मेक्सिको सिटी । फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले विजयी सुरुआत गरेको छ । ऐतिहासिक एस्टेका रङ्गशालामा बिहीबार राति सम्पन्न खेलमा मेक्सिकोले ९ खेलाडीमा सीमित भएको दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
समूह ‘ए’ अन्तर्गत भएको उक्त खेलमा मेक्सिकोको जितमा जुलियन क्विनोनेस र अनुभवी स्ट्राइकर राउल जिमेनेजले समान एक–एक गोल गर्नुभएको थियो । करिब ८० हजार ८ सय २४ दर्शकको उपस्थितिमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले घरेलु टोलीको निरन्तर दबाब सामना गर्न नसक्दा दुई खेलाडी गुमाउन पुगेको थियो ।
खेल सुरु हुनुअघि रङ्गशालामा गरिएको भव्य उद्घाटन समारोह र आतिशबाजीको धुवाँ हट्न नपाउँदै मेक्सिकोले नवौँ मिनेटमै अग्रता बनाएको थियो । दक्षिण अफ्रिकाका डिफेन्डर स्पेफेलो सिथोलेले आफ्नै क्षेत्रमा बल नियन्त्रण गर्न नसक्दा अवसरको सदुपयोग गर्दै क्विनोनेसले उत्कृष्ट गोल गर्नुभएको थियो । उहाँले गोलकिपर तथा कप्तान रोनवेन विलियम्सको खुट्टामुनिबाट बललाई जाली चुमाउँदै घरेलु समर्थकलाई उत्साहित बनाउनुभएको थियो ।
पहिलो गोलमा गल्ती गर्नुभएका दक्षिण अफ्रिकाका सिथोलेका लागि दोस्रो हाफ अझै निराशाजनक बन्यो । खेलको ४९ औँ मिनेटमा मेक्सिकोका ब्रायन गुटिएरेज गोलतर्फ अग्रसर भइरहेका बेला उहाँलाई लडाएपछि रेफ्रीले सिथोलेलाई सिधै रातो कार्ड देखाउनुभएको थियो ।
१० खेलाडीमा सीमित प्रतिद्वन्द्वीविरुद्ध मेक्सिकोले खेलको ६७ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । रोबर्टो अल्भाराडोले दिएको उत्कृष्ट क्रसलाई उल्भरह्याम्पटन वन्डरर्सका फरवार्ड जिमेनेजले पोस्ट नजिकबाट गोलमा परिणत गर्दै टोलीलाई २–० को सहज अवस्थामा पुर्याउनुभएको थियो ।
दक्षिण अफ्रिकाको कठिनाइ यतिमै सीमित रहेन । खेलको ८४ औँ मिनेटमा भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि थेम्बा ज्वानले अल्भाराडोको अनुहारमा हातले प्रहार गरेको पुष्टि भएपछि उहाँलाई पनि रातो कार्ड दिइएको थियो । त्यससँगै दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित हुन पुगेको थियो ।
यद्यपि खेलको अन्तिम समयमा मेक्सिकोले पनि एक खेलाडी गुमाएको थियो । डिफेन्डर सेसर मोन्टेसले खुलिसो मुदाउमाथि खराब ट्याकल गरेपछि उहाँले रातो कार्ड पाउनुभएको थियो । खेलभरि दुवै टोलीका खेलाडीलाई गरी कुल तीनवटा रातो कार्ड देखाइएको थियो ।
यस जितसँगै सह–आयोजक मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने दक्षिण अफ्रिकाले प्रतियोगिताको सुरुआतमै निराशाजनक हार बेहोरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी