काठमाडौं । फिफा विश्वकप–२०२६ को उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखाइएपछि यस विश्वकपमा रेफ्रीहरूको शैलीबारे बहस सुरु भएको छ । मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको खेलमा तीन खेलाडी मैदानबाट बाहिरिएपछि समर्थक र विश्लेषकहरूबीच रेफ्रीहरू पहिलेभन्दा कडा रूपमा प्रस्तुत हुन लागेको चर्चा चुलिएको हो ।
उद्घाटन खेलमा दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वानले रातो कार्ड पाए भने खेलको इन्जुरी समयमा मेक्सिकोका सेसर मोन्टेस पनि मैदानबाट बाहिरिनुभएको थियो । एकै खेलमा तीन खेलाडीले रातो कार्ड पाएको दृश्य सन् २००६ को विश्वकपपछि पहिलो पटक देखिएको हो ।
यो तथ्यांकलाई हेर्दा विश्वकपमा रातो कार्डको सङ्ख्या उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरिए पनि अहिले नै त्यस्तो निष्कर्ष निकाल्न हतार हुने विश्लेषण गरिएको छ । रसिया विश्वकप–२०१८ र कतार विश्वकप–२०२२ मा पूरा प्रतियोगिताभर जम्मा चार–चार वटा मात्र रातो कार्ड देखाइएको थियो । त्यसको तुलनामा २०२६ विश्वकपको पहिलो खेलमै तीनवटा रातो कार्ड देखिनु असामान्य घटना मानिएको छ ।
यद्यपि, खेलका अधिकांश निर्णय प्राविधिक रूपमा सही रहेको बताइएको छ । पहिलो घटनामा मेक्सिकोका ब्रायन गुटिएरेजलाई गोल गर्ने स्पष्ट अवसरबाट रोकिएको भन्दै दक्षिण अफ्रिकाका याया सिथोलेलाई रातो कार्ड देखाइएको थियो । फुटबलको विद्यमान नियमअनुसार गोल गर्ने निश्चित अवसर खोस्ने कार्यलाई गम्भीर गल्ती मानिन्छ ।
दोस्रो रातो कार्ड भने सबैभन्दा विवादास्पद बनेको छ । भीएआरको सहायतामा दक्षिण अफ्रिकाका थेम्बा ज्वानलाई विपक्षी खेलाडीमाथि हिंसात्मक व्यवहार गरेको निष्कर्ष निकाल्दै मैदानबाट बाहिर पठाइएको थियो । रिप्लेमा उहाँको हात मेक्सिकन खेलाडीको टाउकोमा लागेको देखिए पनि त्यो घटना रातो कार्डकै स्तरको थियो वा थिएन भन्ने विषयमा मत विभाजित देखिएको छ ।
यस्तै, खेलको अन्तिम समयमा मेक्सिकोका सेसर मोन्टेसले दक्षिण अफ्रिकाका खुलिसो मुदाउमाथि खराब ट्याकल गर्नुभएको भन्दै रातो कार्ड पाउनुभएको थियो । मुदाउ स्पष्ट गोल अवसरतर्फ अघि बढिरहेको अवस्थामा गरिएको ट्याकललाई रेफ्रीले गम्भीर फाउल ठहर गर्नुभएको थियो भने भीएआरले पनि उक्त निर्णयलाई समर्थन गरेको थियो ।
यसबीच फिफा रेफ्री कमिटीका प्रमुख तथा पूर्व चर्चित रेफ्री पियरलुइजी कोलिनाको नीतिलाई पनि यो बहससँग जोडेर हेरिएको छ । सन् २०१७ मा कमिटीको नेतृत्व सम्हाल्नुभएका कोलिनाले खेलमा न्यायपूर्ण निर्णय र खेलाडीको अनुशासनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आउनुभएको छ । उहाँकै कार्यकालमा गोल गर्ने अवसर रोक्ने अवस्थासम्बन्धी केही नियमहरू खुकुलो बनाइएका थिए, जसका कारण पछिल्ला दुई विश्वकपमा रातो कार्डको सङ्ख्या न्यून रहेको थियो ।
विश्वकपअघि रेफ्रीहरूलाई दिइएको निर्देशनमा पनि समय बर्बाद गर्ने प्रवृत्ति र खेलाडीको अभद्र व्यवहार नियन्त्रणमा जोड दिइएको थियो । तर, रातो कार्डको सङ्ख्या बढाउने कुनै विशेष संकेत भने गरिएको थिएन ।
यसैले उद्घाटन खेलमा देखिएका तीन रातो कार्डलाई लिएर व्यापक चर्चा भए पनि यसलाई सम्पूर्ण विश्वकपको प्रवृत्तिका रूपमा लिन अझै हतार हुने देखिन्छ । आगामी खेलहरूमा रेफ्रीहरूले अपनाउने शैलीले मात्र २०२६ विश्वकपमा साँच्चै रातो कार्डको सङ्ख्या बढ्ने वा नबढ्ने भन्ने स्पष्ट पार्नेछ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी