दूध उम्लेपछि ठीक समयमा आगो निभाइएन वा सानो पारिएन भने पोखिन्छ र आफूलाई उमाल्ने आगोलाई समेत निभाउँछ । अर्थात् उम्लेको दूधलाई सही ढंगले उतारिएन भने आफूलाई सिध्याउँछ र आफूलाई शक्ति प्रदान गर्नेलाई पनि सिध्याउँछ । अहिले शासनारुढ राष्ट्रिय स्वतन्त्र पार्टी उम्लन लागेको दूधजस्तो देखिन्छ । संसद्मा एकस्थान कम दुईतिहाइको अहंकारका कारण जे पनि गर्न सकिन्छ भन्ने उसमा पारा चढेको छ । अढाई महिना पुग्दैछ शासनको मियोमा पुगेको । सामान्यतः अढाई महिना केही होइन । त्यसमा पनि पूर्ण नयाँ नेतृत्वका लागि निर्णय गर्नु पहिले विषयको अध्ययन र जानकारी लिने समय हो । निर्णय गरिहाल्ने समय होइन । तर चर्को आगोमा राखिएको कुँढेको दूधजस्तो पहिल्यै दिनदेखि सरकार निर्णयको भूमरीमा फस्न लाग्यो । उसले प्रतिशोधको दाबाग्नि सल्कायो र केही पुराना पार्टीका नेताहरुलाई गिरफ्तार गर्ने काम गर्यो, विगतको आफ्नो कार्यकालमा महानगरको विपन्न खेद अभियानको असफलताको पीडा मेट्न तुरुन्त नै विपन्न लखेटको निर्णय गर्दै भयानक क्ररता देखायो ।
संसद्प्रति आफ्नो विश्वास छैन भन्ने सन्देश दिन राष्ट्रपतिको र संसद्को मर्यादासमेत धुलोमा मिलाउने काम गर्यो, एकात्मक राज्यसत्ता चलाउने कार्यकारी पद बनाउने प्रयासमा, विगत करिब असी वर्षदेखिको त्याग, बलिदान र योगदानको परिणाम आएको संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाउन कुनै कसर छोडेन, खर्च घटाउने डंका पिट्दै राज्यमन्त्रीसरहका अनेक पद सिर्जना गरी राज्यकोष दोहन गर्ने नयाँ तरीका अपनायो र निकटस्थ सेवकहरुको सेवा लिइरहेको छ । विगतमा दलीयकरणले जर्जर भएको राज्य संयन्त्रको सुधारका नाममा पुराना फाल र नयाँ भर्ती गर्दै आफ्नो दलीय संयन्त्र निर्माण गर भन्ने रणनीतिको अभ्यास सुरु गर्यो ।
यी सबैभन्दा गम्भीर कुरा हो सार्वभौम सार्वोच्च संस्था संसद्को रोष्ट्रममा उभिएर आफ्नो देशले छिमेकीको जग्गा मिचेको छ भन्ने घोषणा गर्यो । आफ्नो देशले कुनै शक्तिशाली छिमेकीविरुद्ध अपराध गरेको छ भन्नेशैलीमा आत्मस्वीकृति गर्ने दुर्लभ देशको नायक नेपालमै छन् भन्ने प्रमाणित गर्यो । दोस्रो विश्वयुद्धका समयमा सिपाहीहरुबाट जापानी महिलाहरुलाई यौनजन्य अपराध गरेकोमा क्षमा मागिएको इतिहासमा अंकित छ । तर अनेक देशले अरू देशका सीमा मिचेका छन्, जमिन कब्जा गरेका छन्, तर अरू देशको एक इञ्च भूमि मिच्न नसक्ने इतिहास भएको नेपालले भारतको भूमि मिचेको उद्घोषण गर्दा नेपालीहरुको राष्ट्रियता मृत्युशैय्यामा रोई रहेको जस्तो बनायो । आश्चर्य त के छ भने यहाँका मूर्धन्य प्रशासक, नेपाली राष्ट्रवादका पुराना ठेकेदार, सेनाका निवृत्त जर्नेल र केही बुद्धिजीवीहरु नेपाल नै मिचाहा हो, नेपालले भारतको जमिन मिचेकै हो भन्ने सिद्ध गर्न न्वारानदेखिको बल लगाएर लागेको देखियो । अहिले संसद्मा परराष्ट्रमन्त्रीले मिचेको भन्ने शब्दको आसय र व्याख्या गरेपछि मिचेको प्रमाणित गर्न हिँड्नेहरु कुन दुलोमा पसे जानकारीमा आएको छैन ।
नाकको डाँडीमा गुहू छ कि गोबर छ कि चन्दन छ थाहा नपाउनेहरुले प्रतिरक्षा गरेका प्रधानमन्त्री भने अझै मौन हुनुहुन्छ । उहाँ कहाँ हुनुहुन्छ थाहा छैन । किनकि उहाँ जाने कुनै क्लब वा कुनै विशिष्ट स्थानमा सर्वसाधारणको पहुँच हुनसकेको छैन । संसद्मा उहाँ आउनुहुन्न, सञ्चारकर्मीसँग बोल्नु हुन्न । उहाँसँग गरिने सबै जिज्ञाषा सामाजिक सञ्जाल कि अखवार अथवा रेडियो र टेलिभिजनमा एकोहोरो उठाइएका हुन्छन् । उत्तर बालेन नामका अनेक फेसबुक आइडीका भरमा देखिन्छ । ती आइडी सही हुन् कि होइनन् त्यो पनि आमनागरिकलाई जानकारी हुनसक्दैन । कुनै दिन एनिमल फार्म पढिएको थियो अहिले नेपाल पढ्नुपर्ने भएको छ ।
अर्थमन्त्रालयको कर काण्ड बाहिरियो । नवनियुक्त गृहमन्त्रीको विवाद उठ्यो । तर आफैं....अनि आफैं झाक्री जस्तो देखियो । शब्दको खेती जसरी जुनरूपमा गरे पनि हुन्छ । ०७९ यता संसद्मा अर्थमन्त्री स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोल्नुभएका विषय र आज गर्नुभएका विषयमाथि कसैले अनुसन्धान गर्ने हो भने विरोधाभाष र पाखण्डको मूर्त ठेली बन्नसक्छ । तैपनि हिजोका राजनीतिक दलका उदाहरण दिँदै आजका अपराधहरुलाई प्रमाणित गर्ने हास्यास्पद प्रयत्न भइरहेको छ । हिजोकाले त आफ्ना दुष्कृत्यहरुको दण्ड जनताबाट नै पाइसकेका छन् । उनीहरु दण्डित भएको अवस्था छ । विगतमा भए गरेका गलत कामहरुको उदाहरण दिएर वर्तमानका आफ्ना गल्ती र अपराध छोप्ने प्रयास जनताले परिवर्तनका लागि दिएको मतको खुला अपमान हो ।
कुनै नराम्रा विषय उठे कि हिजोकाले यसो गरे, हिजोको अपराध यो थियो र ऊ थियो भन्ने भाष्यले के स्पष्ट गर्छ भने हिजो तिमीहरुले खायौ, आज हामीले खानुपर्छ, हिजो तिमीहरुले गैरकानुनी काम गर्यौ, आज हामीले कानुनविरुद्ध काम गर्न पाउनुपर्छ, हिजो तिमीले ज्यादती गर्यौ आज हामीले गर्न पाउनुपर्छ, हिजो तिमीले प्रतिशोध गर्यौ आज हामीले प्रतिशोध गर्नु धर्म हो, हिजो तिमीले मान्छे मार्यौ आज हामीले पनि मार्न पाउनुपर्छ, हिजो तिमीले विवेक गुमायौ आज हामीले गुमाउन पाउनुपर्छ, हिजो तिमीले अन्याय गर्यौ आज हामीले त्यही दोहोर्याउन पाउनुपर्छ, हिजो तिमीले सरकार संयन्त्रमा स्वजन भर्यौ आज हामीले त्यो अवसर पाउनुपर्छ । हिजो तिमीले अदालत कब्जा गर्यो आज हामीले त्यही गर्छौं । के यही हो नयाँहरुको सोच ? संसद् हेर्दा शासकीय नेतृत्वका काम हेर्दा यस्तै देखिन्छ ।
संसद्मा सभामुख शान्त, भद्र देखिनुहुन्छ । तर उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको उपाध्यक्ष जस्तो व्यवहार गर्नुहुन्छ । सभामुखमा दुईजना उदाहरणीय छन् : पहिलो दमननाथ ढुंगाना र दोस्रो सुवाष नेम्वाङ । कमसेकम वर्तमान सभामुखले ती पूर्वजले कसरी संसद् चलाउनुभएको थियो अध्ययन गरे भयो नि । राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षमा इस्पातजस्तो उभिने राजावादीहरु, पुराना जरसाहवहरु, केही प्रशासक र कूटनयीकहरुको आशा यो पार्टीले नेपालमा सनातन हिन्दू धर्म र राजसंस्थाका पक्षमा काम गर्नेछ भन्ने देखिन्छ । बालेनको भूमि मिचेको कवोलनामा, भारतमा भारतीय जनता पार्टी र यसका प्रधानमन्त्रीले रास्वपा सभापति लामिछानेलाई दिएको सम्मान, परराष्ट्रमनत्रीको भ्रमण आदिका कारण छिमेकी सरकार पनि यसमा सकारात्मक रहेको सन्देश दिने प्रयास भइरहेको छ ।
त्यसो हो भने रास्वपासँग भएको १८२ स्थान, स्वतन्त्र एकस्थान र राजा र धर्मका पक्षमा पुरजोर तर्क गरिरहेको राप्रपा जोड्दा संसद्मा सजिलै दुईतिहाइ बहुमत पुग्छ । संविधान संशोधनको विषय चर्चामा छ । सिधै प्रस्ताव लगे भयो नि । किन लुकाछिपीको खेल खेल्नु ? यसै पनि प्रधानमन्त्रीका व्यवहारले संसदीय परिपाटीको, संसदीय मर्यादाको र संसदीय लोकतन्त्रका मूल्यको धज्जी उडाएकै छन् । यी सबैको निचोड हो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व र यसको नेतृत्वमा रहेको सरकार जिम्मेदार बाटोमा छैन । दूध उम्लेर आगो निभाउने र आफू पनि पोखिने चरणमा पुग्ने राजमार्ग निर्माणमा यो पार्टी देखिन्छ । यदि यो होइन भने अज्ञानता हो कि हेपाहा प्रवृत्ति ? प्रश्न गर्नुपर्ने भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि