काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसन र नयाँ दमौली सबस्टेसन तथा दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइनको निर्माण कार्य सुरु गरेको छ । अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा भइरहेको उक्त ऐतिहासिक साझेदारीले अन्तर्राष्ट्रियस्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य गरिरहेको छ ।
नेपाल र अमेरिकाको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा उच्च क्षमतायुक्त चार सय केभी सबस्टेसन तथा तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ । उक्त पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रिड सुदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्नेछ भने घरपरिवार र व्यवसायका लागि विद्युत् आपूर्तिको भरपर्दोपनामा सुधार गर्ने, क्षेत्रीय विद्युत् बजारमा नेपालको बृहत् सहभागिता गराउन सघाउने बताइएको छ । बुधबार शिलान्यास गरिएको दुई सय ९७ किलोमिटर प्रसारण लाइन सञ्जालमा लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा प्रसारण लाइन खण्ड, रातमाटे-न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली-न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन् ।
अर्थसचिव तथा एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले भन्नुभयो, ‘नेपाल सरकारले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको छ । ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्द्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक छ ।’ नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले भन्नुभयो, ‘यस कम्प्याक्टमार्फत् हामी नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण गर्दैछौँ । भरपर्दो बिजुली देशका कुना-कुनाका साथै सीमापारसमेत प्रवाहित हुनेछ । घरपरिवारका लागि यसको अर्थ निरन्तर बल्ने बिजुली हुनेछ भने कारखाना तथा कृषिका लागि उत्पादन अभिवृद्धिका लागि ऊर्जाको अनवरत उपलब्धता हुनेछ । नेपाली व्यवसायको विस्तारका लागि यसले नयाँ क्षितिजहरू उघार्नेछ ।’ एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले भन्नुभयो, ‘यी लगानीले घरपरिवार, व्यवसाय र उद्योगका लागि भरपर्दो बिजुली आपूर्ति गर्न आवश्यक प्रसारण प्रणाली सुदृढ बनाएर नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भाव्यता उपयोग गर्न मद्दत गर्नेछ । एमसिसी यस रूपान्तरणकारी पूर्वाधार निर्माण पहलमा नेपालसँग साझेदारी गर्न पाउँदा गौरवान्वित छ ।’
नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भन्नुभयो, ‘एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेका यी पूर्वाधार कुनै छुट्टै प्रणाली नभई नेपालको राष्ट्रिय प्रसारण सञ्जालकै महत्त्वपूर्ण विस्तार हुन् ।’ त्यस्तै एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले भन्नुभयो, ‘नेपालको ऊर्जा पूर्वाधार विकासका सन्दर्भमा आजको दिन एउटा कोशेढुंगाका रूपमा स्थापित हुँदैछ । निर्माणाधीन सशक्त, थप भरपर्दो र नवीन विद्युत् प्रसारण सञ्जालले नेपालीलाई लामो समयसम्म लाभान्वित गर्नेछ भने नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा एक प्रमुख पक्षका रूपमा स्थापित गर्नेछ ।’ उल्लेखित सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण कार्यमा चार निर्माण कम्पनी संलग्न रहेका छन् । टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीले रातमाटे र न्यू दमौली सबस्टेसन निर्माण गर्दैछ भने आशिष-बोझ्लर संयुक्त उपक्रमले लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा प्रसारण लाइन खण्ड, एञ्जेलिक-स्किपर संयुक्त उपक्रमले रातमाटे-न्यू दमौली प्रसारण लाइन खण्ड र वाइबा-सालसर संयुक्त उपक्रमले न्यू दमौली-न्यू बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्दैछन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी