काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा भएको सार्वजनिक खरिद अनियमितता प्रकरणमा संलग्न भएको आरोपसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले आ.व. २०७९/८० अन्तर्गतको भवन निर्माण ठेक्का प्रक्रियामा कर्मचारी, निर्माण व्यवसायी तथा मूल्याङ्कन समितिका सदस्यहरूको मिलेमतोमा गम्भीर अनियमितता भएको निष्कर्षसहित मुद्दा अघि बढाएको हो।
अनुसन्धान अनुसार, ठेक्का आह्वानको प्रारम्भिक चरणमै मिलेमतो गरी एक निर्माण व्यवसायीलाई मात्र प्राविधिक रूपमा योग्य ठहर गर्दै अर्को प्रतिस्पर्धी निर्माण सेवा “श्री राम निर्माण सेवा” लाई अनुत्तीर्ण गराइएको पाइएको छ। सोही कारण उक्त कम्पनीको आर्थिक प्रस्ताव नै नखोली प्रतिस्पर्धा सीमित गरिएको आयोगको ठहर छ।
त्यसपछि गरिएको मूल्याङ्कन र सम्झौतामा सार्वजनिक खरिद नियमावलीविपरीत निर्णय गरिएको र प्रतिस्पर्धी कम्पनीको प्रस्ताव स्वीकृत नगरिँदा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको दाबी अख्तियारको छ।
आर्थिक विवरण अनुसार, “श्री राम निर्माण सेवा” ले पेश गरेको प्रस्ताव करसहित करिब रु. २ करोड ८९ लाख ६४ हजार रहेको देखिएको छ भने “राधा कृष्ण निर्माण सेवा” को सम्झौता रकम करसहित रु. ४ करोड १६ लाख ६० हजार रहेको थियो। यसबाट करिब रु. १ करोड २६ लाखभन्दा बढी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी भएको अख्तियारको निष्कर्ष छ।
आयोगले तत्कालीन कार्यालय प्रमुख, मूल्याङ्कन समिति सदस्य तथा सम्बन्धित निर्माण व्यवसायीसहित संलग्न व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार निवारण ऐनअनुसार सजाय र बिगो असुल उपरको मागसहित मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारले सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता कायम नगर्ने तथा मिलेमतोमार्फत राज्य कोषमा क्षति पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।








निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि