काठमाडाैं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु हुँदैछ। फुटबल इतिहासमै पहिलोपटक तीन देश—अमेरिका, मेक्सिको र क्यानडा—को संयुक्त आयोजनामा हुन लागेको यस प्रतियोगिताको उद्घाटन कार्यक्रम नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने तय गरिएको छ।
यस पटकको विश्वकपलाई विशेष र ऐतिहासिक बनाउने धेरै पक्षहरू छन्। पहिलोपटक तीन देशले संयुक्त रूपमा आयोजना गरिरहेको यस प्रतियोगितामा उद्घाटन समारोह पनि तीन फरक सहरमा भव्य रूपमा गरिनेछ। मेक्सिको सिटी, क्यानडाको टोरन्टो र अमेरिकाको लस एन्जलसमा एकैसाथ विशेष कार्यक्रममार्फत विश्वकपको सुरुवात गरिँदैछ।
प्रतियोगिताको पहिलो खेल आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग घरेलु मैदानमा खेल्दै सुरु गर्नेछ। उक्त खेल नेपाली समयअनुसार राति पौने १ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ।
यस संस्करणको विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन्। यसअघि ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। खेल संरचना पनि विस्तार गरिएको छ, जसअनुसार प्रतियोगिता १६ सहरका १६ विभिन्न मैदानमा सञ्चालन हुनेछ। खेल संख्या पनि उल्लेखनीय रूपमा बढेर १०४ पुगेको छ, जुन अघिल्ला संस्करणभन्दा निकै ठूलो विस्तार हो ।
पाँच पटकको विश्व च्याम्पियन ब्राजिल लगातार २३औँ पटक विश्वकपमा सहभागी हुँदैछ। त्यस्तै साविक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सलाई यसपटक पनि प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको छ।
यस पटक उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डन पहिलोपटक विश्वकप खेल्दै इतिहास रच्दैछन्। उनीहरूसँगै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा पनि आफ्नो पहिलो जितको खोजीमा रहनेछन्।
यस संस्करणमा चार पटकको च्याम्पियन इटाली, साथै पोल्यान्ड, डेनमार्क, नाइजेरिया र क्यामरुन जस्ता चर्चित टोलीहरू छनोट हुन नसक्नु प्रतियोगिताको अर्को महत्वपूर्ण पक्ष बनेको छ।
यस विश्वकपमा विश्व फुटबलका चर्चित तथा प्रभावशाली खेलाडीहरूको उपस्थिति रहनेछ। ब्राजिलका नेयमार, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बाप्पे तथा स्पेनका युवा प्रतिभा लामिन यमल लगायतका स्टार खेलाडीहरू मैदानमा उत्रिँदै प्रतियोगितालाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
यसरी विश्व फुटबलको यो महाकुम्भले नयाँ इतिहास लेख्ने तयारी गरिरहेको छ, जसलाई विश्वभरका करोडौँ दर्शकले उत्साहपूर्वक प्रतिक्षा गरिरहेका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी