ मा संसद्मा पुगेका हिट्लर पनि संसद्का विषयमा यस्तै विचार राख्ने गर्थे । यदि उनको मेन क्याम्फ् पढ्ने हो भने शीरदेखि पुछारसम्म संसद्को अपमान गरेको भाषा पढ्न पाइन्छ । जनताले निर्वाचित गरी संसद्मा पठाएका हिट्लरले सबैभन्दा बढी अपमान संसद्कै गरेका छन् । उनले राष्ट्रवादका नाममा जनता मार्ने र विश्वयुद्ध भड्काउने काम गरे । सानो झिल्कोले नै संसार खरानी बनाउने काम दोस्रो विश्वयुद्धमा भयो । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचितहरूले जब लोकतान्त्रिक पद्धतिको अपमान गर्न पुग्छन् हिटलरको पुनर्जन्मको आधार खडा हुन्छ ।
अहिलेको नेपालको अवस्था त्यही छ । तर एउटा सत्य केहो भने यदि जनताको समर्थन हुन्छ र रहन्छ भने हिट्लर, स्टालिन, पोलपोट जो पनि शासक हुनसक्छ र बन्नसक्छ । बन्दुकका भरमा स्टालिन वा पोलपोटको उदय जहिले पनि जतिखेर पनि स्वाभाविक होला । तर लोकतान्त्रिक प्रणालीको अर्को दुर्गुण निर्वाचनको विवेकविहीन परिणामले अस्वाभाविक रूपमा हिट्लरको जन्म हुन्छ भन्ने इतिहासको तीतो पाठ हो । सुदनको पुनरागमन मात्रै होइन मन्त्रिपरिषद् विस्तारमा स्वतन्त्र सांसद तर स्वतन्त्र पार्टीका हिस्सा जस्तो हुनुभएका महावीर पुनलाई पासो लगाउने काम भएको छ । पुनकै शब्दमा उहाँका लागि मन्त्री पद घाँटीमा लगाइएको पासोजस्तो भएको छ । हामी आसा गरौं : यसरी बलात् लागेको घाँटीको पासोले उहाँलाई सुरक्षित नै राख्नेछ । जे भए पनि सुदन गुरुङको गृहमन्त्रालयको पुनः प्रवेश हिजोको जस्तो नहोस् र उहाँका विषयको प्रतिवेदनलाई कानुन सम्मत र विश्वसनीय ढंगले सार्वजनिक गर्ने काम होस् र उहाँको कार्यकाल सफल होस् हामीले भन्ने यत्ति नै हो ।
अन्तिममा प्रसिद्ध कवि मोहन कोइरालाको शहीद शीर्षकबाट सानो कवितांश :
शहीदहरू भन्दथे
.....ती साथी मरिसके
.....म तस्वीर सफा पार्छु
.......धमिलो जमिन पानीले धुन्छु
......देखाउँछु छातीमा दर्द लागेर,
सूर्यको रातो प्रकाशमा बगिरहेको
त्यो रातो रंगमा म चित्र लेख्छु,
पातले रश्मी चुमिरहेको
आँखाले चाँद चुमिरहेको,
अनि म अर्को इतिहास पल्टाउँछु । (मोहन कोइरालाका कविता, प्रकाशक : साझा प्रकाशन २०३० र ०४८ )
जेन-जीको रगतले पनि यही भनिरहेको होला । विद्रोह, संघर्ष, बलिदान, आक्रोश जे भए पनि मृत्युवरण गरेर सत्ताको साँघु बनाइदिने त तिनीहरू नै हुन् । तर छलकपट, प्रतिशोध, विवेकहीनता र अपारदर्शी अहंकारले त्यो रगतको मोल आफ्नो भकारीमा जम्मा गरिरहेको देखिन्छ । परिवर्तनको अर्थ र सीमा यही नै हो कि ? यसलाई के भन्ने समर्पण भन्ने कि सम्मान ? हामी अलमलमा छौं ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी