काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहेको छ। छलफलमा सहभागी सांसदहरूले बजेटका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षबारे आ–आफ्ना धारणा राख्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद डा. कृष्णहरि बुढाथोकीले बजेटले उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले भन्सार महसुल अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै त्यसको आधार र यथार्थताबारे अर्थमन्त्रीसँग स्पष्ट जवाफ माग गर्नुभयो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले समानुपातिक विकासको लक्ष्य लिइए पनि बझाङ, बाजुरा, डोटी र अछामजस्ता विकासको आवश्यकता भएका जिल्लामा पर्याप्त बजेट नपरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले सीमा क्षेत्रलाई प्राथमिकतामा राख्ने भनिए पनि व्यवहारमा त्यसो हुन नसकेको टिप्पणी गर्नुभयो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पशुराम तामाङले बजेटले धनी र गरिबबीचको आर्थिक असमानता झन् बढाउने जोखिम रहेको बताउनुभयो। उहाँले पहाडी क्षेत्रमा जङ्गली जनावरको समस्या नियन्त्रण गर्दै आर्थिक गतिविधि विस्तार गर्न सरकारको ध्यान जानुपर्ने सुझाव दिनुभयो।
श्रम संस्कृति पार्टी का सांसद हर्कराज राईले बजेट जनताका वास्तविक समस्या समाधानमुखी हुन नसकेको आरोप लगाउँदै धरानमा देखिएको खानेपानी समस्याप्रति सदनको ध्यानाकर्षण गराउनुभयो।
रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले शिक्षामा कर लगाउने व्यवस्थाप्रति असहमति जनाउँदै शिक्षा मौलिक अधिकार भएकाले त्यसमा कर लगाउन नहुने धारणा राख्नुभयो। उहाँले कर्मचारीको तलब वृद्धि भए पनि आम नागरिकका लागि राहत दिने प्रभावकारी कार्यक्रम बजेटमा नदेखिएको टिप्पणी गर्नुभयो।
नेपाली कांग्रेसकी सांसद सीता थपलिया ले प्रत्येक जिल्लामा नमूना विद्यालय स्थापना गर्ने अपेक्षा भए पनि बजेटमा त्यस्तो कार्यक्रम समावेश नभएको बताउनुभयो। उहाँले शिक्षामा कर लगाइएको विषयमा आपत्ति जनाउँदै ग्रामीण क्षेत्र र किसानलाई लक्षित कार्यक्रम कमजोर रहेको धारणा व्यक्त गर्नुभयो।
एमालेका सांसद टुकाभद्र हमाल ले आगामी आर्थिक वर्षको बजेटले अपेक्षित रूपमा महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने विषयहरू समेट्न नसकेको टिप्पणी गर्नुभयो।
प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहेको छ भने सांसदहरूले उठाएका प्रश्न र सुझावको जवाफ अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…