ललितपुर । एनसेल बिजनेसको ललितपुरको नख्खुमा सञ्चालित अत्याधुनिक डेटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टिआइए-९४२-सी रेटेड ३ डिजाइन एण्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेसन’ को प्रमाणीकरण प्राप्त गरेको छ । उक्त अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त टिएर थ्री प्रमाणीकरणले एनसेल डेटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गरेको कम्पनीले जनाएको छ । इन्टिग्रेटेड डेटा सेन्टरका रूपमा समेत चिनिएको उक्त डेटा सेन्टर सरकारद्वारा सूचीकृत भएको नेपालकै पहिलो डेटा सेन्टर तथा क्लाउड सेवा पनि हो ।
प्रमाणीकरणले एनसेल डेटा सेन्टरको डिजाइन रेटिङ थ्रीको मापदण्डअनुसार रहेको पुष्टि गर्छ । जसले अत्यावश्यक र संवेदनशील कार्य सञ्चालन गर्न समानान्तररूपमा मर्मत गर्न सकिने उच्च उपलब्धता, उच्च अतिरिक्तता र प्रतिकूलताबाट छिट्टै उठ्ने क्षमताका पूर्वाधार उपलब्ध रहेको सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार अधिकतम अपटाइमका लागि डिजाइन गरिएको डेटा सेन्टर पूर्वनिर्धारित मर्मत वा आकस्मिक घटनाहरूको समयमा पनि बिना कुनै अवरोध सञ्चालनमा रहन सक्षम छ र पूर्णरूपमा अतिरिक्त विद्युत् आपूर्ति, कुलिङ तथा नेटवर्क प्रणालीमार्फत् लगभग ९९.९८२ प्रतिशत उपलब्ध रहन्छ ।
उक्त मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेसन इन्डष्ट्री एसोसिएसन (टिआइए)बाट अधिकार प्राप्त अडिट र प्रमाणीकरण गर्ने संस्था डेटा सेन्टर मिडिया एलएलपीले गरेको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भन्नुभयो, ‘प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि पनि एक कोशेढुंगा हो किनकि नेपालबाट डिजाइन एण्ड कम्स्ट्रक्टेड फसिलिटीमा उक्त टिआइएको प्रमाणीकरण प्राप्त गर्ने एनसेल डेटा सेन्टर पहिलो हो । हामी विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध छौँ, जसले स्थानीय व्यवसायहरूलाई विस्तार गर्न आत्मविश्वास दिन्छ र सरकारको डिजिटल रूपान्तरणको महत्त्वाकांक्षालाई पनि योगदान पुर्याउँछ । विभिन्न संवेदनशील क्षेत्रका ग्राहकले अब नेपालमै होस्ट गरिएका सुरक्षित र सधैँ उपलब्ध सेवामा भरोसा गर्न सक्छन्, किनकि विश्वसनीयता त्यस्ता व्यवसायका लागि अत्यावश्यक छ, जसले सेवा अवरुद्ध हुने अवस्थाको परिकल्पनासमेत गर्न सक्दैनन् ।’
एनसेल डेटा सेन्टरले सूचना सुरक्षा र गोपनीयतासम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासका लागि आइएसओ २७००१ र आइएसओ २७७०१ मान्यता पनि प्राप्त गरिसकेको छ, जसले सुशासन, डेटा संरक्षण अनि जोखिम व्यवस्थापन प्रक्रिया थप बलियो बनाउँछ । साथै एनसेलले आइएसओ ९००१ र १४००१ मान्यता पनि प्राप्त गरिसकेको छ । कम्पनी सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न तथा वातावरणीय प्रभाव न्यूनतम राख्न सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्छ ।
कम्पनीका अनुसार प्रमाणीकरणले एनसेल बिजनेसको क्षमतामा थप अभिवृद्धि भएको छ । जसले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सरकारी निकाय, साना तथा मझौला उद्योग र ठूला व्यवसायलगायतका सेवाग्राहीलाई डिजिटल सेवा उपलब्ध गराउन अनि नियामकीय नियम कानुनको पालना गर्दै अत्यन्तै संवेदनशील सेवाहरू सुरक्षित एवं अत्यन्त भरपर्दो पूर्वाधारमार्फत् उपलब्ध गराउन एनसेल बिजनेस दक्ष रहेको पुष्टि गर्दछ । साथै प्रमाणीकरणले बैंकिङ कारोबार, इन्टरप्राइज रिसोर्स प्लानिङ प्लेटफर्म र अनलाइन सेवाहरू जस्ता महत्त्वपूर्ण प्रणालीको डाउनटाइम अर्थात् निष्क्रिय रहने समय न्यूनतम बनाउन मद्दत गर्नुका साथै अडिट र कम्प्लाएन्ससँग सम्बन्धित आवश्यकताहरूलाई सरल बनाउँछ । महत्त्वपूर्ण डेटाको सुरक्षित स्थानीय होस्टिङ सक्षम बनाएर डेटा सार्वभौमिकता बलियो बनाउँछ, विदेशी पूर्वाधारमा निर्भरता घटाउँछ र देशलाई उदीयमान डिजिटल हबका रूपमा अघि बढाउँछ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…