विद्यालय शिक्षामा सुधार गरी गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ सामुदायिक विद्यालयलाई स्थानीय सरकारको मातहतमा राखिएको हो । संघीय सरकारले केन्द्रीय विभागको मातहतमा सञ्चालन भइरहेका विद्यालयलाई भौतिक पक्ष र प्राज्ञिक प्रगतिको पक्षको मूल्यांकन गर्ने कार्य पनि स्थानीय निकायको मातहतमा सुम्पिँदा शैक्षिक पक्षको अनुगमन र मूल्यांकन हुनसकेको देखिएन । जसको परिणाम ग्रामीण र अति विकट दुर्गम क्षेत्रका विद्यालयहरू अभिभावकविहीन जस्तै भएका छन् । भनिन्छ, सामुदायिक विद्यालय सामुदायका मातहत र निगरानीमा सञ्चालित छन् तर कतिपय सामुदाकि विद्यालयहरू दयनीय अवस्थामा चलेका छन् र केवल स्थानीय शिक्षकको जागिर खाने स्थलोमात्र बनेका छन् ।
गोरखापत्रलगायत कैयौं पत्रत्रिकामा उल्लेख भएका तथ्यांक अनुसार विद्यार्थी नै नभएका र एकजना मात्र विद्यार्थी भएका विद्यालयमा पनि शिक्षले हाजिर गर्ने र तलब खाने गरेको देखियो । स्थानीय सरकार वा पालिकाले त्यस्ता विद्यार्थी नै नभएका र एक वा दुईजना विद्यार्थी भएका विद्यालयमा पनि प्रत्येक महिनामा तलबभत्ता निकासा हुने गर्दा स्थानीय पालिकाले के कस्तो अनुगमन र मूल्यांकन गरेको रहेछ ? भन्ने जानकारी प्राप्त भयो । संघीय सरकारले अनुगमन र मूल्यांकन नगरी केको आधारमा विश्वस्त भएर तलबभत्तालगायत विभिन्न शीर्षकमा बजेट निकासा गर्ने गरेको छ । यो एउटा गहन अनुसन्धानको विषय भएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव : ग्रामीण क्षेत्रका अधिकांश बस्तीका घरहरू खाली छन् । घर गाउँमा बाँदर र जंगली जनावरको राज्य भएको छ । युवा वर्ग जति सबै विदेश पलायन खेतबारी सबै वनजंगल भएका छन् । गाउँ छाड्न नसक्ने आर्थिक अवस्था कमजोर भएका, हिँडडुल गर्न र काम गर्न नसक्ने वृद्ध अशक्त र अन्त जान नसक्नेमात्र गाउँमा छन् । कृषिप्रधान गाउँको मुलुक नेपालम आज युवायुवती र बालबालिकारहित भएको छ । ग्रामीण क्षेत्रमा बालबालिका र युवायुवती नभएपछि कसरी विद्यालय सञ्चालन गर्ने ? ग्रामीण क्षेत्रका प्राविधिक विद्यालय पनि विद्यार्थीको अभावमा केही बन्द छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् ।
कृषिप्रधान गाउँको मुलुक नेपालम आज युवायुवती र बालबालिकारहित भएको छ । ग्रामीण क्षेत्रमा बालबालिका र युवायुवती नभएपछि कसरी विद्यालय सञ्चालन गर्ने ? ग्रामीण क्षेत्रका प्राविधिक विद्यालय पनि विद्यार्थीको अभावमा केही बन्द छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् ।
एउटा पालिकाभित्रका विद्यार्थी कम भएका विद्यालयहरू एउटा विद्यालयमा पायक पर्नेगरी तीनवटा विद्यालयसम्म मर्ज गरिएको सूचना प्राप्त भएको छ । यसरी मर्ज भएका विद्यालय आउन असुविधा भएमा पालिकाले विद्यालयमा नै आवासको व्यवस्था गर्ने भन्ने सकरात्मक खबर प्राप्त भएको छ । स्थानीय शिक्षकहरू एक दुई जना केटाकेटी बटुलेर जागिर जोगाउने दिन अब अन्त्य भए । विद्यालय समुदायको साझा सम्पति हो, समुदायले नै सामुदायिक विद्यालयको संरक्षण संबर्धन र विकासमा सहयोग गर्नुपर्छ ।
अविभावकमा हुनुपर्ने गुणहरू : कुनै पनि बालबालिकाको पहिलो पाठशाला उसको घर हो । उसका पहिलो गुरु नै उसलाई जन्म दिने आफ्नै मातापिता हुन् । सर्वप्रथम बालकले आँखाको हाउभाउले आमासँग आफ्नो भाव व्यक्त गर्दछ । जब बालकको बोली फुट्छ उसले आमा–बाबा, मामा जस्ता शब्द प्रयोग गर्न मातापिताबाट सहयोग पाएको हुन्छ । आफ्नो मातृभाषामा आवश्यक शब्दको प्रयोग गरी एक आपसमा कुरा गर्न घरपरिवारका सदस्यबाटै सहयोग हुन्छ । आफ्ना बालबालिकालाई कस्तो शिक्षा दिने ? भविष्यमा कस्तो व्यक्ति भएको देख्न चाहने हो ? त्यस विषयमा मातापिताको पनि गहन भूमिका रहेको हुन्छ । बालकको खेल्ने साथी र विद्यालय जाने आउने साथी को हो ? उसको साथीको बोलीचाली, भाषाशैली, बानीव्यवहारलाई राम्रो अध्ययन गर्नुपर्छ । बालबालिकाको बानी-व्यवहारमा र रहनसहनमा साथीसँगीको प्रभाव परेको हुन्छ ।
आफ्नो बालकले प्रयोग गर्ने शब्द र बाक्य संरचनामा पनि अविभावक स्वयंले चासो राख्नुपर्छ । शिक्षकले दिएको घरकाम र परियोजना कार्यलाई के कसरी हल गरिरहेको छ ? गणितका समस्या हल गर्ने विषय होस् वा चित्र बनाउने र रङ भर्ने विषय के कति सफा बनाएको छ ? बालकले कलम कसरी समाउनुपर्ने हो ? कसरी समाएको छ ? कपी र कलम प्रयोग कसरी गरेको छ ? आदि विषयमा अविभावले राम्रोसँग अध्ययन गरी समय समयमा सहयोग गर्ने तरिका बताउनुपर्ने हुन्छ ।
बालकले प्रयोग गर्ने लुगा, जुत्ता मोजा र कपीकिताबलाई आवश्यक पर्दा प्रयोग गर्ने, प्रयोग गरेपछि उपयुक्त स्थानमा राख्ने बानीको विकास गर्न सहयोग गर्ने तथा बालबालिकाले प्रयोग गर्ने शब्द चयन र वाक्य निर्माण गर्ने विषयमा पनि शिक्षक र अविभावकको गहन भूमिका रहेको हुन्छ । अविभावक समय समयमा स्वयं आफैं विद्यालय जाने र आफ्नो बच्चाको विषयमा प्रगतिविवरण लिने र शिक्षकसँग परामर्स गरी बालकलाई पृष्ठपोषण दिनुपर्दछ ।
विद्यार्थी शिक्षकको अनुपात : सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने जम्मा विद्यार्थी संख्या ३५ लाख ५४ हजार ९०४ छन् भने उक्त तहमा शिक्षण गर्ने कार्यरत शिक्षकको दरबन्दी १ लाख ५५ हजार ७५३ कायम छन् । उक्त आधारभूत तहको कक्षा (६–८) मा अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थी संख्या १८ लाख १९ हजार ३६८ छ तर उक्त तहमा शिक्षण गर्ने शिक्षकहरूको संख्या केवल ५९ हजार ५५२ मात्र छ । उक्त तहमा शिक्षण गर्ने एक शिक्षक बराबर ३० जना विद्यार्थी पर्दछन् तर प्राथमिक तहमा शिक्षण गर्ने एकजना शिक्षकका लागि २२ जना विद्यार्थी पर्दछन् । शिक्षा स्रोत तथा मानव विकास केन्द्रको तथ्यांक अनुसार नेपालका २९३ सामुदायिक विद्यालय केवल पाँजजनाभन्दा कम विद्यार्थी भएका छन् ।
उक्त विद्यालयमा शिक्षण गर्ने शिक्षक र कर्मचारीको संख्या (४-६) सम्म कायम भएको सूचना प्राप्त छ । प्राथमिक तहको शिक्षक दरबन्दीलाई आधारभूत तहको कक्षा (६-८) मा दरबन्दी मिलन गर्ने योजना हुँदैछ भन्ने सुनिन्छ । केन्द्रीय तथ्यांक विभागका अनुसार बीसजनाभन्दा कम विद्यार्थी संख्या भएका विद्यालय तीन हजार ४२४ वटा छन् । केवल तीसजनाभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरू ५ हजार ५५२ वटा छन् । शिक्षा मन्त्रालयको नीति अनुसार ५० जनाभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयलाई एकअर्कोमा पायक पर्ने गरी मर्ज गर्ने भन्ने नीति नै तय भएको छ । सुदूरपश्चिमका कुनै एक पालिकाका ६ वटासम्म विद्यालय मर्ज भएको जानकारी छ । विद्यालय मर्ज गर्ने विषयमा स्थानीय पालिकाको पूर्णसहयोगको आधारमा गर्नुपर्ने हुन्छ ।
भौतिक सुविधा सम्बन्धमा : विद्यालय भौतिक रूपमा जति सुकै सुविधा सम्पन्न भए पनि शिक्षण गर्ने शिक्षक सक्षम र दक्ष नभएसम्म शिक्षामा गुणस्तर वृद्धि हुन सक्दैन । वर्तमान अवस्थामा राज्यका शहरदेखि ग्रामीण क्षेत्रसम्मका अधिकांश सामुदाय विद्यालयहरू भौतिक रूपमा सुविधा सम्पन्न छन् । विद्यालय पक्की भवन बनेको, आवश्यक मात्रमा फर्निचर, पुस्तकालयमा केही पुस्तक छन्, सामान्य विज्ञान प्रयोगशाला बनेको छ । ग्रामीण क्षेत्रका विद्यालयमा त आवश्यकता खेल मैदान निर्माण भएका छन् । विद्यालयबाहिर र विद्यालयभित्र खेलिने खेलका आवश्यक सामान उपलब्ध छन् ।
शिक्षक कक्षामा दक्ष र सक्षम भएरमात्र प्रवेश गर्नुपर्छ । एउटा असल र क्षमतावान शिक्षक नै विद्यार्थीका लागि कुशल स्रोतव्यक्ति बन्नसक्छ । असल र क्षमतावान शिक्षकले आफू कक्षमा प्रवेश गर्दा शिक्षण गर्ने विषयमा दिमाग केन्द्रित भएर गएको हुन्छ । शिक्षकले कक्षाका विद्यार्थीलाई पनि विषयप्रति दिमाग केन्द्रित गरेर अध्ययन गर्न प्रोत्साहित गरेका हुन्छन् ।
कतिपय नगरपालिकाले र विभिन्न सहयोगी दातासंस्थाहरूको सहयोगमा विद्यार्थीलाई दिवाखाजाको व्यवस्था भएको छ । विद्यालयका विद्यार्थीलाई आउनजान सुविधाका लागि बसको व्यवस्था नगरपालिकाले गरेको छ । उक्त भौतिक सुविधा जे जति भए तापनि विद्यालय शिक्षामा गुणस्तर वृद्धि भएर विद्यार्थीले राम्रो अंक प्राप्त गर्न सकेको अवस्था छैन ।
शिक्षकको क्षमता वृद्धि गर्ने सम्बन्ध : विद्यालय शिक्षामा गुणस्तर वृद्धि गर्न सर्वप्रथम कार्यरत शिक्षकलाई छोटो तालिमको व्यवस्था गनुपर्छ । शिक्षकले शिक्षण गर्ने प्रत्येक विषयवस्तुलाई कक्षामा विद्यार्थीले बुझ्ने गरी प्रस्तुत गर्ने सीपको विकास गर्नुपर्नेछ । शिक्षकले सिकाएको विषयवस्तु कक्षाका सबै विद्यार्थीले सहज रूपमा बुझेर मौखिक वा लिखित रूपमा व्यक्त गर्न सक्ने सक्षम तुल्याउनुपर्ने हुन्छ । विद्यार्थी सबैलाई सक्षम बनाउन सर्वप्रथम शिक्षकले प्रत्येक विद्यार्थीको सिक्ने क्षमताको पहिचान गर्नुपर्छ । शिक्षकले प्रत्येक विद्यार्थीका कमीकमजोरीलाई बुझेर व्यक्तिगत रूपमा शिक्षण गर्न सक्नुपर्छ ।
यसमा शिक्षकले जान्नुपर्ने अति आवश्यक स्लोगन यस प्रकार छ : ‘कक्षाका कुनै पनि विद्यार्थीलाई सिकाइमा पछि छाड्न हुँदैन’ । यसको अर्थ कमजोर विद्यार्थीलाई सक्षम विद्यार्थीसँगै सिक्नसक्ने बनाउनुपर्छ । कुनै चिकित्सक सामु बिरामी पुग्दा चिकित्सकले बिरामीको सबै परीक्षण गरी रोग पत्तालगाई उसको उपचार गर्ने गर्दछन् । त्यस्तै एउटा असल शिक्षकले पनि कुनै पनि विद्यार्थीको सबै पक्षको खोज र मूल्यांकन गरी उसमा भएका सक्षम र कमजोर पक्ष पत्तालगाई शिक्षण गर्दा सिकाइ उपलब्धिमूलक बन्नसक्छ ।
शिक्षक कक्षामा दक्ष र सक्षम भएरमात्र प्रवेश गर्नुपर्छ । एउटा असल र क्षमतावान शिक्षक नै विद्यार्थीका लागि कुशल स्रोतव्यक्ति बन्नसक्छ । असल र क्षमतावान शिक्षकले आफू कक्षमा प्रवेश गर्दा शिक्षण गर्ने विषयमा दिमाग केन्द्रित भएर गएको हुन्छ । शिक्षकले कक्षाका विद्यार्थीलाई पनि विषयप्रति दिमाग केन्द्रित गरेर अध्ययन गर्न प्रोत्साहित गरेका हुन्छन् । जसको परिणाम सिकाइ उत्तम र उपलब्धिमूलक भएको हुन्छ ।
मूल्यांकनमा शिक्षको भूमिका : विद्यार्थी शिक्षण र मूल्यांकन गर्ने परिपाटी सँगसँगै हुनुपर्छ भन्नेछ । जुन कार्य निरन्तर मूल्यांकनभित्र पर्दछ । निरन्तर मूल्यांकनबाट विद्यार्थीको दैनिक सकिएपछि लेखाजोखा हुने र ऐजन मौकामा नै पृष्ठपोषण दिने मौका मिल्छ । यसरी शिक्षण सिकाइका अवसरमा गरिने लेखाजोखालाई निर्माणात्मक मूल्यांकन कार्य भनिन्छ । कक्षाशिक्षणपश्चात् शिक्षकले दिने घरकाम र कार्ययोजनाले पनि विद्यार्थीलाई सिकाइप्रति सक्रिय बनाएको हुन्छ ।
विद्यार्थीलाई घरकाम दिनुको अलवा कार्ययोजना दिनु अति उत्तम हुन्छ । किनकि कार्ययोजनाका विषयमा लेख्नुपर्दा केही खोज र चिन्तन गरी सिर्जनात्मक, रचनात्मक काम गर्नुपर्ने हुन्छ । पुस्तकमा दिएका प्रश्न हुबहु हल गर्नुभन्नुको अलवा पुस्तक अध्ययन गरेर विषयवस्तुसँग मिल्दोजुल्दो प्रश्न निर्माण गरी लेख्न दिएको अवस्थामा विद्यार्थीमा मौलिकता र रचनात्मक क्षमताको विकास भएको हुन्छ । प्रत्येक शिक्षकमा विद्यार्थीलाई क्षमतावान र सिकाइप्रति सचेत हुन सहयोग गर्ने बानी हुनुपर्छ ।
सार संक्षेपमा : सामुदायिक विद्यालय भनेको समुदायको एउटा साझा शिक्षाआर्जन गर्ने सरस्वतीको मन्दिर हो । समुदायका लागि समुदायले निर्माण गरेको समुदायको साझा सम्पत्ति सामुदायिक विद्यालय हो । विद्यालय तहमा गुणस्तर शिक्षा वृद्धिका लागि सर्वप्रथम शिक्षकलाई सक्षम र क्षमतावान बनाउन तालिम कार्यक्रमको आयोजना गर्नुपर्ने हुन्छ । शिक्षाशास्त्र बिएड र एमएड गरेका शिक्षकमा पनि विद्यार्थी शिक्षण गर्ने र मूल्यांकन गर्ने कुशल सीप विकास भएको देखिएन । सबै शिक्षाशास्त्रीलाई एउटै बास्केटमा राख्न खोजेको होइन । उच्च शिक्षा अध्ययन गर्दा कति गहन भएर अध्ययन गरेको छ ? कस्तो सीप प्राप्त गरेको छ ? भन्ने विषयले शिक्षण सिकाइ र मूल्यांकनमा ठूलो प्रभाव परेको हुन्छ ।
स्थानीय सरकारले गर्ने मूल्यांकन भनेको उच्चशिक्षमा विद्यार्थीले प्राप्त गरेको लब्धांकको आधारमा मूल्यांकन गरेका हुन्छन् । उक्त प्रमाणपत्रधारी व्यक्तिले विषयवस्तु विद्यार्थी सामु कसरी प्रस्तुत गर्छ ? विद्यार्थीको मूल्यांकन कसरी गर्छ ? भन्ने विषयमा कुनै लेखाजोखासम्म गरेका हुँदैनन् । सामुदायिक विद्यालयको शिक्षण सिकाइमा परिवर्तन ल्याउन सर्वप्रथम शिक्षक र प्रधानाध्यापकलाई तालिमको व्यवस्था गर्ने र सबै सामुदायिक विद्यालयमा अविभावक शिक्षा कार्यक्र लागू गर्ने गरेमात्र विद्यार्थीको सिकाइ उपलब्धिमा केही परिवर्तका संकेतहरू प्राप्त गर्न सकिन्छ । शिक्षाका सरोकारवालाले खोजेको गुणस्तरीय शिक्षा तबमात्र प्राप्त गर्न सकिन्छ । जब स्थानीय सामुदाय नै सामुदायिक विद्यालयप्रति बफादार भएर शिक्षको गुणस्तर वृद्धिका लागि निरन्तर पहल गर्दछन् । तबमात्र अभिभावक, विद्यार्थी र समुदायले खोजेको उपयोगी व्यावहारिक शिक्षा प्राप्त हुनसक्छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि