काठमाडौं । विपक्षी श्रम संस्कृति पार्टीका सांसद आर्यन राई ले देशको अर्थतन्त्रलाई ऋणमा निर्भर बनाउने प्रवृत्तिको अन्त्य गर्दै आफ्नै राजश्वबाट मुलुक सञ्चालन गर्ने स्पष्ट योजना सार्वजनिक गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आग्रह गर्नुभएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद राईले देश ऋण लिएर ऋण तिर्ने अवस्थासम्म पुगेको उल्लेख गर्दै सरकारलाई दीर्घकालीन आर्थिक आत्मनिर्भरताको मार्ग तय गर्न आग्रह गर्नुभयो।
उहाँले संवैधानिक आयोगहरूको बजेट कटौती गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। विशेषगरी आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग र दलित आयोगजस्ता संस्थाहरू ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायको उत्थानका लागि स्थापना भएकाले तिनको बजेट बढाउनुपर्नेमा उल्टै घटाइएको गुनासो गर्नुभयो।
सांसद राईले आयोगका पदाधिकारीहरूले बजेटबारे छलफलका लागि अर्थमन्त्रीसँग समय माग्दा पनि अवसर नपाएको भन्ने गुनासो आफूले सुनेको बताउनुभयो। उहाँले सामाजिक न्याय र समावेशी विकासका लागि राज्यले यस्ता आयोगहरूमा पर्याप्त लगानी गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले अर्थमन्त्रीलाई प्रश्न गर्दै भन्नुभयो, “देश अहिले ऋण लिएर ऋण तिर्ने अवस्थासम्म पुगेको छ। अब देशलाई आफ्नै राजश्वबाट चलाउने आधार कसरी निर्माण गर्ने ? यसका लागि सरकार, सांसद र आम नागरिकले के भूमिका खेल्नुपर्ने हो ? यसको स्पष्ट योजना अर्थमन्त्रीले सदनलाई बताउनुपर्छ।”
राईले विगतमा वैदेशिक ऋणको आलोचना गर्नेहरू अहिले सत्तामा रहेको उल्लेख गर्दै अब आलोचनाभन्दा समाधान र नयाँ कार्यदिशा प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभयो। साथै, मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि