काठमाडौं । दुई महिना लामो युद्धविरामपछि मध्यपूर्वमा पुनः युद्धको आगो सल्किएको छ । महाशक्ति राष्ट्र अमेरिका र इरान प्रत्यक्ष रूपमा आमनेसामने भएपछि यस क्षेत्रमा तनाव चुलिएको हो । इरानले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ माथि उडिरहेको अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालेपछि दुई देशबीच सिधा सैन्य टकराव सुरु भएको छ । यसको जवाफमा अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानाहरूमा भीषण हवाई आक्रमण गरेको छ भने इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी मिसाइल प्रहार गरेको छ । दुई देशबीचको यो द्वन्द्वले विश्वभर नै इन्धन र खाद्यान्नको गम्भीर संकट निम्त्याउने खतरा बढेको छ ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार इरानले अमेरिकी एएच-६४ अपाचे हेलिकप्टरमाथि ड्रोनमार्फत आक्रमण गरी खसालेको थियो । उक्त हेलिकप्टरमा सवार दुई चालक दलका सदस्यलाई अमेरिकी नौसेनाले मानवरहित समुद्री ड्रोनको प्रयोग गरी सुरक्षित उद्धार गरेको छ । अमेरिकी सेनाले उद्धार कार्यमा यस्तो प्रविधिको प्रयोग गरिएको सार्वजनिक रूपमा स्वीकार गरेको यो पहिलो पटक हो ।
हेलिकप्टर खसालेको घटनालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘दुवै पाइलट सुरक्षित छन् र उनीहरूलाई कुनै चोट लागेको छैन । तर, अमेरिकाले आफ्नो सेनामाथि भएको यो आक्रमणको दह्रो जवाफ दिनैपर्छ ।’
राष्ट्रपति ट्रम्पले यो प्रतिक्रिया दिएलगत्तै अमेरिकी सेनाले इरानभित्र सैन्य कारबाही सुरु गरेको हो । सेन्टकमले यस आक्रमणलाई इरानको अनुचित आक्रामकताको समानुपातिक जवाफ भएको बताएको छ । अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार अमेरिकाले मुख्य रूपमा इरानको रक्षा तथा रडार प्रणालीलाई निशाना बनाएको छ । इरानको तटीय क्षेत्रहरू बन्दर अब्बास, केश्म टापु र सिरिक आसपासमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् । अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले पनि राष्ट्रपति ट्रम्पको यो निर्णयमा आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ ।
इरानको चेतावनी र प्रतिआक्रमण
अमेरिकी आक्रमणको जवाफमा इरानले पनि चुप नबस्ने संकेत दिएको छ । इरानको शक्तिशाली सैन्य दस्ता रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकी लक्ष्यहरूविरुद्ध प्रतिआक्रमण सुरु गरिएको घोषणा गरेको छ । इरानले बहराइनमा रहेको अमेरिकी सैन्य अड्डानजिक मिसाइल प्रहार गरेको दाबी गरेको छ, जसको भिडियो अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पुष्टि गरेका छन् । यस्तै, जोर्डन र कुवेतले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका केही इरानी प्रहारहरूलाई आकाशमै नष्ट गरिदिएको बताएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी कदमको कडा विरोध गर्दै सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘इरानले कुनै पनि आक्रमण वा धम्कीको जवाफ नदिई छाड्ने छैन । यदि सुरक्षित रहन चाहनुहुन्छ भने अमेरिकी सेनाले हाम्रो क्षेत्र छोडेर जाओस् ।’
यसैगरी, अमेरिका र इरानबीच जारी शान्तिवार्ताका प्रमुख इरानी प्रतिनिधि मोहम्मद बकिर क्वालिबाफले पनि वार्ता संकटमा परेको संकेत गर्नुभएको छ । उहाँले आफूहरू कूटनीतिक भाषा बोल्न चाहे पनि आवश्यक परे अन्य भाषामा जवाफ दिन तयार रहेको चेतावनी दिनुभएको छ । इरानी सञ्चार माध्यमका अनुसार अमेरिकी आक्रमणबाट इरानका दुईवटा ठूला पानी भण्डारण केन्द्रमा क्षति पुगेको छ, जसकारण त्यस क्षेत्रको खानेपानी आपूर्ति बन्द भएको छ ।
भोकमरी र आर्थिक संकटको त्रास
अमेरिका र इरानबीच चर्किएको यो युद्धको प्रत्यक्ष असर अब विश्वभर देखिन थालेको छ । विशेषगरी ‘स्ट्रेट अफ हर्मुज’ आसपासमा तनाव बढेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकासिएको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेका कारण ढुवानी खर्च निकै बढेको छ ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले यो युद्धका कारण विश्वका सबैभन्दा गरिब र कमजोर समुदायहरू चरम खाद्य संकटको चपेटामा पर्ने चेतावनी दिएको छ । डब्लुएफ्पीका कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्काउले भन्नुभएको छ ः गरिब देशहरूमा खाद्यान्नको मूल्य २० देखि ३० प्रतिशतसम्म बढिसकेको छ, जसकारण मानिसहरू साबिकभन्दा कम खाना खान बाध्य भएका छन् । खाडी क्षेत्रबाट निर्यात हुने रासायनिक मलको आपूर्ति रोकिएकाले सुडान लगायतका अफ्रिकी मुलुक र विश्वभरकै कृषि उत्पादनमा गम्भीर असर परेको छ । डब्लुएफ्पी आफैँ पनि आर्थिक संकटसँग जुधिरहेको छ । सन् २०२४ मा अमेरिकाले चार अर्ब डलर सहयोग गरेकोमा सन् २०२६ सम्म आइपुग्दा यो सहयोग घटेर मात्र ७३ करोड १० लाख डलरमा सीमित भएको छ ।
विज्ञहरूका अनुसार यदि यो युद्ध तत्काल नरोकिएमा आगामी जुलाई महिनासम्म थप चार करोड ५० लाख मानिस तीव्र भोकमरीको शिकार हुनेछन् । हर्मुज जलमार्ग तत्काल खुले पनि यस संकटको दीर्घकालीन असर विश्व अर्थ व्यवस्थामा लामो समयसम्म रहने निश्चित देखिन्छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी