काठमाडौं । मध्यपूर्वमा शान्ति स्थापनाका लागि गरिएको दुई महिना लामो युद्धविराम प्रयास पूर्णरूपमा असफल हुने दिशामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता गर्न ढिलाइ गरेको र अमेरिकालाई मूर्ख बनाइरहेको आरोप लगाउँदै भीषण सैन्य कारबाही सुरु गरेपछि दुई देशबीच फेरि निरन्तर सैन्य भिडन्त सुरु भएको हो । पछिल्लो समय अमेरिका र इरानले एक-अर्काका सैन्य ठेगाना, बन्दरगाह र व्यापारिक जलमार्गहरूमा भारी बमबारी तथा क्षेप्यास्त्र प्रहार गरिरहेका छन् । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले आवश्यक परे बमकै माध्यमबाट वार्ता गर्ने कडा चेतावनी दिनुभएको छ भने इरानले अमेरिकी प्रहारले अप्रिल ८ को युद्धविरामलाई व्यावहारिक रूपमा समाप्त पारिदिएको घोषणा गरेको छ ।
तनाव बढेपछि इरानले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एक ‘स्ट्रेट अफ हर्मुज’ पूर्णरूपमा बन्द गरिएको घोषणा गरेको छ । इरानले अप्रिलमा भएको युद्धविरामको अमेरिकाले बारम्बार उल्लंघन गरेको आरोप लगाउँदै अर्को सूचना नभएसम्मका लागि हर्मुज स्ट्रेट बन्द रहने घोषणा गरेको हो । इरानी सेनाले अबदेखि उक्त जलमार्गबाट हिँड्ने तेल ट्यांकर र व्यावसायिक जहाजहरूमाथि गोली प्रहार गरिने कडा चेतावनी दिएको छ । यसले विश्वव्यापी तेल आपूर्ति र अर्थतन्त्रमा ठूलो संकट ल्याउन सक्ने देखिएको छ । यसको ठूलो प्रभाव पश्चिम र दक्षिण एसियामा पर्ने निश्चित छ । यसअघि नै तेल आपूर्ति पर्याप्त नहुँदा संकटको सामना गरिरहेको छ । होर्मुज जलमार्गबाट मार्गबाट विश्वको लगभग २० प्रतिशत तेल आपूर्ति हुने गरेको छ ।
इरानले हर्मुज स्ट्रेटबाट अवैध रूपमा पार गर्न खोज्ने दुईवटा तेल ट्यांकरहरूलाई पनि निशाना बनाएको जानकारी दिएको छ । पछिल्लो द्वन्द्व हर्मुज स्ट्रेटमा इरानले अमेरिकी अपाचे हेलिकप्टर खसालेपछि सुरु भएको हो । त्यसयता दुवै पक्षले एक-अर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । विश्लेषकहरूका अनुसार अमेरिकाले सैन्य बल प्रयोग गरेर इरानलाई नयाँ सम्झौतामा हस्ताक्षर गर्न बाध्य पार्न खोजिरहेको छ, तर इरानी पक्षले भने बल प्रयोगको परिणाम उल्टो हुने र आफूहरू नझुक्ने स्पष्ट पारेका छन् ।
मध्यपूर्वमा बम वर्षा
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इरानका विभिन्न सहरहरूमा हवाई र क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी वायुसेना, नौसेना र मरिन कमाण्डोहरूले संयुक्त रूपमा इरानको राजधानी तेहरान, दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास तथा रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज स्ट्रेट नजिकैका क्षेत्रहरूलाई निशाना बनाएका हुन् । अमेरिकी प्रहारको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसहरूमा क्षेप्यास्त्र वर्षा गराएको छ । इरानले कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा आक्रमण गरेको हो । आक्रमणपछि कुवेतले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ फ्लिटको मुख्यालयनजिकै खतराको साइरन बजाइएको छ । इरानले आफ्नो भूमि प्रयोग गर्न दिने छिमेकी देशहरूलाई समेत आक्रमणकारीको सहयोगी मानिने चेतावनी दिएको छ ।
असफल हुने दिशामा ट्रम्प-नेतान्याहूको रणनीति
विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सैन्य बल प्रयोग गरेर इरानको सत्ता उल्ट्याउने जुन रणनीति बनाएका थिए, त्यो असफल हुने दिशामा पुगेको छ । इरानको कडा प्रतिरोधका कारण यो क्षेत्र अन्तहीन संकटतर्फ धकेलिएको छ । इरानले लेबनानमा इजरायलले गरिरहेको हिजबुल्लाहविरोधी आक्रमण नरोकिएसम्म खाडी क्षेत्रमा शान्ति हुन नदिने र हर्मुज स्ट्रेट बन्द राख्ने अडान लिएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले विगत लामो समयदेखि इरानी शासनलाई ध्वस्त पार्ने सपना देख्नुभएको थियो, तर ट्रम्पले इजरायललाई बेरुतमा आक्रमण नगर्न दबाब दिएपछि नेतान्याहूको रणनीति कमजोर बनेको र उहाँले ट्रम्पको अगाडि सम्झौता गर्नुपरेको इजरायली सञ्चार माध्यमहरूले टिप्पणी गरेका छन् । युद्धले मध्यपूर्वको अर्थतन्त्र र जनजीवनमा गम्भीर असर पारेको छ । अमेरिकी हवाई आक्रमणका कारण दक्षिणी इरानमा रहेका दुईवटा ठूला जलाशय नष्ट हुँदा त्यस क्षेत्रका २० हजारभन्दा बढी सर्वसाधारण नागरिक खानेपानीको गम्भीर संकटमा परेका छन् ।
कूटनीतिक प्रयासहरू सफल हुनेमा आशंका
विश्व समुदायले बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल युद्ध रोक्न अपिल गरेका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले अमेरिका र इरान दुवैलाई अप्रिल ८ को युद्धविराम सम्झौता पालना गर्न र वार्ताको टेबलमा आउन आग्रह गर्नुभएको छ । यस क्षेत्रको प्रमुख मध्यस्थकर्ता देश कतारको एउटा उच्चस्तरीय कूटनीतिक टोली तत्काल युद्ध रोक्ने र इरानको रोक्का गरिएको रकम फुकुवा गर्ने एजेण्डासहित तेहरान पुगेर छलफल सुरु गरिसकेको छ । तथापि, दुवै पक्षले एक–अर्कामाथि गरिरहेको भारी आक्रमणका कारण कूटनीतिक प्रयासहरू सफल हुनेमा आशंका कायमै छ ।
तीन भारतीय नाविकको मृत्यु
सैन्य टकरावको सबैभन्दा ठूलो मूल्य अन्तर्राष्ट्रिय व्यापारिक जहाज र त्यसमा कार्यरत निर्दोष नागरिकहरूले चुकाउनु परिरहेको छ । अमेरिकाले हर्मुज स्ट्रेटमा लगाएको नाकाबन्दी उल्लंघन गरेको आरोपमा भारतीय क्रू सदस्य रहेका तेल ट्यांकरहरूमाथि लगातार हमला गरेको हो । पलाउको झण्डा बोकेको तेल ट्यांकर एमटी सेत्तेबेल्लोले इरानी तेल ओसारपसार गर्न खोजेको र अमेरिकी चेतावनी उल्लंघन गरेको भन्दै अमेरिकी सेनाले यसको इञ्जिन रूममा सिधै बम प्रहार गरेको थियो । जहाजमा रहेका २४ भारतीय चालक दलमध्ये तीनजना भारतीय नाविकको मृत्यु भएको पुष्टि भएको छ । यसै हप्ताको सोमबार पनि ओमानको खाडीमा अर्को भारतीय ‘क्रू’ भएको जहाज एमटी मैरीवेक्समा अमेरिकाले आक्रमण गरेको थियो । बिहीबार मात्रै ओमानको तटनजिकै भारतीय ‘क्रू’ सदस्य रहेको एमटी जलवीर नामक जहाजमा अज्ञात समूहले हमला गर्दा भीषण आगलागी भएको छ । भारतका जहाजरानी मन्त्री सर्वानन्द सोनोवालले आफ्ना नाविकहरूको मृत्युलाई अपूरणीय क्षति र दुःखद भन्दै निन्दा गरेका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी