काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को शुक्रबार काठमाडौंमा हुन गइरहेको आगामी नयाँ कार्यसमितिको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा र बलराम खतिवडाबीच प्रतिस्पर्धा हुँदैछ । खतिवडा वर्तमान कार्यसमितिमा महासचिव हुनुहुन्छ भने लामा वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षका लागि लामा र खतिवडा प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएको हो । लामा सिइडिबी होल्डिङ्स लिमिटेडका अध्यक्ष तथा प्रबन्धक हुनुहुन्छ भने खतिवडा वराह मल्टिपावर लिमिटेडका अध्यक्ष हुनुहुन्छ । इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले अध्यक्षबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । आगामी नयाँ कार्यसमितिको अध्यक्ष भने वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी हुनुहुनेछ । शुक्रबार हुने इप्पानको २४ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार लामा प्यानलतर्फका उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुशन कर्माचार्य, हिम पाठक, बिक्रम विष्ट र नरेन्द्रबल्लभ पन्त प्रतिस्पर्धामा रहेका छन् भने महासचिवमा टिएन आचार्य, उपमहासचिवमा कविता पोखरेल, कोषाध्यक्षमा शंकर बस्याल तथा सचिवहरूमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई रहेका छन् । त्यस्तै, सदस्यमा अनुप आचार्य, जगत् पोखरेल, कदम केसी, प्रतिम ज्ञवाली, वर्णन लामिछाने, नारायण खनाल, ज्योति गैरे, सोमनाथ कँडेल, सरिता शाक्य प्रधान रहेका छन् ।
खतिवडा प्यानलतर्फ उपाध्यक्षका उम्मेदवारहरूमा वर्तमान उपाध्यक्ष भरतबहादुर खत्री, वर्तमान सचिव भरतप्रसाद नेपाल, कुमार खरेल, इञ्जिनियर दीपक पौडेल तथा महिला उपाध्यक्षतर्फ सिर्जना खड्का रहेका छन् । महासचिव पदका लागि वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिवमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर लिम्बू, इञ्जिनियर वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र ईशा श्रेष्ठ रहेका छन् । कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य इञ्जिनियर मिथुन पौडेल हुनुहुन्छ भने सदस्य पदका उम्मेदवारमा सोमनाथ कँडेल, डा. भूषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सिए नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली रहेका छन् ।
खतिवडा प्यानल परिवर्तनका लागि सहभागितामूलक/प्रतिनिधिमूलक नयाँ र ऊर्जा क्षेत्रको अनुभवी नेतृत्व भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको छ । उक्त समूहले इप्पानको संस्थागत पुनर्संरचना, सहभागितामूलक नेतृत्व, सुशासन तथा ऊर्जा क्षेत्रका साझा मुद्दाको प्रभावकारी समाधानलाई प्राथमिकतामा राख्दै प्रतिबद्धतापत्र सार्व{जनिक गरेको छ । प्रतिबद्धतापत्रमा विगतका साधारणसभाबाट पारित भएका संस्थागत सुधारका प्रस्ताव कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै इप्पानलाई अझ समावेशी, प्रतिनिधिमूलक र सबै ऊर्जा उद्यमीको साझा संस्था बनाउन आवश्यक रहेको औंल्याइएको छ । हाल इप्पानमा नयाँ ऊर्जा उद्यमीहरूको आकर्षण बढ्दै गएको र संस्थागत सुधार र व्यापक सहभागिताका एजेण्डाका कारण पछिल्लो अवधिमा मात्र करिब दुर्ई सय ५० नयाँ आयोजना तथा कम्पनी इप्पानमा आबद्ध भएका बताइएको छ ।
प्रतिबद्धतापत्रमा इप्पानलाई ऊर्जा उत्पादकहरूको प्रभावकारी छाता संगठनका रूपमा विकास गर्ने, सबै सदस्य कम्पनीका समस्या सुन्न हेल्पडेस्क स्थापना गर्ने, नियमित समीक्षा बैठक सञ्चालन गर्ने तथा विभिन्न विषयगत समिति र उपसमिति गठन गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने लगायत रहेका छन् । उक्त समूहले ऊर्जा क्षेत्रसँग सम्बन्धित कानुन, नीति, आयोजना निर्माण, डिजाइन तथा प्रशासनिक प्रक्रियामाथि अध्ययन-अनुसन्धान गरी सरकारसमक्ष तथ्यमा आधारित सुझाव प्रस्तुत गर्ने जनाएको छ । १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
त्यस्तै, ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरण, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत निकायसँग संस्थागत सम्बन्ध विकास गरी ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणमा जोड दिने, हाल विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) को पर्खाइमा रहेका १६ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको पिपिए तत्काल खुलाउन पहल गर्ने, ‘टेक अर पे’ व्यवस्था कार्यान्वयनका लागि दबाबमूलक भूमिका खेल्ने तथा प्रसारण लाइन निर्माणमा देखिएका अवरोध हटाउन सरकारसँग समन्वय गर्ने बताइएको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेद्वारी घोषणा गर्दै उत्तम लामाले सक्षम, उत्तरदायी तथा दूरदर्शी नेतृत्वमार्फत् संस्थाको समग्र विकास, सुशासन, पारदर्शिता र सदस्यहरूको हित प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । सरकारसँग समन्वय, संस्थाको दिगो विकास, सदस्यहरूको सक्रिय सहभागिता तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सकारात्मक र मुद्दाकेन्द्रित अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । ‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै लामाले आगामी तीन वर्षका लागि संस्थाको स्पष्ट कार्यदिशा अघि सार्नुभएको छ । भिजनमा पिपिए सुधार, नीतिगत तथा कानुनी सुधार, लगानी तथा वित्तीय सुधार, प्रसारण तथा पूर्वाधार निर्माणमा तीव्रता, ऊर्जा खपत विस्तार तथा निर्यात प्रवर्द्धन, वन तथा वातावरणीय प्रक्रियामा सरलीकरण, इप्पानलाई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने तथा चुस्त र सक्षम संस्थागत व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । हाल रोकिएका १२ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजनाको पिपिए खुलाउने, ‘टेक एण्ड पे’ व्यवस्थाको पुनरवलोकन गरी ‘टेक अर पे’ सुनिश्चित गर्ने, ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा स्थापित गर्दै सहुलियत ऋणको व्यवस्था तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने लक्ष्य राखिएको छ ।
त्यस्तै, वन तथा वातावरणीय स्वीकृति प्रक्रिया सरल बनाउने, एकद्वार प्रणाली लागू गर्न पहल गर्ने, विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने तथा अन्तरदेशीय विद्युत् व्यापार विस्तारका लागि आवश्यक नीतिगत व्यवस्थामा जोड दिइएको छ । इप्पानलाई केवल दबाब समूह नभई नीति अनुसन्धान र तथ्यमा आधारित वकालत गर्ने संस्थाका रूपमा विकास गरिने बताउनुभयो । सातै प्रदेशमा इप्पानको प्रभावकारी उपस्थिति, अनुसन्धान केन्द्र स्थापना तथा सदस्यहरूलाई कानुनी, वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउने लामाको भनाइ थियो । लामा समूहले आफ्नो मुख्य प्रतिबद्धताका रूपमा ‘हामी विरोध होइन-समाधान दिन्छौं’, हामी नारा होइन-संरचना बनाउँछौं र हामी व्यक्तिगत होइन-संस्थागत नेतृत्व गर्छौं’ भन्ने नारालाई अघि सारेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि