काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले नेपाल ऊर्जा क्षेत्रको रूपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताउनुभएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले ऊर्जा उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिताका लागि सरकारद्वारा आवश्यक नीतिगत मार्ग प्रशस्त गरिएको बताउनुभयो।
मन्त्री श्रेष्ठले सरकारले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै सार्वजनिक सेवा प्रवाहलाई गतिशील बनाउन १०० बुँदे कार्यसूची अघि सारेको उल्लेख गर्नुभयो। उहाँका अनुसार ऊर्जा मन्त्रालयले थप ३२ बुँदे कार्ययोजना तयार गरी कार्यान्वयन अघि बढाएको छ।
उहाँले जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकहरू संसदमा पेस गर्ने तयारी भइरहेको जानकारी दिँदै आगामी दिनमा नयाँ कानुनले ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
ऊर्जा क्षेत्रका चुनौतीबारे बोल्दै मन्त्री श्रेष्ठले जनअपेक्षा, सीमित स्रोत र पुराना दायित्वबीच सन्तुलन कायम गर्नु सरकारका लागि चुनौतीपूर्ण रहेको स्वीकार गर्नुभयो। उहाँले सबै अपेक्षा एकैपटक पूरा गर्न नसकिने भए पनि आर्थिक रूपान्तरणको प्रक्रिया सुरु भइसकेको बताउनुभयो।
प्रसारण लाइन र सबस्टेशनलाई सरकारले पहिलोपटक उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले यसका लागि करिब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो। आगामी वर्षभित्र एक दर्जनभन्दा बढी रणनीतिक प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो।
त्यस्तै, “टेक अर पे” मोडेलमा नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) अघि बढाइने र १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको PPA खुला गरिएको जानकारी दिनुभयो। यसले साना तथा मध्यम लगानीकर्तालाई प्रोत्साहन गर्ने उहाँको भनाइ छ।
वन तथा वातावरणसम्बन्धी कानुन संशोधनमार्फत आयोजनाको प्रक्रिया सरल बनाइएको उल्लेख गर्दै उहाँले अब वातावरणीय प्रभाव मूल्यांकन घटेमा पूरक आवश्यक नपर्ने व्यवस्था गरिएको बताउनुभयो।
सरकार लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आयोजना कार्यान्वयन नगरी ढिलाइ गर्ने प्रवृत्तिप्रति सरकार कडाइका साथ प्रस्तुत हुने चेतावनी दिनुभयो।
कार्यक्रममा प्रतिनिधिसभाको पूर्वाधार समितिका सभापति आशिष गजुरेल ले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सुधारका लागि काम भइरहेको बताउनुभयो।
त्यस्तै, इप्पानका अध्यक्ष गणेश कार्की ले निजी क्षेत्रको योगदानले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उत्पादन, निर्यात र लगानी विस्तारमा उल्लेखनीय प्रगति भएको जानकारी दिनुभयो।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी