काठमाडौं । भारतको सोसाइटी फर कम्युनिटी मोबिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट तथा नेपालको नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालतर्फबाट नवप्रभात डेरी उद्योगलाई ‘उत्कृष्ट कृषि उद्योग पुरस्कार’ प्रदान गरिएको छ । महिला तथा युवामार्फत् कृषि व्यवसाय पारिस्थितिक प्रणालीको रूपान्तरण भन्ने मूल विषयमा आयोजित सम्मेलनमा एसियाका विभिन्न मुलुकका कृषि विज्ञ, सरकारी प्रतिनिधि, उद्योगी तथा व्यवसायीको उल्लेखनीय सहभागिता थियो ।
सम्मेलनका क्रममा कृषि, उद्योग तथा व्यवसायका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न देशका विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएकोमा नेपालतर्फबाट ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित नवप्रभात डेरी उद्योगलाई उत्कृष्ट कृषि उद्योगका रूपमा सम्मानित भएको हो । उक्त पुरस्कार डेरी उद्योगका तर्फबाट प्रह्लाद दाहालले ग्रहण गर्नुभएको छ ।
नेपाल फार्मर्स एड्भाइजरी काउन्सिल अध्यक्ष डा. योगेन्द्र कार्कीका अनुसार कृषि तथा दुग्ध क्षेत्रको विकास, किसानको समृद्धि तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा नवप्रभात डेरी उद्योगले पुर्याएको निरन्तर योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सो अवसरमा डेरी उद्योगका कार्यकारी निर्देशक सुरेश तिमल्सिनाले प्राप्त सम्मान सम्पूर्ण नेपाली कृषक, दुग्ध उत्पादक, उद्यमी तथा शुभेच्छुकहरूमा समर्पित रहेको बताउनुभयो । सम्मानले कृषि तथा दुग्ध क्षेत्रको विकासमा अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न थप प्रेरणा प्रदान गरेको उहाँको भनाइ थियो ।
पाटन औद्योगिक क्षेत्रस्थित नवप्रभात डेरी उद्योग अन्तर्राष्ट्रिय गुणस्तर मान्यता (आइएओ) प्राप्त डेरी उद्योग हो । उद्योगले हाल दैनिक करिब २५ हजार लिटर दूध प्रशोधन तथा खपत गर्दै आएको छ । उद्योगमार्फत् दैनिक करिब १७ लाख रुपैयाँ शहरबाट गाउँतर्फ आर्थिक प्रवाह भइरहेको बताइएको छ । डेरी उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईंका अनुसार उद्योगले ‘प्रभात’ ब्राण्डमा दूध तथा विभिन्न दुग्धजन्य उत्पादनहरू काठमाडौं उपत्यकासहित देशका विभिन्न बजारमा बिक्री गर्दै आएको छ । प्रबन्ध निर्देशक सुरेश तिमल्सिनाले सम्मानलाई उद्योगले विगतदेखि गर्दै आएको सकारात्मक कार्यको प्रतिफलका रूपमा लिएको भन्दै नवप्रभात डेरी उद्योगले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा प्रशंसापत्र प्राप्त गरिसकेको जानकारी दिनुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि