काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले पुराना कागजात तथा प्रमाणहरू खोजी गरेर बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राखेको बताउनुभएको छ।
संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले योजनाबद्ध रूपमा प्रमाण संकलन र प्रक्रियागत सुधारमार्फत बेरुजु घटाउने प्रयास भइरहेको जानकारी दिनुभयो। हालसम्म अपेक्षित प्रगति हुन नसके पनि आगामी दिनमा सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार नेपाली सेनाले चालु आर्थिक वर्षमा ६० प्रतिशत बेरुजु फस्र्यौट गर्ने लक्ष्य लिएको थियो। तर हालसम्म करिब ११ प्रतिशत मात्र फस्र्यौट भएको छ भने असार मसान्तसम्म यसलाई अधिकतम १५ प्रतिशतसम्म पुर्याउने लक्ष्य रहेको छ।
प्रधानसेनापति सिग्देलले लक्ष्यअनुसार प्रगति हुन नसक्नुको प्रमुख कारण तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाअन्तर्गत प्याकेज–६ को १ अर्ब ३९ करोड रुपैयाँ बराबरको ‘लिक्विडेटेड ड्यामेज’ सम्बन्धी बेरुजु तत्काल फस्र्यौट गर्न नसकिनु रहेको स्पष्ट पार्नुभयो।
उहाँले सेनाले १५ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बेरुजु सम्परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने तयारी पूरा गरेको जानकारी दिनुभयो। यसमा एम्युनिसन खरिद, मेसिनरी स्पेयर पार्ट्स, बैंक ब्याज असुली तथा पारिश्रमिक कर कट्टीसम्बन्धी रकम समावेश रहेको बताउनुभयो।
त्यसैगरी रक्षा मन्त्रालयमार्फत नियमितीकरण गर्नुपर्ने २ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बेरुजु असारभित्र पठाइसक्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
सैनिक कल्याणकारी कोषतर्फ कुल ३३ करोड ४३ लाख ७७ हजार रुपैयाँ बेरुजु रहेकोमा हालसम्म करिब २ प्रतिशत अर्थात् ६५ लाख ४८ हजार रुपैयाँ मात्र फस्र्यौट भएको छ। नेपाली सैनिक विमान चार्टर उडान विकास समितिसम्बन्धी २० करोड २१ लाख ७५ हजार रुपैयाँ बेरुजुमध्ये असार मसान्तसम्म ९ करोड ३७ लाख रुपैयाँ फस्र्यौट गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
त्यस्तै सैनिक कल्याणकारी कोषअन्तर्गत रहेको १२ करोड ३६ लाख ३४ हजार रुपैयाँ बेरुजुमध्ये ६ करोड ७९ लाख ८० हजार रुपैयाँ यही असारभित्र फस्र्यौट गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो।
प्रधानसेनापति सिग्देलले कल्याणकारी कोषका धेरै बेरुजु २०३२ सालमा कोष स्थापना भएदेखि नै बाँकी रहेका पुराना विषयसँग सम्बन्धित रहेको उल्लेख गर्दै आवश्यक प्रमाणहरू खोज्ने काम जारी रहेको बताउनुभयो। उहाँले कठिनाइका बाबजुद यस वर्ष कोषतर्फको ५० प्रतिशतभन्दा बढी बेरुजु फस्र्यौट गर्ने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सेनाले बेरुजु व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको र आगामी वर्षहरूमा फस्र्यौट दर उल्लेखनीय रूपमा बढाउने तयारी गरिरहेको समेत बताउनुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…